एउटा सर्जकको यात्रा

बम्बै जाने रेलगाडीका ‘पैया’

शब्दमा यथार्थ हुन्छ । सुख अनि दुःख हुन्छ। र ती शब्द कालान्तरमा इतिहास पनि बन्छन् जीवन्त ।

वि.स.२०५० को दशक, सुदूरपश्चिम।

हरेक गाउँमा एउटै दृष्य, मलिन अनुहार आँखामा आँशु टिलपिलाउँदै डाँडापाखा झरिरहेका मानिसहरुको ताँती देखिन्थ्यो । ‘देश जाने’ भन्दैओरालो झर्नेहरु धनगढीको गौरीफन्टा र महेन्द्रनगरको गड्डाचौकीनाका पारीबाट रेल चढेर बम्बैसहित र भारतका विभिन्न ठाँउ पुग्थे काम गर्न । त्यसका साक्षी बने भोजराज भट्ट।

उनले देखेको त्यही दृश्य शब्दमा उतारे । अनि कोरियो बम्बै जाने रेल,

पैया गुडन लाग्या बम्बै जाने रेलगाडीका पैया गुडन लाग्या ।
अब छुटन लाग्या पहाडका डाँडा खोला अब छुटन लाग्या ।

समय ठ्याक्कै याद छैन तर २०४५ सालअघि रचना गरेका हुन् उनले यो गीत। २०५० सालमा गीत उनले बजारमा ल्याए । सुदूरपश्चिमको नमिठो यथार्थको चित्र उनले शब्दमा उतारे । त्यतिबेलाको बम्बै र अहिलेको मुम्बईसहित भारतका अन्य ठाउँमा जानेको संख्या केही कम मात्र भएको छ अहिले । पीडा अझै उस्तै छ सुदूरपश्चिमको । त्यसैले अझैपनि सबैको मुखमा भुण्डिएको छ यो गीत । र झुण्डिएको छ भोजराज भट्टको नाम ।

कतिपयले त नाम हैन ‘बम्बै जान्या रेल गाडी भनेर चिन्छन्’ अलि भावुक हुँदै उनले भने ‘वास्तवमै यहि गीतले मेरो परिचय स्थापित गर्‍यो ।’

सुरुकै गीतमा सबैले दिएको माया उनको मनमा बसी सकेको थियो । तर त्यतिले कहाँ पुग्थ्यो र । देउडा गाएन मै लाग्ने निधो गरिसकेका थिए । सानो छँदा रहरले गाउने उनी अब करले गाउन थालेका थिए । जुन कर उनका श्रोताहरुको थियो ।

२०२३ सालको जन्म । घरमा सांगीतिक वातावरण नभए पनि उनी जन्मेको डडेलधुराको डुमडा गाउँमा थियो । टेपमा देउडा गीत घन्काएर गाउँघरमा हिँड्ने उनले देखेका थिए । हुर्कँदै जाँदा गाएकै बन्छु भनेर सोचेका थिएनन् । मुस्कराउँदै उनी भन्छन्– ‘गाउँदा मन खुशी हुन्थ्यो ।’

घाँस दाउरा जाँदा महिलाहरु एक्लै वन पाखा र डाँडाकाँडासँग गाएको उनले सुने । सुदूरपश्चिमको देउडा मध्यको एक ‘ठाडी भाका’ गाएको सुने । उनी भन्छन्, ‘ती गीतमा महिलाहरुको बिरह हुन्थ्यो । दुःख हुन्थ्यो । अनि हुन्थ्यो यथार्थता । श्रीमान कमाउन इण्डिया गएका महिलाका गीतमा उनीहरुका वेदना हुन्थे।

गोठाला जाँदा देउडा गुनगुनाए । परिवारसँगै भैँसी लिएर खर्क (लेक) जाँदा देउडा गीत गुनगुनाउदै उकालो लागेको उनलाई अझै याद छ । हरेक वर्ष साउनको महिना भैँसीको पछाडि लागेर उनी पनि उकालो लाग्थे गीत गाउँदै । माथि खेतिपाती पनि थियो । तीन महिना बसेर जोडो सुरु भएपछि फेरि गुनगुनाउँदै ओरालो झर्थे ।

उनले गाउने भन्दा धेरै नाचे । भन्छन्, ‘त्यतिबेला गाउँघरमा नाटक देखाउने चलन थियो । हाँस्यरस भरिएका हुन्थे । त्यसमा म पनि सहभागी हुन्थेँ र नाच्ने गर्थेँ ।’

गाउँघरमा हुने जात्रा, मेलामा पुगिहाल्थे । मनमा अझ ताजै छ देउकी आएर खेल लगाएको । सम्झँदै उनले भने, ‘म सानै थिएँ, अलिअलि याद छ बैतडीबाट आउने देउकीहरुले खेल लगाउथेँ।’

त्यतिबेला गाउनका लागि महोत्सव हुन्थेनन् । न बाजा न केही । आठ–दश जना भेला भयो, गाउन सुरु हुन्थ्यो । एकअर्काको हात समाएर पाइला चाल्दै देउडा खेलिन्थ्यो । सुर ताल केहि हुँदैनथ्यो ।

हुर्कँदै गए ।

गुनगुनाउने उनी गाउन थाले । राम्रो गाउँछ भनेर सबैले हौस्याउँथे । उनी भने धेरै मानसिका अघि गाउन सरम मान्थे।

रेकर्ड गरेको पहिलो गीत

१० वर्षको उमेर । गाउन रहर लाग्थ्यो । उनी भन्छन् ‘थाहै नपाइ गीत गाउथेँ, मिठो गाउँछ भन्दै सबैले हौसला दिन्थे ।’

एक दिन गाउँका हरिप्रसाद पाण्डे टेप रेकर्डर बोकेर भट्टको घरमा आए–लौ गीत गाउनु पर्‍यो भन्दै । गीतका पारखी उनी धनगढी झरेको बेला टेप किनेका थिए । त्यतिबेला गीत सुन्ने माध्यम धेरै थिएनन् । टेप रेकर्डरमा क्यासेट चलाएर गीत सुन्ने चलन थियो ।

खाली क्यासेट १० रुपैयाँमा पाइन्थ्यो । ती टेप रेकर्डरमा राखेर आफै गीत रेकर्ड गर्ने चलन थियो । अनि ती गीत सबैतिर सुनाउने गरिन्थ्यो । धनगढी वा महेन्द्रनगर झर्नेले नयाँ क्यासेट बोकेर फर्कन्थे ।

परिवार र छिमेकीहरुको अगाडि गाउन लजाउने उनी अनकनाए । उपाए लाग्यो कसैले नदेख्ने गरी गोठमा गएर गाउने अनि रेकर्ड गर्ने । खाली क्यासेट हालेर पाण्डेले टेप रेकर्डमा राखे अनि भट्टले गाए… ।

रेडियो नेपालसम्मको यात्रा

गाउँमै १० कक्षा र डडेलधुरामा हाइस्कूल सके । थप अवसरका लागि धनगढी झरे । बोर्डिङ स्कूलमा पढाउन थाले । बच्चाहरुलाई सिकाउँदा पनि गाउने । शिक्षक साथीहरु सबैले तपाईँको आवाज राम्रो छ भन्थे । तर त्यतिले मात्र उनको त्यसपछिको गाएन यात्रा निर्धारण गर्ने थिएन ।

उनी आफैले पनि गाएकै बन्छु भन्ने नसोचेकाले त्यता ध्यान गएन । सबैले गीत सुन्थे, ताली पिट्थे । सकिएपछि उठेर हिड्थे । मिठो गाउँछस् भन्नेले पनि कहिल्यै गायक बन्नुपर्छ भनेर भनेनन् । न त परिवारले । निरास हुँदै उनले भने, ‘सानैमा बुवा गुमाएँ । परिवारले कुनै कुरामा पनि साथ दिएन । न गाउन साथ दियो न रोक्यो ।’

रेडियो नेपालसम्मको यात्राको कुरा गर्दा उनी भोजराज भट्टलाई सम्झन्छन् । जसले रेडियो नेपालसम्मको यात्रा देखाइदिएका थिए । कक्षाका साथी थिए उनी । कक्षामा भोजराज भट्ट ‘ए’ र ‘बी’ भनेर चिनिथ्यो । ‘ए’ जो भारत उत्तराखण्डको पिथौरागढमा ओभरसिएर थिए ।

बालसखी भोजराज भट्ट ‘ए’ सँग पिथौरागढमा भेट भयो । बालपनका कुरा भए । भोजराजको गीत सानैदेखि सुनेका अर्का भोजराजले रेडियो नेपालमा स्वर परीक्षा दिन सुझाए । उनले भने– ‘तिम्रो आवाज राम्रो छ, रेडियोमा भोकल टेष्ट गर । म सहायता गर्छु भन्नुभयो ।’ उनको कुरा मनमा बस्यो । समुद्र पारीको देश जाने सपना बुन्दै गरेका भोजराजले टोफेल परीक्षा दिने र स्वरपरीक्षा पनि दिने मनसाय एकसाथ पिथौरागढबाट रेल चढे । त्यतिबेला काठमाडौँ आउन भारत हुँदै आउनु पर्थ्याे। कतै नबिसाइ काठमाडौँ आए ।

उनले भने ‘२०४६ सालको कुरा हो । त्यतिबेला फुलबारी भन्ने कार्यक्रममा गीत गाएँ । गीत रेकर्ड गरेर धनगढी फर्किएँ ।’

त्यतिबेला गीत रेकर्ड गर्ने स्टूडियो थिएनन् । गाउन चाहनेका लागि एउटै ठाउँ–रेडियो नेपाल । आवेदन दिएको तीन महिनामा पालो आउँथ्यो । रेडियो नेपालले दिएको दिनमा गाउनु पर्थ्यो । त्यतिबेला गीत गाएको १५० रुपैयाँ पाइन्थ्यो । आफ्नो रचना छ भने १०० रुपैयाँ थपेर २५० रुपैयाँ ।
उनले ‘पैयाँ गँड्न लाग्या बम्बै जान्या रेलगाडीका पैया गुडन लाग्या’ बोलको गीत गाए ।
 

उनी भन्छन्– ‘त्यो गीत सबैले मन पाराए ।’ त्यही गीतले केहिपछि उनको पहिचान बदलिदियो ।

अब उनलाई गाउने रहर जाग्यो । केही गर्नुपर्छ भन्ने लाग्यो ।

त्यसपछि अरु गीतहरु पनि रेडियो नेपालमा रेकर्ड भए । २०४७ साल पुस २२ गते उनलाई रेडियो नेपालले ‘ग’ श्रेणीकोप्रमाण पत्र दियो । उनी राष्ट्रिय गाएक भए ।

तर, उनको यात्रा मोडियो । २०४८ सालमा उनी भारतको सिलोङ लागे थियोलोजी पढ्न । पढाइ सकेर २०४९ सालमा फर्किए । सिधै डडेलधुरा लागे । डडेलधुरामा रहेको ‘टीम’ हस्पिटलमा दोभासेको जागीर खुलेको थियो । अमेरिकन हस्पिटल अंग्रेजी–नेपाली अनुवाद गर्नु पर्ने ।

अंग्रेजीमा पोख्त उनी छानिए ।

तर देउडा गीतबाट उनी पर जान सकेनन् ।

सबै छोडेर मात्र गायक

उनलाई लाग्यो गीत त गाउनु पर्छ । भन्छन्, ‘त्यो बेला थुप्रै गीतहरु सुनेँ । मेरो मनमा घमण्ड आयो की यी भन्दा राम्रो गाउन सक्छु । जस्तो सुकै गीतहरु टपक्क टिपेर गाइदिन्थे ।

जागिर चलेकै थियो । लाग्यो यो समयमा गीत निकाल्नु पर्छ । उनी गीतको तयारीमा जुटे । दिउँसो अफिस साँझ–बिहान गीतको तयारी । आमासँगै बसेर पहाडी गीतहरु तयार पारे । रिहर्सल गरे । भन्छन्, ‘कुनै सिस्टमेटिक रिहर्सल थिएन त्यो । मसँग नेचुरल भोकल छँदै थियो ।’

आठवटा गीत तयार पारेर उनी गए धनगढी झरे । नारायण रायमाझीको रिमा रेकर्डिङ्ग स्टूडियोमा गीत रकर्ड गराए । एल्बमको नाम थियो ‘जौ पात’ ।

२०५० सालको अन्त्य तिर बजारमा आएको यो गीतले सुदूरपश्मिको देउडा गाएकका रुपमा सबैको मुखमा भोजराज भट्टको नाम झुण्डाइदियो ।

त्यसपछि त के थियो, उनको जिन्दगीमा लगभग छोडिसकेको देउडा गीतले फेरि प्रवेश पायो । उनले अब मात्र गाउने निधो गरे ।

जागिर छोडे र अर्को एल्बमको तयारीमा लागे । रेकर्ड गराए । उनलाई लाग्यो गायन क्षेत्रमा अझै केही गर्नुपर्छ । गीत रिलिज नगरेरै बम्बै लागे संगीत सिक्न ।

हिन्दी फिल्ममा गाउने धोको बोकेर उनी बम्बैको रेल चढेका २०५२ सालमा । उनका जेठा दाइ त्यहाँ होमोप्याथिक डक्टर थिए ।

तर ६ महिनामै फर्किए । क्यासेट रिलिज गर्न । उनको परिवार धनगढीमा बस्थ्यो । छोरो हुँर्कदै थिए ।

‘बाडुली’ नाममा रिलिज गरेको क्यासेट पनि चर्चित भयो । धेरै बिक्री भयो । रोयल्टी आउन थाल्यो ।

यहिँ केही गर्ने सोचेका उनी बम्बै फर्किएनन् ।

उनलाई कहिले काही पछुतो लाग्छ । भन्छन् ‘मैले संगीत सिकाइलाई निरन्तरता दिनुपर्थ्यो । सिकेको भए अझै राम्रो गर्न सक्थेँ ।’

धनगढीमै बसेर उनले देउडा मात्र गाए । बजारमा निस्केका हरेक गीत चर्चित भए । सुदूरपश्चिममा देउडाको प्रायः भोजराज भट्ट भइदियो ।

उनका २१ वटा एल्बम बजारमा छन् । आफ्ना र अरुका गरेर करिब ३०० वटा गीत गाइसकेका छन् ।

त्यो माया अनि तिरस्कार

रेडियो नेपालमा गाएको ४ वर्षपछि २०५० सालमा धनगढीमा रेकर्ड भयो ‘बम्बै जान्या रेल’ । जसले उनको क्रेज स्थापना गरिदिएको थियो ।

भन्छन्, ‘मेरो त्यहाँ खोजी हुन थाल्यो को हो यो गाउने भन्दै ।’ त्यतिबेला महोत्सव हुँदैनेथे । न भिडियोको नै जमाना थियो । उनको स्वर सुनेकाहरुलाई को हो भन्ने लाग्थ्यो ।

त्यसपछिको जौ पात भन्ने गीतले त उनलाई देउडा गायनमा स्टार बनाइदियो ।

कतै देख्यो भने गाडी रोकेर उनलाई हेर्न मानिसहरु झुम्मिन्थे । उनी भन्छन्, ‘त्यो माया म अहिले महसुस गर्न स्मृतिमा मात्रै छ ।’

श्रोताको मायाको कुरा गर्दा उनी २०५५ सालको घटना सम्झन्छन्, ‘म बाजुरा पुगेका थिएँ । मेरो एक वृद्ध आउनु भयो । उहाँको परिवार नै थियो । भन्नुभयो–बावु हामी तमीलाई हेर्न डेढ दिन हिँडेर आयौँ । मेरो पाउमा आफ्नो टोपी राख्नुभयो । मैले उहाँलाई रोकेँ तर त्यो म प्रतिको माया थियो । जता जाँदा पनि पाउने त्यस्तो मायाले मलाई सधैँ उर्जा दिन्थ्यो । अझै राम्रो गाउन जाँगर दिन्थ्यो ।’

अरुका वेदना र दुःख टपक्क टिपेर गाउने भट्टको घाउ आफैमा ठूलो छ । परिवारले दिएको नमिठो पीडाको कथाले अझै पनि उनलाई अमिल्याउँछ ।

टीम हस्पिटलमा काम गर्ने भट्टको भेट मञ्जु केसीसँग भयो । सोही हस्पिटमा नर्स थिइन् मञ्जु । मन मिल्यो, बिहे गरे । घर गए, तर परिवारले स्वीकार गरेन । क्षेत्री केटी ल्यायो भनेर घरमा कलह सुरुभयो । अहिले त स्वीकार नगर्ने समाजले त्यतिबेला के मान्थ्यो । घर बस्न थालेको एक महिना बित्न लाग्दा पनि कलह कम भएन । उनीहरुले छुट्टै बस्ने निधो गरे । नजिकैको अर्को घरमा बस्न थाले । पछि उनीहरु हस्पिटलकै क्वाटरमा सरे ।

मुञ्जले भोजराजको हरेक पाइलामा साथ दिएकी छन् । भोजराज जता गए मुञ्ज त्यतै लागिन् सबै छोडेर । गीत संगीतमा चासो नराख्ने उनी श्रीमानको हरेक गीतको सारथी बनिन् ।

भन्छिन् ‘गीत संगीत त छँदै थियो । जागिर पनि गरेको भए भन्ने सधैँ इच्छा हुन्थ्यो । उनलाई लाग्छ जागिर भएको भए अहिलेको भन्दा केही राम्रो अवस्थामा हुन्थ्यौँ ।’

बिहे भएको २६ वर्षभन्दा बढी भयो । भक्तपुरको गठ्ठाघरमा एक छोरा र दुई छोरीसँग भाडामा बस्छन् । छोरो सिभिल इन्जिनियर, जेठी छोरी स्तानक अन्तिम वर्ष पढ्दै छिन् । सानी छोरी हुर्कँदै छिन् ।

वास्तवमा सुदूरपश्चिको देउडा गीत हुर्कँदै छ । सुदूरपश्मिकै डाँडाकाँडामा बामे सरेको देउडालाई हात समाएर तातेताते गर्दै हिँड्न सिकाएको श्रेय भोजराज भट्ट लगायतका केही गायकलाई जान्छ । सुदूरपश्चिम पहाडमा सीमित देउडा गीत त्यस आसपासका अरु केही ठाउँमा सुन्ने र गाउने माध्यम उनीहरु बने । देउडा भाका प्रायः ठाउँमा गुञ्जने उनीहरुले बनाए ।

भट्ट भन्छन्, ‘मलाई लाग्दैन मैले नै देउडा गायनमा केही गरेँ । वास्तवमा हामी अझै देउडा गीतको भित्रसम्म पुग्न सकेका छैनौँ । यस क्षेत्रमा गर्नुपर्ने धेरै छ । यसको अध्ययन हुन जरुरी छ ।’

पछिल्लो समय युवाहरु पनि देउडामा लागेको देख्दा उनलाई खुशी लाग्छ । देउडा गीतको सबैभन्दा राम्रो पक्ष सुदूरपश्चिमको भाषा हो । त्यसलाई नबिगारी आउने नयाँ देउडा गीतको उनी समर्थन गर्छन् ।

उनी भन्छन्, ‘गीतमासन्देश हुनुपर्छ । कथा हुनुपर्छ, तस्बिर हुनुपर्छ । जुन त्यो समाजसँग मेल खाओस् ।’

उनले त्यतिबेलाको समाजको चित्र र कथालाई टपक्क टिपे र गीत बनाए । ‘लैजा बुदी’ भन्ने गीतबाट मान्छे हँसाउने होस् वा ठाडी भाका गाएर भावुक बनाउने, उनले सबै गरे ।

गीतहरुबाट उनी देउडा सुचाउनेका मनमा बसे र बसिरहे । अरुको पीडा बोलेका उनी आफ्नै भए सबैका ।

उनले गीतको अंश सुनाएर कुराको बिट मारे,

‘छोरो गयो परदेश बग्न्या चौलानी
आमा घरै रुनी का जान्छै बग्न्या चौलानी पानी कैको माया मानी।’