प्रविधिप्रतिको आशक्ति

प्रविधिमित्र हो भन्दै, डुबेछ रात हे दिन
आफू के हो भनी बिर्सी , बिर्सिन्छ साथको मन।

प्रविधि मैत्रि हुँ भन्दै आशक्ति लहलाउँदो
प्रविधिभित्र हे आज, पुर्खा पुस्ता रमाउँदो ।।

मान्छेको काखमा बस्दै, खुब मख्ख बनाउँछ
सृजना पोख्नको निम्ति ठूलो साथ दिलाउँछ।

मोहको वीज त्यो छर्दै आफ्नो पास फसाउँछ
अनेकौँ लोभ देखाई मान्छेलाई हराउँछ ।।

मान्छेको मगजी काम, फेरि आफैँ चलाउँछ
मान्छेका हात, गोडा हुँ ,सबै आफैँ हुँ भन्दछ।

हात बाँधि बस मान्छे, भन्दै सारा दगुर्दछ
विश्वमा भ्रम यो छर्दै , मान्छे अन्धो बनाउँछ ।।

मान्छेलाई कुजो पार्दै विश्व आफ्नु बनाउँछ
जलमा थलमा सारा शासन यो चलाउँछ।

मान्छेको पन नासेर, मान्छेभित्र रमाउँछ
मान्छेलाई झुलाएर , त्यसै जुम्सो तुल्याउँछ।

प्रविधिमित्र नै ठानी पूर्ण विश्वासमा परि
आँखा चिम्म भएकाले , बुझिएन केही गरी

विकल्प हातगोडा र मस्तिष्क मात्र होइन
भन्ने यो यन्त्रमा मैले, संवेद्य भाव पाइनँ।।

भदौ १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्