मोरङभर निषेधाज्ञा परिवर्तन, मध्यान्ह १२ बजेसम्म बजार खुल्ने

मोरङ-जिल्ला प्रशासन कार्यालय मोरंगले कोरोना भाइरस कोभिड १९ को संक्रमण न्यूनीकरण गर्ने क्रममा आउदो १६ गतेसम्मलाई जिल्लाभर निषेधाज्ञालाई निरन्तरता दिने भएको छ।

बुधबार अपरान्ह कार्यालयमा सम्पन्न जिल्ला कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले मोरंगको सबै पालिकाभित्र १६ गतेसम्मलाई निषेधाज्ञाको निर्णय गरेको कार्यालयका सूचना अधिकारी मुकेशकुमार केशरीले जानकारी दिए।

बैठकपछि देश सञ्चारसंग कुरा गर्दै केशरीले यसपटक निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्दै मध्यान्ह १२ बजेसम्म अत्यावश्यक सवारी, खाद्यान्नका पसल, होटल तथा रेष्टुरेन्ट टेक अवेका आधारमा खोल्न सकिने जानकारी दिए।

यससँगै सूचना अधिकारी केशरीले जनजीवन सामान्य बनाउन चेन ब्रेक गर्दै परिक्षणको दायरा बढाउनेतर्फ केन्द्रित हुने बताए। केशरीले भने, ‘पहिलेको भन्दा केही परिमार्जन गरेर निषेधाज्ञा लगाएका छौं। अब बजार बिहान १२ सम्म खोल्ने, सामाजिक दुरी कायम गराउने र बजारको अनुगमन गर्नेछौं।’

पछिल्लो केहीदिन यता विराटनगरसँगै अन्य पालिकामा संक्रमितको संख्यामा कमि आउदै गर्दा सोही अनुरुप प्रशासनले निषेधाज्ञा खुकुलो बनाएको उनको भनाइ छ।

जिल्लामा सार्वजनिक यातायात बन्द नै रहने बताएका उनले उद्योग तथा सरकारी कार्यालय मापदण्डसहित खुला गर्न सकिने प्रस्टाए। यसबीच बिहीबारबाट प्रशासन कार्यालयले बजारको अनुगमनलाई समेत तिव्रता दिने भएको छ।

गत भदौं ५ गते कार्यालयले जिल्लामा संक्रमितको संख्या बढ्दै गर्दा विराटनगर महानगरपालिका, रंगेली नगरपलिका, बुढीगंगा र कटहरी गाँउपालिकाको केही वडासंगै राजमार्गमा निषेधाज्ञा गरेको थियो।

भदौ १०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्