अहम् ब्रह्मास्मि । अर्थात् म ब्रह्म हुँ ।

बिदेशका युवाहरुले समेत मन पराउने यो वाक्य र यसमा व्यक्त कुराको गहिराइ हाम्रा युवाहरुले बुझेका छन् त? मैले सोचेँ । यस्ता बिषयहरु जान्नका लागि संस्कृतको प्रारम्भिक ज्ञान भएमा सजिलो हुन्छ । हुनत अचेल पूर्वीय दर्शनका धेरैजसो पुस्तकका अंग्रेजी अनुबाद पनि बजारमा पाइन्छन्, तर पढ्ने र बुझ्ने संस्कार बसाल्न पनि परिश्रम नगरी हुँदैन ।

हाम्रा अस्पतालहरुले आफ्नो क्षमता भन्दा पनि बढी काम गर्नु पर्ने भएकाले यदि कोभिड–१९ ले देशभित्र प्रकोपको रुप लियो भने उपचार गर्न सक्ने स्थिति छैन । कुरा म हाल कार्यरत रहेको सिवेक अस्पतालबाट शुरु गर्न चाहन्छु । यो नेपाल भ्रमणमा आउने पर्यटकहरुका लागि बिशेष सेवा दिने अस्पताल हो । त्यसैले कोभिड–१९ संक्रमणको उच्च जोखिममा छ । हामीले त्यसबाट बच्नका लागि प्रशस्त पूर्व तयारी गर्‍यौँ। यहाँ काम गर्ने कर्मचारीहरु धेरै निपुण छन्, अनि अस्पताल प्रमुख डा. प्रतिभा पाण्डे पर्यटक स्वास्थ्यमा बिशेष दक्षता राख्नु हुन्छ ।

यस अस्पतालका कार्यकारी निर्देशक अञ्जु शर्मालाई म असाध्यै मन पराउँछु । वहाँ रमाइलो गर्न मन पराउने, काम प्रति प्रतिबद्ध र निपुण हुनुहुन्छ, अनि मानवताले ओतप्रोत । अञ्जुजीले केही महिना अघि मात्रै आफ्नो हातमा ट्याटू (Tattoo)  गराएर खोप्नु भएको छ – ‘अहम् ब्रह्मास्मि !’ उहाँले मलाईपनि ट्याटू गर्न प्रेरित गर्दै हुनुहुन्थ्यो, तर म अलि लजाएँ । ट्याटू त धेरै युवाहरुलाई मन पर्ने कुरा हो, अनि पूर्वीय दर्शनका ‘अहम् ब्रह्मास्मि !’ को यो भाका बिश्वका बिभिन्न देशका युवामा समेत लोकप्रिय हुँदै आएको छ ।

हिन्दु धर्म दर्शनमा रहेका १०८ उपनिषद मध्ये बृहदारण्यक उपनिषदलाई दसौं मुक्तिका मानिएको छ र यसको रचना इशापूर्व ७०० तिर भएको अनुमान गरिन्छ । बृहदारण्यक उपनिषदमा लेखिएको थियो।

अहम् ब्रह्मास्मि । – म ब्रह्म हुँ ।

जगद्गुरु आदि शंकराचार्यले झण्डै १२ सय वर्ष पहिले भन्नु भएको रहेछ, ‘चिदानन्द रुपम् शिवोहम् शिवोहम्।” अर्थात् सत् चित् आनन्द स्वरुप “शिव” म नै हुँ । यहाँ “म” भन्नाले मानव जाति भन्ने जनाउँदछ ।

आत्माको बिभिन्न गुणहरुको वर्णन गरिएको ६ श्लोकहरु भएको आत्मषटकमकोे अन्तिम श्लोकमा भनिएको छ –

अहं निर्विकल्पो निराकाररुपो
विभुत्वाच्च सर्वत्र सर्वेन्द्रियाणाम् ।

न चासङ्गतं नैव मुक्तिर्न मेयः

भावार्थ : म अपरिवर्तनीय, निराकार स्वरुप हुँ । म सर्वत्र व्याप्त छु । म शिव हुँ।

के ब्रह्म नै शिव हो ?

सद्गुरु जग्गी वसुदेव भन्नुहुन्छ – कोभिड–१९ को प्रभावमा रहेका हामी खुशी हुनुपर्छ कि हामी जिउँदो छौं, घरमा छौं, हामीसँग पढ्ने, सोच्ने र मनन् गर्ने प्रसस्त समय छ । हामी सोचौं, आफूलाई चिनौं ।

सद्गुरुले धर्म र अध्यात्मका बीचको वेदलाई धेरै राम्ररी वर्णन गर्नुभएको छ । धर्मले हामीलाई कुनै बिश्वासको अधीनमा रहेर केही व्यवहारलाई पछ्याउन प्रेरित गर्छ । तर अध्यात्मले जिज्ञासालाई जागृत गर्छ, अनि हामीलाई सोच्न, खोज्न, बुझ्न सिकाउँछ ।

मैले यो भनाइलाई आफ्नो दैनिकीसँग जोडेर हेरेँ । म हिन्दु धर्म मान्छु, त्यसैले बिहान बेलुका पूजा आरती गर्छु, भजनहरु गाउँछु, भगवानको स्मरण गर्छु । यसमा भगवानप्रति मेरो असीम श्रद्धा हुन्छ, म अबिश्वास गर्दिन र प्रश्न पनि गर्दिन ।

अध्यात्मले मलाई सोच्न प्रेरित गर्छ – के भगवान साँच्चि नै हुनुहुन्छ त ? भगवानको र मेरो सम्बन्ध कस्तो हो ? मैले पूजा गरेर के हुन्छ ? नगरे के फरक पर्छ त ? म किन पूजा गर्छु ? म किन खुशी हुन्छु ? आखिर “म” भनेको को हो त ? मेरो शरीर, या मेरो मन ? आध्यात्मिक हुन धार्मिक हुनु पर्छ ? बिश्वमा कति धेरै धर्महरु छन्, तर के आध्यात्मिक सोच सबैका लागि चाहिन्छ ?

यी र यस्तै प्रश्नहरुको उत्तर खोज्न मैले सद्गुरु जग्गी वसुदेवको भनाइलाई शिरोधार्य गर्दै यो सामान्यजस्तो लाग्ने प्रश्नलाई पुनः मनन् गरेँ ।

म के हुँ ? ब्रह्म के हो ?

पहिले म के हुँ भन्ने बारेको मेरो बुझाइबारे चर्चा गर्छु ।

म भनेको आत्मा, अनि परमात्मा अर्थात् ब्रह्माण्डको सानो अंश – समुन्द्रमा पानीको थोपा जस्तै ।

आत्मा निर्विकार, अविनाशी हुन्छ । यो अमर छ ।

आत्मालाई त्यसैले “सत्” भनेर ब्याख्या गरिएको छ ।

जुन सत् छैन त्यो असत् या अनात्मा ।

भगवान श्रीकृष्णले अर्जुनलाई कुरुक्षेत्रको रणभूमिमा दिएका ज्ञानलाई वेदव्यासले भगवत गीताका रुपमा लेखेका हुन् ।

गीताको मुख्य ज्ञानलाई ४ प्रकारले व्याख्या गरिएको छ ।

कसैले यसलाई भक्तिका रुपमा हेर्छन् भने धेरैले कर्मका रुपमा । तेश्रो दृष्टिकोणले कर्तव्यलाई प्रमुख मानिएको छ भने चौथोले अध्यात्मकोरुपमा अथ्र्याएका छन् ।

आज भन्दा ५००० वर्ष अघि महाभारतको लडाइँ हुँदा कुरुक्षेत्रको युद्ध भूमिमा कौरव सेना र पाण्डव सेना एक अर्का सम्मुख उपस्थित थिए ।

आफ्नै काकाका छोरा दुर्योधनको कौरव सेनामा आफ्नै हजुरबुबा भीष्म पितामह लगायत बन्धु बान्धवलाई देखेर अर्जुन लडाई गर्न चाहँदैनन्, यी आफन्तहरु माथि कसरी शस्त्र प्रहार गर्न सक्छु र म भनी व्याकुल हुन्छन्, छट्पटाउँछन् ।

अर्जुनको रथका सारथी रहनु भएका भगवान श्रीकृष्ण अर्जुनलाई सम्झाउँदै भन्नुहुन्छ –

आत्मा कुनैपनि काल (समय) मा न जन्म हुन्छ न त मृत्यु । त्यो त न कहिले जन्मेको थियो, न कहिले जन्मेको छ वा जन्मिने छ । त्यो अजन्मा, नित्य, शाश्वत तथा प्राचीन छ । शरीर मरे पनि यो मर्दैन । तसर्थ, हे अर्जुन तिमी लडाई गर ।

न जायते म्रियते वा कदाचिन्
नायं भूत्वा भविता वा न भूयः ।
अजो नित्यः शास्वतोऽयं पुराणो
न हन्यते हन्यमानं शरीरे ।।

भगवान श्रीकृष्ण भन्नुहुन्छ– यस्तो कहिले पनि भएको छैन कि म नभएको थिएँ या तिमी नरहेका थियौ, अथवा यी समस्त राजाहरु नरहेका थिए, र भविष्यमा पनि हामी न रहनेछौं। अर्थात् हामी सदा थियौं, र सदा रहनेछौं, आत्मा कहिलेपनि मर्दैन ।

“न त्वेवाहं जातु नासं न त्वं नेमे जनाधिपाः ।
न चैव न भविष्यामः सर्वे वयमतः परम् ।।

भगवान श्रीकृष्ण अझै भन्नु हुन्छ अविनाशी, अप्रमेय शाश्वत जीवको भौतिक शरीरको अन्त्य अवश्यम्भावी छ-

अन्तवन्त इमे देहा नित्यस्योक्ताः शरीरिणः ।
अनाशिनोऽअप्रमेयस्य तस्मात् युध्यस्व भारतः ।।

अर्जुनलाई सम्झाउँदै श्रीकृष्ण भन्नुहुन्छ – जुन प्रकार शरीरधारी आत्मा यो (वर्तमान) शरीरमा बाल्यावस्था देखि तरुण अवस्था सम्म र फेरि वृद्धावस्था तर्फ निरन्तर अगाडि बढिरहेको हुन्छ, त्यसरी नै मृत्यु भएपछि आत्मा अर्को शरीरमा जान्छ । धीर व्यक्ति त्यस्तो परिवर्तनमा मोह गर्दैन ।

देहिनोऽस्मिन्यथा देहे कौमारं यौवनं जरा ।
तथा देहान्तरप्राप्तिर्धीरस्तत्र न मुहयति ।।

यदि मानिसको शरीर मात्र सबै थोक हुँदो हो त आत्माको कुरा आवश्यक नै हुने थिएन । मानिस जीवन मुक्त छ या मृत्यु मुक्त छ भन्ने नै आत्माका बारेमा हो ।

शरीर जीवात्मा हो – जन्मिन्छ, मर्छ ।

के भगवान साँच्चि नै हुनुहुन्छ त ? भगवानको र मेरो सम्बन्ध कस्तो हो ? मैले पूजा गरेर के हुन्छ ? नगरे के फरक पर्छ त ? म किन पूजा गर्छु ? म किन खुशी हुन्छु ? आखिर “म” भनेको को हो त ? मेरो शरीर, या मेरो मन ? आध्यात्मिक हुन धार्मिक हुनु पर्छ ? बिश्वमा कति धेरै धर्महरु छन्, तर के आध्यात्मिक सोच सबैका लागि चाहिन्छ ?

तर आत्मा अमर हुन्छ । प्रागभाव र ध्वंशभाव रहित आत्मा । अजर अमर आत्मा स्वयं अमृतको सन्तान हो, यो सूर्य झैं आलोकित छ र यसले अन्धकारलाई नाश गरिदिन्छ । यो आत्मज्ञान भएपछि मानिसले मृत्युलाई जितिदिन्छ (Transcends death), र मानिस मृत्युबाट मुक्त हुन्छ ।

आत्माले जीवन र मरणलाई साक्षी भावले हेरिरहन्छ तर त्यसको चिन्ता गर्दैन । यो नै मानिसको एक मात्र सत्य हो ।

भगवद् गीतामा भनिएको छ –

“नासतो विद्यते भावो नाभावो विद्यते सतः”

यो भनेको आत्मा सत्य, जगत मिथ्या ।

डोरीलाई सर्प भनेर झुक्किए जस्तै व्यक्तिले स्थूल शरीरलाई नै आत्मा भन्ठानेको हुन्छ ।

तर यथार्थमा आत्मा मात्र सत्य हो तर अन्य सबै मिथ्या हुन् ।

भगवद् गीताको दोश्रो अध्यायको १७ औं श्लोकमा श्री कृष्णले भन्नुभएको छ –

“अविनाशि तु तद्विद्धि येन सर्वमिदम ततम् बिनाशमत्तयस्यास्य न कश्चित्कर्तुमर्हति ।।”

यसको भावार्थ हुन्छ – आत्मा अविनाशि छ र यो सम्पूर्ण शरीरमा व्याप्त छ ।

आत्मालाई अझ बिस्तारमा बर्णन गर्दा उपनिषदमा भनिएको कुरा मनन् गर्नु उपयुक्त हुन्छ ।

तत् त्वम् असि

त्यो (आत्मा) तिमी नै हौ ।

धेरै बिदेशी विद्वानहरुले संस्कृतको गहिरो अध्ययन गरेका छन् । यिनमा म्याक्स मुलर, क्लश विट्ज, जोन आरापुरा, आर्थर शोपनआवर आदिले उपनिषदको अध्ययन गरेर केही पश्चिमा दर्शनसँग पनि दाँजेका रहेछन् । उनीहरु पनि सहमत छन् कि छान्दोग्य उपनिषदद्वारा प्रतिपादित “तत् त्वम् असि”को अवधारणाले विश्वका सबै मानिस र सबै जीव एकै र यस विश्वका अंश हुन् भन्ने जनाउँछ।

“एष आत्म हृदि ”
आत्मा हृदयमा हुन्छ

आत्मा हृदयमा हुन्छ तर व्यक्तिको हरेक अंगमा व्याप्त हुन्छ –फूलमा वासना हुन्छ तर फूलको वास्ना त सम्पूर्ण बगैंचामा व्याप्त हुन्छ नि ।

हो त – मैले कस्तो नबुझेको ।

प्रख्यात फ्रान्सेली दार्शनिक मिशेल फूकोले भनेका थिए – “सोल इज द प्रिजन अफ द बडी” अर्थात् – आत्मा शरीरको कारागार हो । यो दृष्टिकोण हाम्रो पूर्वीय दर्शन भन्दा फरक छ ।

पूर्वीय दर्शनले भन्छ – स्थुल शरीर भित्र सुक्ष्म शरीर र आत्मा छ – तर आत्मा स्वतन्त्र छ, मुक्त छ, अजर, अमर छ ।

किन फूकोले त्यसो भने त ?

यो भनाइ बुझ्न आधा पानी भएको गिलासलाई हेर्नु पर्छ – कसैले भन्छन् गिलास आधा खालि छ, अनि त्यसैलाई अरुले भन्छन् गिलास आधा भरि रहेछ ।

सन्दर्भ बुझ्नु उचित हुन्छ । कुरा एकै हो । फूकोले फ्रान्सको कारागार प्रणालीको अध्ययन गरेर त्यसो भनेका थिए ।

शासकको आत्माले उसको शरीर अर्थात् त्यसका निर्णयलाई प्रभावित गरेको हुन्छ । अमानवीय दण्डहरु तिनका दिमाग अथवा सचेतना अथवा आत्माका उपज हुन् । अनि अपराधिले पनि त आफ्नै आत्माको वशमा परेर शरीरलाई दुष्कर्म तर्फ प्रेरित गरेको हुन्छ नि ।

पीडित र पीडक दुबैका शरीर आ–आफ्ना आत्माका बन्धक ।

जर्मनीमा नाजीहरुको “कन्सन्ट्रेशन क्याम्प”लाई दुष्टताको पराकाष्ठाको रुपमा लिइएको थियो । त्यो दुष्टता पनि हिटलर र उसका सहयोगीको आत्माकै उपज पनि त थियो । व्यक्तिहरुलाई एकैपटक ३ रुपमा हेरियो – अपराधी, दुष्मन र कामदार । अनि सजाय, धृणा र शोषणको चरम रुप यातना र मृत्युलाई समेत उचित ठानियो । आत्मा शरीरको कारागार – दुष्ट विचार आत्माको उपज, कार्यान्वयन गर्ने हातहरु शरीर ।

मार्च २०१९ मा बनेको बृत्तचित्र “साइन्स अफ द सोल” हेरें । यसमा “SOUL” अर्थात् आत्मा के हो भन्ने बारे बैज्ञानिक तथ्यहरुको खोजी र पुष्टि गर्ने प्रयास गरिएको रहेछ ।

अमेरिकाका बिभिन्न अध्ययन प्रतिष्ठानका न्यूरो साइन्टिस्ट – मनोबैज्ञानिकहरुको खोजको सारांश – आत्मा छ । यो हुन्छ । सन् १९०७ मा डाक्टर डन्कन् म्याकडोगल को टोलीले मृत व्यक्तिको मृत्युपूर्व र मृत्युको तुरुन्त पश्चात नापेको वजनमा एक्काइस ग्राम कम देखियो रे । के आत्मा २५ ग्राम भन्दा कमको नाप्न सकिने बस्तु हो ? अध्ययन अझै जारी छ । मृत्यु पश्चात आफन्तहरुलाई सुनाइने गरुड पुराणले पनि आत्माको वर्णन गर्छ । तर बैज्ञानिक प्रमाण अझै उपलब्ध छैन ।

पूर्व जन्ममा दोश्रो विश्व युद्धताका सेनाको जहाज चलाउने व्यक्ति दुर्घटनामा मारिएका र हाल तिनको पुनर्जन्म भएको प्रमाणहरु उक्त वृत्तचित्रमा छ ।

म अचम्मित छु – हाम्रो पूर्वीय हिन्दु दर्शनमा आत्मा बारे यति बिस्तृतमा वर्णन गरिएको भएतापनि उक्त वृतचित्रमा यी ग्रन्थहरुको उल्लेखसम्म गरिएको छैन ।

यस बृत्तचित्रले त क्राइष्टपूर्व तेश्रो शताब्दीमा ग्रीसका अलेक्जेन्डर द ग्रेटले ग्रीक दर्शन पूर्वमा भित्र्याए भनेको रहेछ ।

शरीर खरानी बन्छ, आत्मा रहिरहन्छ । कहाँ रहन्छ ? अनुत्तरित प्रश्न ।

इजिप्सियनहरुले आफ्ना पूर्वजको शरीर “मम्मी” बनाएर “पिजर्भ” गरीराखे – आत्माका लागि घर दिएका हुन कि ?

क्रिश्चियन धर्मावलम्बीहरु भन्छन् – जिसस पुनः फर्कन्छन् – “रिसरेक्शन” ।

क्रिश्चियनहरु भन्दा रहेछन् शरीर र आत्मा दुबै मिलेर व्यक्ति बन्दछ – आत्माको छुट्टै अस्तित्व छैन ।

दार्शनिक दाँतेले भनेका थिए रे – आत्मा भूत बनेर रहिरहन्छ ।

सत्रौं शताब्दीका दार्शनिक डिकार्टिसले भनेछन् – “म सोच्छु, त्यसैले म छु” के आत्मा मस्तिष्कमा छ ?

दार्शनिक एपिकुरसले भनेछन् – आत्मा स–साना कणहरुका रुपमा ब्रम्हाण्डमा छरिएर बस्छ ।

वृत्तचित्रले एकैसाथ मलाई आशा, त्रास र उद्विग्नता दियो ।

आशा किनभने विज्ञानले गरेको आत्माको खोजीको प्रयोग “आर्टिफिसियल इन्टेलिजेन्स”का माध्यमबाट प्राणी हितका लागि प्रयोग गर्न सकिन्छ, रोबोटिक्सका माध्यमबाट धेरै जटिल कामहरु गराउन सकिन्छ ।

त्रास किनकि त्यस्तो इन्टेलिजेन्सको प्रयोगले मानव जातिकै संहार पनि त गर्न सक्ला नि ?

अनेक प्रकारका “बायोलजिकल” र “केमिकल” र “आणविक” युद्धबारे हामी दैनिक पढ्छौं, सुन्छौं ।

हिरोशिमा, इराक, सिरिया अरु कति कति, सोच्दै डर लाग्छ । भोलि “आत्मिक अश्त्र” प्रयोग नहोला भन्ने के छ र ?

अनि मेरो उद्विग्नता केका लागि?

हजारौं वर्ष पुराना ज्ञानहरुको सम्मिश्रण किन नभएको? किन पूर्व र पश्चिमका बीच यति ठूलो खाडल? किन ज्ञानको निषेध? किन होडबाजी?

कहीं पुग्नलाई प्रष्ट गन्तव्य चाहिन्छ, बनेका बाटाहरु पछ्याउँदै, नयाँ बाटाहरु बनाउँदै अगाडि बढ्नुपर्छ। भएको भत्काउने या आँखा चिम्लिने, वास्ता नगर्ने गरेर हामी कहाँ पुग्छौं त?

कवि अभि सुबेदीको हाइकु सम्झें:

भत्केको पुल, रातो पुल
कालो पुल, नीलो पुल सबै तरें
कहीं पुगिएन।

भदौ १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्