
वीरेन्द्रनगर – गरिबी र अभावले मानिसलाई अनपेक्षित भूमरी र समस्यातर्फ मोड्छ। नेपाली नागरिकका हकमा त्यो धेरै हदसम्म नियती बनेको छ।
त्यही गरिबीका कारण कहिलेकाहीँ मानिस आफ्नो सीमा बिर्सिएर अनुशासन उल्लघंनको काममा संलग्न हुन्छ।
दैलेख दुल्लु नगरपालिका घर र सुर्खेत पञ्चपुरी नगरपालिका माइती भएकी भगवती(नाम परिवर्तन) ले पनि एक पटक त्यही सीमा नाघिन्।
पीडा र आवेशमा आएर आफूले गरेको सानो गल्तीले अहिले उनको जीवननै धरापमा परेको छ, २० वर्षकै उमेरमा।
पेटमा बच्चा हुर्कंर्दै गरेका बेला आफ्नो विशेष हेरचाह र खानपिनमा ध्यान दिनुपर्ने बेला हाल उनको जीवन जेलमा सीमित बन्नपुगेको छ।
चोरी मुद्दामा अदालतलाई १० हजार रुपैयाँ धरौटी दिन नसक्दा पुर्पक्षका लागि उनी थुनामा जानु परेको हो।
भौगोलिक विकटता, सामाजिक विभेद, कमजोर आर्थिक अवस्था र असमानताले घेरिएको समाजमा हुर्केकी भगवतीले पढेर कुनै न कुनै पेशाबाट आत्मनिर्भर बन्ने आफ्नो सपनालाई तुहाउन बाध्य भइन्, १६ वर्षको उमेरमा।
अभिभावकले कर गर्दा विवाह गरेर दैलेख पुगिन्। तर बेरोजगारीको पीडाबाट ग्रस्त भगवतीका श्रीमान् मनोज (नाम परिवर्तन) को अस्वाभाविक र अमानवीय व्यवहारको सामना पनि उनलै गर्नुपर्याे।
२० वर्षको उमेरमा एक छोरीकी आमा बनिसकेकी भगवती छोरी पाएको बहानामा श्रीमानबाट तिरस्कृत पनि हुन थालिन्।
अन्ततः हरेक दिन रक्सीले मात्ने श्रीमानको कुटपिट र यातनामा पर्नु उनका लागि नियती बन्यो।
श्रीमानको अमानवीय व्यवहार सहन नसकेपछि भगवती गत साउन १० राती भागेर छिमेकी बन्दना (नाम परिवर्तन) को शरणमा पुगिन्।
त्यो रात जसोतसो बास पाएकी भगवतीले भोलिपल्ट बन्दना र उनका पारिवारिक सदस्य घरमा नभएका बेला भगवतीले बन्दनाको मोबाइल चोरेर भागिन्।
भगवतीको उद्देश्य चोरेको मोबाइल बेचेर आफ्नो हातमुख जोर्नु थियो या आफैले प्रयोग गर्नु थियो त्यो भने खुलेको छैन।
तर उनले आफूले मोबाइल चोरेको प्रहरी र अदातल दुवैमा स्वीकार गरेकी छिन्। तर भगवतीमाथि बन्दनाले १२ आनाको सुनको सिक्री पनि चोरेको आरोप लगाउँदै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिइन्।
भगवतीले आफूले सिक्री नचोरेको अडान लिएकी छन्। भगवती प्रहरीको नियन्त्रणमा परेपछि उनलाई भेट्न न उनका श्रीमान् आएका छन् न उनका परिवारका सदस्य।
भगवतीले आफ्नो परिवार र साथीभाइलाई यो घटनाबारे थाहा नदिएको बताइन्। उनीले भनिन, ‘यसै त म श्रीमान् र घरपरिवारबाट अपहेलित भएर निस्कनु परेको छ। त्यसमाथि पनि म चोरी मुद्दामा यसरी जेल परेकोछु भन्ने थाहा भयो भने झनै म अपमानित हुनेछु। मर्नुको विकल्प हुने छैन मसँग।’
आफू अपमानित हुने डरमा भगवतीले आफ्ना आफन्तसँग आर्थिक सहयोग मागिनन्। बरु जेल पुगिन्। भन्छिन्, ‘श्रीमान्, घरपरिवारको त मलाई आशा छैन। बाहिरको कसैले मलाई १० हजार रुपैयाँ ऋण सहयोग गरेको भए पछि उनीहरुको काम गरेर भए पनि त्यो चुक्ता गरिदिन्थे।
तर त्यस्तो मनकारी को भटिएला र?’
अदालतका श्रेस्तेदार एवं सूचना अधिकारी याम बास्कोटाका अनुसार १० हजार रुपैयाँ धरौटी तिर्न नसकेर कारगार जानु परेको मुद्दा सम्भवतः जिल्लामा पहिलो हो।
उनले भने, ‘थुनछेक बहसका क्रममा अदालतले १० हजार धरौटी माग गरेको थियो। तर त्यो दाखिला गर्न नसक्दा उनी कारागार जानु परेको हो।’
प्रहरीको अनुसन्धानका क्रममा २६ दिन हिरासतमा बिताएर करिब दुई सातादेखि थुनामा रहेकी भगवतीलाई अहिले आफ्नो एउटा सानो गल्ती सिंगो जीवननै संकटमा परेको अनुभव भइरहेको छ।
त्योभन्दा बढी पीर आफ्नो पेटमा भर्खरै हुर्कदै गरेको बच्चाको छ उनलाई । तर अब आर्थिक अभाव झेल्नुपर्दा र सहारा विहिन बन्नुपर्दाको पीडामा त्यो बच्चाको जीवन आफ्नै पेटमै मेटिदिने उनले कठोर निर्णय लिएकी छिन्।
दुई महिनाको गर्भ फाल्ने निर्णयमा उनी पुगेकी हुन्। गर्भपतनका लागि भगवतीले जिल्ला कारागार सुर्खेतमार्फत् जिल्ला अदालत सुर्खेतमा निवेदन दिइन्।
अदालतले पनि १२ हप्तासम्म गर्भपतन गर्ने कानुनी अधिकार महिला (आमा) लाई रहेको पृष्ठभूमिमा उक्त निवेदन स्वीकृत गरेको श्रेस्तेदार बास्कोटाले बताए।
‘मेरो जीवनको ठेगान छैन। पेटमा बच्चा कसरी हुर्काउने? पहिलो पटक छोरी पाउँदा श्रीमानले यो मेरो छोरी होइन भनेका थिए। अन्तैबाट पेट बोकेको भन्दै यातना दिए। अब त झन् उनले मलाई स्वीकार गर्ने छैनन्।
यस्तो अवस्थामा फेरि कसरी म आमा बन्न सक्छु?,’ भगवती भक्कानिन्। अदालतको कार्यतालिकाअनुसार भगवतीको मुद्दाको फैसला हुन कम्तीमा पनि ६ महिना लाग्ने देखिन्छ।
अदालतले कोरोना र लकडाउनकै बीच यही भदौ २९ गते उनको बकपत्रको मिति तोकेको छ। मुलुकी अपराध संहिताले भगवतीले गरेको चोरीलाई साधारण चोरीको समूहमा राखेको छ।
तर, कसुर प्रमाणित भएमा भगवतीलाई ३ वर्षसम्म जेल सजाय र ३० हजारसम्म जरिवाना हुनेछ।