कोरोनाले फैलाएको मनको सक्रंमण

कल्पना आचार्य

‘मानिस सामाजिक प्राणी हो, यो समाजमा मिलेर बस्छ।’

हामीलाई बच्चैदेखि घोकाउने ‘लाइन’ यतिबेला हास्यास्पद लाग्न थालेको छ। किनकि वर्षौँदेखि मिलेर रहेको समाज अहिले भत्किएको छ । यतिबेला सामाजिक मान्यता, विश्वास, धर्म, परम्परा लाग्छ- सब धुँवामा उडिरहेका छन् ।

बिहान, साँझ आरती बल्ने मन्दिरहरु, नमाज पढ्ने मस्जिदहरुमा भोटेताल्चा लगाइएको छ । सानासाना नानीहरु पढ्ने स्कूलहरु यतिबेला क्वारेन्टिन बनेका छन् । बिरामीको उपचार गर्ने अस्पताल आफै बिरामी भएर बसेको छ । कयौँ दिर्घरोगीहरु उपचार नपाई मर्ने स्थिति आएको छ । मानिसले मास्क र सेनिटाइजरभित्र जिन्दगी खोजिरहेछन् ।

अझै कोरोना भाइसर संक्रमण पुष्टि भएका र उनीहरुका परिवारको पीडा सुनिनसक्नु छ । उनीहरुमध्ये धेरैलाई रोगले केही गरेको छैन । हाच्छ्युँसमेत नआई, एक ग्लास तातो पानीसमेत नखाई आफै ठीक भएका व्यक्तिलाई गम्भीर अपराध गरेको जस्तो लखेटिरहेछ समाज । उनीहरुलाई समाजले दिएको ‘छिछि र दुरदुर’ रुपी अन्याय बिरुद्ध न्याय दिने अदालत ताल्चा मारेर क्वारेन्टिनमा छ सायद ।

आफन्तलाई घर आउँदा कोरोनाको पोको बोकेर आएझैँ घुरेर हेर्ने दिन आएको छ, बिरामीको उपचार गर्ने चिकित्सकलाई पोजेटिभ देखिएपछि कोरोना संक्रमितको घर भनेर मानसिक रुपमै कमजोर घोषणा गर्न तँछाडमछाड गरिरहेका खबरहरु आइरहेका छन्।

सामान्य मानिसलाई कोरोना लाग्दा समाजले गर्ने दुर्व्यवहारको अवस्था कति भयावह छ, अनुमान गर्न गाह्रो भएको छ । यति गम्भीर संक्रमित मानसिकताको दोषी को हो सोध्ने बेला भएको छ । देशको अर्थतन्त्र धरापमा परेको छ, लकडाउन स्पेशल भन्दै घरमै खुशीयाली मनाउने जमातलाई त ठीकै होला तर दिनभरि मेहेनत गरेमात्र बेलुका जहान केटाकेटीको पेट भरिने समुदाय यतिबेला कुनै विकल्प नभएर आत्महत्यातर्फ उन्मुख हुँदै छ । एकजना पत्रकारले आत्महत्याको लागि उक्साएको आरोपको भरमा रवि लामीछानेलाई दिउँसै कार्यलयाबाट पक्रेर ल्याउने सरकार अब यो समुदायको रोजीरोटीको लागि सरकारको तर्फबाट भएका पहलकदमीहरु के के हुन सार्वजनिक गर्न ढिला भैरहेको छ।

‘घरभित्र ढोका थुनेर बस’ भनेपछि के खाएर बस्ने हो भन्ने विकल्प दिनु सरकारको दायित्व हो। कोरोना आउनुभन्दा अगाडि एक दिन बन्द हुदा यति अर्ब नोक्सान भयो भनेर चिच्चाउने सरकारले यति लामो लकडाउन हुँदाको घाटा हिसाब गर्ने क्यालकुलेटर कता थन्काएको छ? सोध्ने बेला भएको छ ।

विगतमा नेपालको आम्दानी प्रमुख स्रोतको रुपमा रहेको रेमिटयान्स भित्राउने लाखौँलाख युवाहरु यतिबेला विदेशमा कामविहिन भएका छन्। उनीहरु खानै नपाई मर्ने अवस्थाको सिर्जना भएको छ । साथै कयौँ नेपालमा छुट्टीमा रहेकाहरु पनि आफ्नो काममा फर्कन चाहन्छन्, उनीहरुले यतिबेला आफ्नो देश भएको महशुस गर्न सकेका छैनन्।

कोरोना एक भाइरस हो । हाम्रो शरीर दिनदिनै कोरोना जस्ता अनेक अनेक भाइरससँग लडिरहेको छ । हामीलाई बचाइरहेको छ । भाइरसहरु हिजो पनि थिए, आज पनि छन्, भोलि पनि रहनेछन्। भाइरसहरुबाट शरीरलाई अलग्याउन सम्भव छैन भनेर विज्ञहरु सधैँ भनिरहेछन् । अहिलेलाई शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनु भन्दा हामीसँग अरु केही विकल्प छैन । हामी ‘डाक्टरहरु भगवान हुन्, अस्पतालहरु मन्दिर हुन भन्छौँ’ अनि अस्पताल खोल्न प्रेरित गर्छौँ। हामी १००० शैयाको अस्पताल खोलौँला तर रोग यसरी बढ्ला कि फेरि अर्को ५००० शैयाको अस्पतालको आवश्यकता पर्ला । अनि कति बढाउँदै जाने अस्पताल ?

कति खेल्ने प्रकृतिसँग पौँठेजोरी ? अब फरक तरिकाले पो सोच्ने हो कि! हामी अस्पताल जानका लागि बाध्य हुने रोग हामी समक्ष आउनै नदिनका लागि तयार हुने कि। हाम्रा आहार बिहार सोच बिचारहरु पनि बदल्नु पर्ने हो कि? चाहे चाडबाड होस्, चाहे कुनै शुभकार्य- हाम्रो व्यवहार खानासँग गएर ठोकिन्छ, हामी कति स्वस्थ्य खाने बहस गर्देनौँ, हामी कति टेस्टी खाने कति आइटम खाने बहस गर्छौँ। अनि रोग लागे अस्पताल छँदै छ नि भन्ने मानसिकतामा पनि फेरबदल ल्याउने हो कि। नराम्रो तेल हाले इन्जिन बिग्रन्छ भनेर राम्रो तेल खोज्न चहार्ने हामी आफ्नो अमूल्य शरीरको इन्धनका लागि यति हेल्चेक्र्याइँ किन गरिरहेछौँ? यस्तो व्यवहार सुधार गर्ने हो कि जसले गर्दा अस्पताललाई मन्दिर बनाएर आफ्नो जीवनलाइ मन्दिरमा फूल चढाएझैँ डाक्टरलाई समर्पण गर्न नपरोस्।

यतिबेला बिश्व नै लकडाउनमा छ। ठूला ठूला अर्थतन्त्र भएका देशहरुले छिट्टै नै आफूलाई समृद्ध बनाउलान् तर गरिब देशहरु धेरै नै पछाडि धकेलिएका छन् ।

प्रदीप आचार्य जापानको यदोगावा कु टोकियोमा बस्छन् । विगत ७ वर्षदेखि उनी त्यो ठाउँमा परिवारसहित बस्दै आएका छन् उनी पेशाले कुक हुन् । प्रदीपले मसँगको कुराकानीमा भनेका छन्, ‘जापानमा कहिल्यै पनि लकडाउन भएन। शुरुका हप्ताहरुमा सरकारको तर्फबाट सूचना आयो बेलुका आठ बजेपछि होटल, रेष्टुरेष्ट, क्लब फिल्महल आदि धेरै भिडभाड हुने ठाउँ बन्द गर्नू। त्यही अनुरुप अलिकति समय सबै बन्द भयो । त्यसपछि सबै सामान्य जनजीवनमा फर्कियौ । हामी सबै काममा जान्छौँ, आउँछौँ मान्छेमा कुनै डर त्रास छैन ।’

जापानमा कोरोना भाइरस नआउँदै देखि मास्क लगाउने चलन थियो जुन अहिले पनि छ तर सरकारको तर्फबाट मास्क लगाऊ नलगाऊ केही सूचना आएको छैन, जापानमा सचेतना बढी छ बढी भिडभाड हुने ठाउँमा मानिसहरु आफैँ जादैनन् । अनि सबै सार्वजनिक ठाउँहरुमा यहाँ भाइरस छैन भन्ने संकेत टाँस्न अनिवार्य गरिएको छ जसले गर्दा मानिसहरु सहज आवतजावत गरिरहेछन्।

यो लेख तयार पार्दा सम्म जापानमा कुल संक्रमितको संख्या ६३,८२२ छ भने मृत्यु हुनेको सख्या जम्मा १२०९ छ । १२ करोड जनसंख्या भएको राष्ट्रमा यो संख्या अत्यन्तै न्यून हो। विश्व स्वास्थ्य संगठनले लकडाउन नगरे जापानले ठूलो क्षति व्यहोर्न पर्ने चेतावनी दिएको थियो । तर परिणाम निकै सकारात्मक देखिएको छ ।

त्यस्तै सागर पौडेल टर्कीको इस्तानबुल भन्ने ठाउँमा बस्छन् । उनी भन्छन्- ‘टर्की मा कहिल्यै पनि लकडाउन भएन. मानिसलाई भीडभाडमा नजान भनियो शुरुवाती अवस्थामा बृद्धाहरुलाई शनिबार र आइतबार मात्रै बाहिर निस्कन भनियो र त्यो दिन बृद्धाहरु बाहेक अरु कोही पनि बाहिर निस्कन दिइएन । पछि त्यो पनि हटाइयो। त्यो बाहेक अरु केही गरिएन। सेनिटाइजर सरकारद्वारा निशुल्क वितरण गरियो। मास्क चाहिँ अनिबार्य लगाउन भनियो ।

यो लेख तयार पार्दासम्म टर्कीको संक्रमित २६२५०७ भएपनि मृत्यु ६१८३ को मात्रै छ। बिना लकडाउन त लाखौँ मान्छे मर्नु पर्ने हैन र ? जब मर्ने तथ्यांक यति कम छ भने संक्रमितको अंकगणितले खासै अर्थ राख्छ जस्तो लाग्दैन जुन रोग लाग्छ निको हुन्छ यो त सामान्य प्रकृया नै हो ।

आत्मबलभन्दा ठूलो औषधी दुनियाँमा अर्को कुनै छैन । आफ्नो जीवनको सबभन्दा ठूलो चिकित्सक हामी आफैँ हो । अब कोरोना संक्रमितका कुरा सुनौँ। उनीहरुले कसरी कोरोनालाई जिते त्यसको खबर फैलाऊ। उनीहरुलाई हिंसा होइन, प्रेम बाडौँ । कोरोनासँग भाग्ने होइन त्यो विरुद्ध लड्न शरीरलाई तयार गरौँ। प्राकृतिक चिकित्सालाई ध्यान दिऔं। योग गरौँ। हाम्रै घरआँगनमा पाइने वषौँदेखि नेपाली समाजमा चलनचल्तीमा रहेका अमूल्य जडीबुटीहरुको नियमित प्रयोग गरौँ।

केशव ढकाल दक्षिण कोरियामा काम गर्छन। उनी ३ वर्ष अगाडि त्यहाँ गएका हुन् । त्यहाँ पनि कुनै लकडाउन भएन, सामान्य सुरक्षाका विधिहरु अपनाइयो। जनजीवन सामन्य रुपमा चलिरहेको छ ।

यो लेख तयार पार्दासम्म त्यहाँ कुल संक्रमित १८७० छ । मृत्यु हुनेको संख्या ३१३ छ। बिना लकडाउन त लाशको खात लाग्नु पर्ने होइन र? त्यस्ता धेरै देशहरु छन् जहाँ लकडाउन छैन, कोरोना भाइरस हुँदा हुदै पनि जनजीवन सामान्य चलिरहेको छ। अनि मृत्युदर पनि लकडाउन गर्ने देशहरुको तुलनामा कम छ । त्यसैले हामी कहाँनिर चुकिरहेका छौँ सोच्ने बेला भएको छ ।

सरुवा रोगहरु हिजो पनि थिए आज पनि छन् भोलि पनि रहनेछन्। तुलनात्मक रुपमा विगतमा पनि सार्स, मर्स जस्ता सरुवा रोगहरु संक्रमण फैलिसकेको छ। तुलनात्मक रुपमा यसको मृत्युदर एकदमै कम छ भन्ने कुरा तलको डाटाले देखाउँछ।

रेबिज–९० प्रतिशत
एड्स–८०–९० प्रतिशत
इबोला–८७ प्रतिशत
बिफर–६५ प्रतिशत
प्लेग–५२ प्रतिशत
टिटानस–५० प्रतिशत
हैजा–५० प्रतिशत
क्षयरोग–४३ प्रतिशत
ठेउला–३० प्रतिशत
सार्स–१२ प्रतिशत
स्पेनिश फ्लु–१० प्रतिशत
जाइका भाइरस–१० प्रतिशत
दादुरा–२।५ प्रतिशत
स्वाइन फ्लु–२.१ प्रतिशत
कोभीड १९ –०.१ प्रतिशत

प्रस्तुत डाटाअनुसार पनि यसको मृत्युदर अत्यन्तै कम छ त्यसैले पनि समाजमा फैलिएको कोरोना हाउगुजीले रोगले भन्दा शोकले र भोकले मान्छे मार्ने निश्चित छ ।

यतिबेला समाजमा सकारात्मक सन्देशको खाँचो छ । नकारात्मक खबरले मान्छेलाई भित्रभित्रै जलाउँछ । ठीकै छ मास्क लगाउ तर मास्कले तपाइको मुख नाक छोपियोस विवेक नछोपीयोस । सेनिटाइजर पनि प्रयोग गरौँ । सेनीटाइजरले किटाणु मारोस तपाइको आत्मविश्वास नमारोस । सामाजिक दुरी पनि कायम गरौँ, यसले रोगलाई पर सारोस। तपाइको सम्बन्धलाई झन मजबुत बनाओस् ।

स्वास्थ्यकर्मीले पीपीई लगाउनुहोस्, पीपीईले किटाणुलाई छेकोस्, मान्छेको आशा र भरोसालाई नछेकोस्। रेडियो कोरोनाको मृत्युको तथ्यांक सुनाउँछ, सरकारले बाहिर ननिस्कन, कसैसँग नभेट्न ह्वीप जारी गर्छ । डाक्टरहरु सावधानी नअपनाए लाशको खात लाग्ने कुरा सुनाउँछन् अनि फेसबुके विद्धानहरु ‘ल आयो दैलामा आयो अब घरमा बस्ने कि अस्पतालमा बस्ने कि भित्ताको फोटोमा भनेर खतराको बिउ छर्दिन्छन् ।

अनि सामान्य मान्छेलाई बिरामी हुनका लागि आत्मबिश्वास गुमाउनका लागि यति नै काफी छैन र ? यति संक्रमित भए भन्नु भन्दा कुल संक्रमितमध्ये यति सन्चो भए भन्नुले पनि ठूलो अर्थ राख्छ, किनकि सकारात्मक सन्देशले पनि मानिसमा आत्मविश्वास बढाउँछ। शरीरमा रोग प्रतिरोगात्मक क्षमता बढाउँछ, यतिबेला मनोरोगले महामारीको रुप लिँदै छ।

चितवनमा कार्यरत मनोचिकित्सक खगेन्द्र काफ्ले भन्छन्, ‘अहिले स्वास्थ्यकर्मीहरु नै तनाबसँग सम्बन्धित समस्याबाट ग्रसित छन् । अनिद्रा, अपच, स्मरणशक्ति ह्रास, भोक नलाग्नु, टाउको दुख्नु आदि जस्ता समस्याले ग्रसित स्वास्थ्यकर्मिको दिनहुँ फोन आइरहेको छ, समुदायमा पनि मानसिक रोग बढिरहेको छ।’

आत्मबलभन्दा ठूलो औषधी दुनियाँमा अर्को कुनै छैन । आफ्नो जीवनको सबभन्दा ठूलो चिकित्सक हामी आफैँ हो । अब कोरोना संक्रमितका कुरा सुनौँ। उनीहरुले कसरी कोरोनालाई जिते त्यसको खबर फैलाऊ। उनीहरुलाई हिंसा होइन, प्रेम बाडौँ । कोरोनासँग भाग्ने होइन त्यो विरुद्ध लड्न शरीरलाई तयार गरौँ। प्राकृतिक चिकित्सालाई ध्यान दिऔं। योग गरौँ। हाम्रै घरआँगनमा पाइने वषौँदेखि नेपाली समाजमा चलनचल्तीमा रहेका अमूल्य जडीबुटीहरुको नियमित प्रयोग गरौँ। समाजमा फैलिएको भय र आतंकबाट मुक्त हुनका लागि हातेमालो गरौँ।

भदौ १२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्