‘हामी स्वास्थ्यकर्मीहरुलाई दुर्व्यवहार नगरिदिनुस्’

डा. लोचन कार्की।
काठमाडौँ– विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि तीव्र रुपमा बढ्दै गएको छ। यही महामारीका लागि ‘फ्रन्ट लाइन’मा काम गरिरहेका स्वास्थ्यकर्मीहरुलाई दुर्व्यवहार गरेका घटनाहरु आइरहेका छन्।
यो संकटको घडीमा संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न सहयोग गर्नुको साटो उनीहरुका विरुद्ध विभिन्न ठाउँ तथा टोलहरुमा स्वास्थ्यकर्मी बसेको घर घेराउ गर्ने, नारा लगाउनेजस्ता दुर्व्यवहार भइरहेका छन्।
केही दिनअगाडि वीरगञ्जका स्वास्थ्यकर्मी, चितवनका चिकित्सक र मीनभवनस्थित सिभिल अस्पतालमा कार्यरत चिकित्सक लगायतका स्वास्थ्यकर्मी बस्ने बानेश्वर, मिलनचोकका होस्टल सञ्चालकमाथि दुर्व्यवहार गर्दै स्थानीयले त्यहाँ चिकित्सक र नर्स नराख्न चेतावनीसमेत दिएका थिए। संकटका बेला स्वास्थ्यकर्मीहरु अनवरत रुपमा खटिरहेका बेला उनीहरुमाथि गरिने दुर्व्यवहारले उनीहरुको मनोबल घट्ने चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले बताए।
‘सर्वसाधारणले गर्ने गरेका दुर्व्यवहारले हाम्रो मनोबल बट्नु साटो घट्दै जाने छ। हामीलाई दुर्व्यवहार गर्नुको साटो मनोबल बढाउने काम गरिदिनुस्’, उनले भने, ‘कोभिड–१९ रोग स्वास्थ्यका मपदण्ड अप्नाएको खण्डमा सर्दैन। हामी कुनै पनि व्यक्तिभन्दा तीन फिट टाढा छौँ। सही तरिकाले मास्को प्रयोग गरेका छौँ। एक अर्कासँग कुराकानी गर्नैपर्ने अवस्थामा दुवै जनाले दूरी कायम गरेर मास्क लगाएका छौँ भने यो रोग सर्दैन।’
संक्रमित भएका मध्ये धेरै व्यक्ति निको भएर घर फर्किसकेको उदाहरण डा. कार्कीले दिए। ‘हाम्रै कति साथीहरु होम आइसोलेसन बसेर पनि ठिक भइसक्नु भएको छ। एउटै घरमा सुरक्षित तरिकाले बसेर निको भएकाहरुको घर परिवारलाई संक्रमण भएको छैन। यो भन्नुको मतलब छरछिमेकी, बाटोमा हिँड्ने मान्छलाई यो रोग सर्ने कुनै डर नै हुँदैन। त्यसकारण कोही संक्रमित आफ्नो घरमा सुरक्षित तरिकाले बसिरहेको छ, चाहे स्वास्थ्यकर्मी होस् वा अन्य कोही व्यक्ति नै किन नहोस्। ऊ सुरक्षित तरिकाले बसिरहेको छ भने अर्को घरको व्यक्ति डराउनु पर्ने अवस्था छैन’, उनले भने।
यो भाइरस कुनै निश्चित ठाउँ भन्दा टाढा नजाने उनको भनाइ छ।
डा. कार्कीका अनुसार कुनै पनि व्यक्तिले जनस्वास्थ्यका उपाय उपनाउने बित्तिकै जस्तै मास्क लगाउने, दूरी कायम गर्ने, बेलाबेला साबुन पानीले हात धुने गर्ने हो भने यो रोग सर्दैन। यही कुरालाई राम्रोसँग बुझ्न सक्यो भने कुनै पनि व्यक्तिले अर्को व्यक्तिलाई नकारात्मक दृष्टिकोणले हेर्ने छैनन्।
यो रोग जसलाई पनि हुन सक्ने भएका कारण अन्य व्यक्तिलाई दुर्व्यवहार नगर्न डा. कार्कीले सबैलाई आग्रह गरेका छन्।
संक्रमितप्रति गरिने घृणाका कारण संक्रमित भइसके पनि पछि रिपोर्ट लुकाएर बस्ने सक्ने उनले बताए।
भदौ ९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्