हाम्रो आवाज पनि सुन्नुहोस्

सुनाइ अपांगताको कानुनमा परिमार्जनको खाँचो

सुनाइ अपांगताको क्षेत्रमा हाल प्रकाशन भएका लेखहरू पढ्न पाई कान कम सुन्नेहरूका आ-आफ्ना समस्याहरूको बारेमा पाठक वर्गलाई जानकारी पाउने अवसर दिनु भएकोमा देशसञ्चारलाई हार्दिक धन्यवाद दिन चाहन्छु। सुनाई अपांगता सम्बन्धित केही कुराहरूलाई अझ प्रष्ट गर्नको लागि केही लेख्ने कोशिस गर्दछु।

मानिसमा रहेको सुनाइ अपांगतालाई विभिन्न प्रकारमा बाँडिएको हुन्छ जसको जानकारी समाजमा प्रष्ट रुपमा भएको छैन। आफ्नै सन्तान तथा परिवारजनहरुमा सुनाई अपांगता भएता पनि कुन प्रकारको सुनाई अपांगता हो र उनिहरुलाई कस्तो उपचार गर्नुपर्छ, उनीहरूसँग के कसरी सञ्चारको सहजीकरण गर्नु पर्दछ र उनिहरुको दैनिक मानवीय आवश्यकतालाई कसरी व्यवस्थापन गरिनु पर्दछ भन्ने कुराको जानकारी नभएको कारणले गर्दा यो समूह एक्लिएको तथा निकै पिछडिएको पाइएको छ।

सुनाइ अपाङ्‍गता (Hearing Disability)

कुनै पनि व्यक्तिको सुनाइ क्षमतामा भएको कमीको आधारमा सो व्यक्तिको अपाङ्‍गतालाई सुस्त श्रवण, बहिरा र पछि श्रवणविहीन गरी तीन प्रकारमा विभाजित गर्न सकिन्छ। यी तीन समूहका सुनाइ क्षमतामा कमी भएकाहरूको आ-आफ्ना समस्या तथा आवश्यकताहरू छन्।

सुस्त श्रवण (Hard of Hearing)

सुस्त श्रवण भन्नाले त्यस व्यक्तिलाई जनाउँदछ जसले आवाजहरु स्पष्ट र सफासँग सुन्न सक्दैन। उनीहरुको सुनाइको क्षमतामा हल्का (mild) कमीदेखि गम्भीर (Severe) कमी भएको हुन्छ।

विश्व स्वास्थ्य संगठनले व्यक्तिको ३० डेसिबल देखि ८० डेसिबलसम्मको सुनाइ क्षमता भएको व्यक्तिलाई सुस्त श्रवण अपांङ्गता भएका व्यक्ति भनेर सम्बोधन गरीएको छ। नेपालको अपाङ्गता कानुनमा सुस्त श्रवणको परिभाषा हेर्दा सुस्त श्रवण त्यस व्यक्तिलाई भनिन्छ जसले ६५ देखि ८०डेसिबलभन्दा माथिको ध्वनि सुन्न सक्छ वा सुन्नलाई श्रवणयन्त्र प्रयोग गर्दछन्। नेपालको परिभाषामा विश्व स्वास्थ्य संगठनले परिभषित गरेको ३० डेसिबल देखि ६४ डेसिबलसम्मको सुनाई क्षमता भएका सुस्त श्रवणहरु अपाङ्गता समूहभित्र पर्नबाट बञ्चित भएका छन्।

सुस्त श्रवणहरू सांकेतिक भाषाभन्दा पनि बोलीचालीको भाषाबाट सञ्चार गरिरहेका हुन्छन्। उनीहरूको आवश्यकता श्रवण यन्त्रको प्रयोग हो। तर नेपालमा श्रवण यन्त्रहरु सर्वसुलभरुपमा नपाइने र साह्रै नै महंगो भएकोले श्रवण यन्त्र प्रयोग गर्ने सुस्तश्रवणहरूको संख्या सीमित छ। धेरै जसो शहरी क्षेत्रमा श्रवण यन्त्र प्रयोग गर्ने सुस्त श्रवणहरु छन्।

श्रवण यन्त्रको अभावले धेरै जसो गम्भिर प्रकारका सुस्त श्रवणहरु (६४ डेसिबल देखि माथिका सुनाई क्षमता भएका सुस्त श्रवणहरु) वाध्य भई सञ्चारको निम्ति सांकेतिक भाषा प्रयोग गर्न थालेका पाइन्छ। जसको कारणले गर्दा उनीहरुको बाँकी रहेको सुनाइ क्षमता पनि प्रयोग नभई बन्द हुन गएको छ। यसो भन्नाको अर्थ उनीहरूले आवाज सुनेर बुझ्न सक्ने फाइदाबाट बञ्चित हुन जान्छन् र पूर्ण रुपमा सांकेतिक भाषामा निर्भर हुन जान्छन् र बिस्तारै उनीहरूको बोलीमा पनि असर पर्न गई बोली पनि बन्द हुन गएको प्रमाणहरु यथेष्ट रुपमा पाइन्छ।

त्यसकारण यदि सुस्त श्रवणहरुको सुनाको क्षमता अनुसारको श्रवण यन्त्र सुलभ मूल्यमा उपलब्ध भएमा र उनीहरुको आवश्यकता अनुसार सञ्चार गरेमा अवश्य पनि सुस्त श्रवणहरु आफ्नो बोलिचालीको भाषालाई नै प्रयोग गरी सुन्ने व्यक्तिहरु सरह जीवन व्यतित गर्न सक्छन्।

पछि श्रवणविहीन भएकाहरू (Deafened)

पछि श्रवणविहीन त्यस्ता व्यक्तिलाई भनिन्छ जुन व्यक्तिको बोली विकास भइसकेपछि कुनै पनि समयमा श्रवणशक्तिको गम्भीर र पूर्णरूपमा ह्रास (Post-Lingual Deafness)भएको हुन्छ। यस प्रकार सुनाई क्षमता ह्रास भएका व्यक्तिहरुलाई नेपालको अपाङ्गता कानुनले भने बहिरा वर्गभित्र नै गाभेको छ। जसले गर्दा कानुनीरुपमा उनिहरुलाई बहिरा भनेर सम्बोधन गरिएको छ र उनीहरूको आवश्यकता पनि सांकेतिक भाषा नै हो भनिएको छ।

तर वास्तवमा भन्ने हो भने यस प्रकारका सुनाइ ह्रास भएका व्यक्तिहरू जन्मजात श्रवणविहीन नभई पछि आएर बिस्तारै वा अचानक श्रवणविहीन भएका हुन्छन्। यस प्रकारका सुनाई ह्रास भएका व्यक्तिहरु आफ्नो बोलिचालि तथा सञ्चारहरुको बिकास सुन्ने व्यक्ति सरह नै गर्ने हुनाले सकेसम्म बोलेर नै सञ्चार गर्न सहज मान्दछन्। तर अरुले बोलेको कुरा प्रष्ट रुपमा नसुन्ने तथा सुन्दै नसुनिने हुँदा उनीहरुलाई सञ्चारमा निकै कठिनाई भएको हुन्छ। यसप्रकारका श्रवणविहीन भएका व्यक्तिहरू दृश्यको सहायता (visual Aid) बिनाअरुले बोलेको कुरा बुझ्न सक्दैनन्।जस्तो कि ओठको चाल (Lip Reading), अन्य लिखित तरिका, जस्तै नोटटेकिङ, क्याप्सनिङ आदि साथै सांकेतिकभाषा।

श्रवणशक्ति कम भएका ३० देखि ६४ डेसिबलका समूह अपाङ्‍गताका सेवासुविधा पाउनबाट वञ्चित भएका छन्। जस्तो कि, अपाङ्‍गता परिचयपत्र पाउन र अन्य व्यक्तिहरू सरह समान शिक्षा र समान रोजगारीको अबसर पाउनबाट वञ्‍चित हुन पुगेका छन्। साथै, नेपालको यस परिभाषामा बोली तथा भाषाको बिकास भइसकेपछि श्रवण क्षमतामा गहिरो कमी वा श्रवणबिहीन भएका व्यक्तिहरु, जसले सञ्‍चारका लागि बोलीको भाषा नै प्रयोग गर्दछन्, लाई समेट्न सकेको छैन।

यस प्रकारका सुनाई ह्रास भएका व्यक्तिहरुले समयमा नै कक्लियर ईम्प्लान्ट (Cochlear Implant) गर्ने वा राम्रो प्राविधिक युक्त श्रवण यन्त्र लगाउन जरुरी छ। तर यो प्रविधि निकै नै महंगो रहेको हुनाले अधिकांश यस प्रकारका सुनाई ह्रास भएका व्यक्तिहरु पनि सांकेतिक भाषा प्रयोग गर्न वाध्य भएको र पछि गएर उनीहरु पूर्णरुपमा बहिरा हुन पुगेको प्रमाणहरु नेपालको बहिरा समाजमा यथेष्ट रुपमा पाईन्छ। जसले गर्दा सुनेर बुझ्न सक्ने क्षमता तथा बोलि सम्बन्धि अपाङ्गताको पनि जन्म भएको देखिएको छ।

त्यसकारण, यसप्रकारको सुनाई ह्रास भएका व्यक्तिहरुलाई सांकेतिक भाषालाई आफ्नो मातृभाषा मान्ने बहिराको समूह भित्र नराखि छुट्टै समूहको रुपमा राखि पहिचान दिलाउन पर्ने आजको आवश्यकता रहेको छ। जसले गर्दा यो Deafened समूहहरुले आफ्नो पहिचान र आवश्यकता अनुसार सञ्चारको प्रयोग गरी फाईदा लिन सक्दछन्।

बहिरा (Deaf)

बहिरा भन्नाले त्यस व्यक्तिलाई जनाउँदछ जसले सुन्न सक्ने क्षमता जन्मजातबाट नै गुमाएका हुन्छन् वा ८० डेसिबलभन्दा माथिको ध्वनि मात्र सुन्नसक्ने क्षमता रहेको हुन्छ। उनीहरुले आवाज नसुन्ने हुनाले प्रष्ट र सफासँग बोल्न सक्दैनन्। प्रायः संचारका निम्ति सांकेतिक भाषा नै प्रयोग गर्दछन्। सांकेतिक भाषा बहिरा व्यक्तिहरुको पहिचान तथा अधिकारको रुपमा लिईन्छ। बहिरा व्यक्तिहरुको आफ्नै संस्कृति तथा पहिचान रहेको हुन्छ।

तर हाल प्रविधिको विकासले गर्दा बहिराहरूले कक्लियर इम्‌प्लान्ट (Cochlear Implant) गरेर स्पिचथेरापी (Speech Therapy) गरेमा सुन्न र बोल्न सकिने भएको पनि पाईएको छ। जुन बहिरा जन्मजात बहिरा भई सांकेतिक भाषा नै प्रयोग गर्ने गर्दछन्,उनिहरुको निम्ति भने कक्लियर इम्‌प्लान्ट (Cochlear Implant) रस्पिचथेरापी (Speech Therapy)को सफलतामा भने निकै समय लाग्ने गरेको छ।

त्यसैले, विश्वव्यापी रुपमा र नेपालमा पनि यदि कुनै बालबालिका जन्मजात नै बहिरा (Pre-lingual Deaf) छन् भने सकेसम्म सानै उमेरमा (जन्मेको २ देखि ५ बर्ष भित्रमा) कक्लियर ईम्प्लान्ट गरिन्छ। यसले गर्दा उक्त बालबालिकाको बोलीको बिकास हुनु भन्दा अगाडि नै कक्लियर ईम्प्लान्ट मद्दतले सुनेर बुझ्न सक्ने क्षमताबाट लाभ उठाउन सक्छन्। तर यो प्रविधि निकै खर्चिलो भएको हुनाले हालसम्म सीमित मात्रामा मात्रै रहेको पाईएको छ। बिगत २ दशक देखि नेपालमा पनि कक्लियर ईम्प्लान्ट गरिँदै आइरहेको छ।

यसरी, नेपालको अपाङ्गता कानुनले परिभाषित गरेको सुस्त श्रवणहरू अर्थात ६५ देखि ८० डेसिबलभन्दा बढीको ध्वनि सुन्ने व्यक्तिले सानै उमेरदेखि श्रवणयन्त्र प्रयोग गरेनन् भने प्रष्टसँग बोल्न सक्दैनन्। व्यवहारमा, जनचेतनाको कमी र न्युन आर्थिक अवस्थाको कारणले नेपालका सुस्त श्रवणहरुले श्रवणयन्त्र प्रयोग गर्न सकिरहेका छैनन्।

साथै, नेपालको यस परिभाषाले अन्य सुनाइ क्षमता ह्रास भएका व्यक्तिहरू, जुन ३० देखि ६४डेसिबल समूहमा रहेका छन्, लाई सुस्त श्रवणको रूपमा लिइएको छैन।

यसले गर्दा श्रवणशक्ति कम भएका ३० देखि ६४ डेसिबलका समूह अपाङ्‍गताका सेवासुविधा पाउनबाट वञ्चित भएका छन्। जस्तो कि, अपाङ्‍गता परिचयपत्र पाउन र अन्य व्यक्तिहरू सरह समान शिक्षा र समान रोजगारीको अबसर पाउनबाट वञ्‍चित हुन पुगेका छन्। साथै, नेपालको यस परिभाषामा बोली तथा भाषाको बिकास भइसकेपछि श्रवण क्षमतामा गहिरो कमी वा श्रवणबिहीन भएका व्यक्तिहरु, जसले सञ्‍चारका लागि बोलीको भाषा नै प्रयोग गर्दछन्, लाई समेट्न सकेको छैन। त्यसैले समय सापेक्षित यस परिभाषा परिमार्जनको आजको आवश्यकता देखिएको छ।

भदौ ६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्