थिएगो सिल्भा अब चेल्सीमा

ब्राजिलियन सेन्टर–ब्याक थिएगो सिल्भालाई इंग्लिस क्लब चेल्सीले भित्र्याएको छ । चेल्सीसँग सिल्भाले एक वर्ष थप गर्ने विकल्पसहित एक वर्षको सम्झौता गरेका हुन् ।

३५ वर्षका सिल्भाले अगस्ट २३ मा च्याम्पियन्स लिगको फाइनलमा बार्यन म्युनिखसँग पराजित भएसँगै फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) छोडेका थिए । उनी फ्रि–ट्रान्सफरमा चेल्सीमा अनुबन्धित भएका हुन् ।

सिल्भाले चेल्सीको रक्षापंक्तिलाई बलियो बनाउने अपेक्षा छ । सन् २०१९–२० को सिजनमा प्रिमियर लिगका शीर्ष १० टिम मध्ये सबैभन्दा बढी गोल खाने क्लब हो चेल्सी, उसले ५४ गोल खाएको थियो।

फ्र्यांक लाम्पार्डको टिमको हिस्सा बन्न पाउँदा आफू अति नै खुशी भएको सिल्भाले अनुबन्धनपछि भनेका छन्।

ब्राजिलको राष्ट्रिय टिमबाट ८८ खेलमा सहभागिता जनाएका सिल्भाले पिएसजीबाट २०० भन्दा धेरै खेल खेले। ८ वर्ष पिएसजीमा रहँदा उनले लगातार सात वर्ष लिग वानको उपाधि जिते ।

भदौ १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्