अछाममा चट्याङ्ग लागेर सातजना घाइते, तीनजनाको अवस्था गम्भीर

धनगढी – अछामको साँफेबगर नगरपालिका वडा नम्बर १३ बाब्लामा विद्युतको पोलमा चट्याङ्ग लागेर ७ जना घाइते भएका छन् ।
बुधबार साँझ परेको चट्याङ्गमा परि बाक्ला बाहुन टोलका चार घरपरिवारका सातजना घाइते भएका हुन्। घाइतेहरुलाई मंगलसेन अस्पतालमा उपचारका लागि ल्याइएको अछामका पमुख जिल्ला अधिकारी गोकर्ण उपाध्यायले जानकारी दिए।
चट्याङ्ग परि घाइते भए लगत्तै स्थानीयले प्रहरीलाई खबर गरेको थियो। चट्याङ्ग परेर घाइते भएकाहरुमा १८ वर्षकी सौभाग्य जोशी, २१ वर्षका होमराज जोशी, १३ वर्षका गोकुल प्रसाद जोशी समय समयमा बेहोस हुने भएकाले उनीहरुको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।
यस्तै ३४ वर्षकी भुवनेश्वरी जोशी, १८ वर्षीय तिलक राज जोशी, २१ वर्षयी जयन्ती जोशी र १८ वर्षीय देवश्वरी जोशीको हात तथा खुट्टा पोलिएको अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।