‘तिम्ल्याहा सन्तान गर्भमा छन् भन्दा सातो गएको थियो’

गर्भ रहेको ४ हप्तामा जाँच गर्दा चिकित्सक बिना बस्न्यातले यो जोडीलाई ‘जुम्ल्याहा होला जस्तो छ।’ भनेकी थिइन्। सिर्जना लम्साल र सुबोध पौडेलको खुसी यो खबरले दोब्बर बनाएको थियो।

चिकित्सकको कुरा सत्य भइदियो भने, ‘दुई सन्तान ईश्वरको वरदान’ उनीहरुको जीवनमा साँच्चै नै लागू हुन्थ्यो, एकैपल्टको गर्भमा। सुबोध भन्छन्, ‘दुईओटा सन्तान एकैपल्ट भयो भने झन् आनन्द हुन्थ्यो जस्तो लागेको थियो।’ तर डाक्टरी भाषाले उनलाई निश्चिन्त पारेको थिएन, किनकी चिकित्सकले थपेकी थिइन्, ‘एउटा पनि हुन सक्छ।’ सुबोध ढुक्क थिए, जे होला ठिकै होला ।

तर ८ हप्तामा गरिएको अल्ट्रासाउन्ड रिपोर्टपछि चिकित्सकले जे बताइन्, त्यसपछि यी दम्पतिको सातो उड्यो। ‘बच्चा ३ जना रहेछन्। हामी त आत्तिहाल्यौँ नि !’ खुसी मिसिएको स्वरमा पौडेलले भने, ‘हामी डरायौँ, चिकित्ससको सल्लाह पनि लियौँ, १५ दिनसम्म के गर्ने कसो गर्ने भयौँ।’

एकैपल्ट तिम्ल्याहा जन्मनु भनेको दुर्लभ हो। पहिलो पल्ट बाबुआमा बन्न लाग्दा आइपरेको चुनौतिले उनीहरुलाई धेरै सोच्न बाध्य पार्यो , निर्णय गर्न सजिलो भएन र अन्त्यमा बच्चा जन्माउने नै निधो गरे।

सन्तान जन्मेपछिको जिम्मेवारी सोच्नुभन्दा पनि उनीहरुलाई सकुशल यो संसार कसरी देखाउने भन्ने चिन्ता पौडेल दम्पतिलाई थियो। सुबोधलाई धेरै पीर तब लाग्थ्यो जब सिर्जनालाई गर्भ रहेको केही महिनादेखि नै धेरै कष्ट भयो। ‘आमाको कष्टको त कुरै नगरम ! पेट ठूलो भएपछि कोल्टे फेर्न उनलाई धेरै गारो भयो, कयौँ रात अनिदो भइन्। धेरै गारो भयो।’ श्रीमतीको अवस्था बताउँदै पौडेल भन्छन्, ‘त्यो बेला जे भएपनि धन्न बच्चा राम्रा भए, र उनलाई सजिलै हुने गरी सुत्केरी गराइयो।

तस्बिर सौजन्य – ग्रान्डिसिटि अस्पताल

ग्राण्डी सिटी अस्पताल, कान्तिपथमा सिर्जनाको ३७ हप्ता नाघेको गर्भलाई शल्यक्रियाबाट सुत्केरी गराइयो। बिहिबार बिहान साढे ६ बजे अन्नत यी दुई तिम्ल्याहा सन्तानको बाबुआमा बने।

सुबोध बैंकका कर्मचारी हुन्। तिम्ल्याहा बच्चा गर्भमा छन् भन्ने बित्तिकै सिर्जनाले जागिर छोडिन्। सिर्जनालाई मानसिक रुपमा केही तनाब थियो, भोलि के हुने होला भन्ने। उनी २७ वर्षको उमेरमा आमा बन्दै थिइन्। कसरी व्यवस्थापन गर्ने भन्ने ठूलो चुनौती आइलाग्यो। केही महिनामा नै उनलाई बेड रेस्ट गर्न चिकित्सकले सल्लाह दिएका थिए।

त्यसपछि सुबोध उनको स्याहारमा लागे। ‘लकडाउनले झन् श्रीमतीको ख्याल राख्न मलाई सहयोग भयो।’ सुबोध भन्छन्, ‘तर कोभिडले अस्पताल ल्याउन घर लैजान भने समस्या पार्यो।’ सुबोधले सिर्जनालाई आइसोलेशनमा राखे, कसैलाई भेट्न दिएनन्। आफू हरबखत श्रीमतीको आड बनिराखे।

उनको लागि तिम्ल्याहा जन्मनु नौलो कुरा भने थिएन, सुबोधका अनुसार उनको परिवारमा जुम्ल्याहा छन्, अनि नेपालको पहिलो तिम्ल्याहा जो पछिल्लो समय चिकित्सक बनेका छन् पौडेलकै परिवार अन्तर्गत पर्छन्।

अप्रेशन थिएटरमा श्रीमती लगेपछि उनलाई ‘के हुने हो कसो हुने हो भन्ने डर लाग्यो।’ चिकित्सले सबै राम्रै भयो भनेपछि, उनको खुसीको सीमा नै छैन। देशसञ्चारसँग कुराकानी गर्दा उनी आफ्नी श्रीमतीको हात समातेर बसिरहेका थिए। उनका सन्तान ‘अबजर्भेशन’ थिए।

तिनै बच्चा स्वस्थ छन्, दुईजना २ केजीका छन् भने १ जना १ केजी ९०० ग्रामका छन्। कोरोना कहरकाबीच सुबोध तिम्लाहा शिशुका बाबु बने, यो भन्दा पछि भोग्नुपर्ने दिनका लागि सायद उनी तयार छन्। सन्तान गर्भमा आउने बित्तिकै थाहापाए कि ‘बाबुआमा बन्न सजिलो रहेनछ।’ सुबोधले भने, ‘तर यस अघि पाएको दुख सन्तानको मुख देख्ने बित्तिकै उड्यो।

तस्बिर : सुबोध पौडेलको फेसबुकबाट

भदौ ११, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्