भारतको सर्वोच्च अदालतले राम जन्मभूमिको फैसला गरी राम मन्दिर बनाउन भारत सरकार तम्तयार भएकै बेला यता नेपालका प्रधानमन्त्रीले पर्साको ठोरी अयोध्या हुनसक्ने कसैले नसोचेको र कल्पना पनि नगरेको विषयको विजारोपण गरिदिए। हुन त यो विजारोपणको हाँगो यसो जमिन खोस्रिएर फुस्स गाडी टोपलेको हो कि साँच्चिकै विरुवा रोपेको हो, त्यो त समयले देखाउला । यो उम्रन्छ वा उम्रदैन, फल्छ वा फल्दैन, त्यो त सुदुर कुरा भयो। राम र अयोध्याको यो अचानकको प्रस्फुटन कुनै ऋषि, योगी वा सन्तले अन्तरध्यान भई तुरीय अवस्थामा पुगेर देखेको कुरा नभई एउटा कम्युनिष्ट नेता र प्रधानमन्त्रीले द्विपक्षीय सम्बन्ध–बिग्रेका बेला ल खा त, लु जा त भनेर सेखी झारेको विषय बढी हो कि भनेर अर्थ्याउन पनि सकिन्छ र समय बलवान भएकोले कतै ढुंगो पनि टुसाउला कि! हुन त हाम्रा प्रधानमन्त्रीको यो विषयमा उनकै पार्टीका वरिष्ठ र शक्तिशाली नेताले शब्द फिर्ता लिन र आत्माालोचना गर्न भनिसकेको तर त्यो विषय राजनीतिक खिच्चातानीमा त्यसै सेलाएको पनि हामीले देख्यौँ।

बुद्धबारे दक्षिणपट्टीबाट बेलाबेला बोल्ने गरेको भ्रमपूर्ण र मिथ्या वाणीको रेसिप्रोकलमा यताबाट प्रधानमन्त्रीले पनि ‘जस्तालाई तस्तै’ वाण हानेका हुन् कि?अब भारतसँग सम्वाद सुरु हुँदैछ तर समस्या पनि थुप्रिदैछ, बुझ्दै गइएला के रहेछ त कुरा भनेर । तर प्रश्न यति सस्तो मजाकको चाहिँ छैन र यताका प्रधानमन्त्री र उताका परराष्ट्रमन्त्रीको भनाइ मात्रको कुरा होइन, समस्त प्रवृति र स्वार्थको हो जसका कारण परापूर्वकालदेखि नै अध्यात्म, धर्म, संस्कृति र सद्भावलाई भुंग्रोमा हाल्न वा घानमा पिस्न खोज्नेहरुले संवेदनशीलता, कुटनीति र सनातन मर्यादाहरु भुल्दै विश्वास र भावनामा दखल पनि पुर्‍याउँछन्।

अध्यात्म बुझेको र अभ्यासीले राजनीति गरे कुटिल हुँदैन, भ्रम र स्वार्थ देखिँदैन त्यति । तर राजनीति मात्र गर्नेले अध्यात्म तथा धर्म मिसाउन खोज्दा चालढाल मिल्दैन। नक्कली नै देखिन्छ।

शायद भारतले नाकाबन्दी नलगाएको भए, सिमा विवाद यसरी अगाडि नआएको भए, सत्तासीन कम्युनिष्ट पार्टीको आन्तरिक किचलो यति बिघ्न नलम्बिएको भए अयोध्याको एउटा नयाँ हाँगो जमिनमा गाडिने थिएन होला। किनकि नदेखेको र नरोपेको बोटवृक्षको चाहना हुने थिएन होला। दोष दक्षिणको छिमेकीको बढी छ, यो फसल रोप्ने मेलोमेसो मिलाउन र घामपानी जुटाउनमा । अचानक धमसंस्कृतिप्रति आस्था जागेर अयोध्या खोज्न हाम्रा प्रधानमन्त्री लागेका हुन् भने त यो अलौकिक विषय भयो र भोलि अचानक सबै कुरा छोडेर गहिरो ध्यानमा जान पनि बेर लाग्दैन।
नत्र यो कोरोना महामारी, समस्यैसमस्या, भ्रष्टाचार र बेथितिविरुद्ध सुशासनको पक्षमा समय खर्चिनु पर्नेमा कहाँबाट यो सोचले जन्म लियो? तर वामदेव गौतमजीले हाम्रा प्रधानमन्त्रीको सोच र चासो हेर्दै गरेको रहेछ भनेर बुझ्नु पर्ला।

अब बुद्ध र रामबारे केही कुरा राख्ने पंक्तिकारको जमर्को छ अहिले यहाँ। हुन त छिमेकीको हेपाइमा मुलुक त परेकै छ र त्योसँगै उग्र राष्ट्रवादको घानले बोल्न र लेख्न पनि डराउनु पर्ने र सोच्नु पर्ने अवस्था पनि छ। तर यथार्थलाई लुकाउन र छिपाउनचाहिँ कठिन नै पर्छ। अलिकति कुराकानी गर्नै पर्‍यो।

हामीले बुझेको, पढेको र थाहा पाएको कुरा के हो भने बुद्ध लुम्बिनीमा जन्मिए, उनमा युवा अवस्थामा शुरु हुँदै वैराग्य आयो र घर छोडेर हिँडे। त्यसरी हिँडे पछि विभिन्न स्थान हुँदै, विभिन्न साधना र गुरुहरु हुँदै उनी बोधगयामा एक्लै पिपलको रुख मुनि ध्यानमग्नभए र निर्वाण प्राप्त गरे।

त्यो ज्ञान बाँड्न तथा सिकाउन उनी पहिला सँगै देहदण्डको साधना गरेका कौडण्य लगायत ५ भाइ खोज्दै अन्तरदृष्टिबाट उनीहरु सारनाथ (वनारस) मा रहेको थाहा पाएर त्यहा गए र प्रथमपटक आफ्नो उपलब्ध ज्ञान– साधना उनीहरुलाई सिकाए। यही नै बुद्धको धर्म चक्र प्रवर्तन हो। त्यस पछि वुद्ध हालको भारतको विहार प्रान्तका विभिन्न ठाउँहरु वैशाली, जेतवन आदीमा विहार गर्दै, साधना सिकाउँदै, धर्म देशना दिँदै अन्त्यमा कुशीनगरमा देह त्यागे। मुख्य रुपमा लुम्बिनी, सारनाथ, बोधगया र कुशीनगर बुद्धको जीवनका महत्वपूर्ण स्थान हुन् र यिनलाई बुद्ध सर्किट भनिन्छ । यो विषयमा कसैले तलमाथि कुरा गर्नु भनेको भ्रम सिर्जना गर्नु, सद्भाव बिगार्नु र कपटी बन्नु हो। बुद्धमाथिको अपमान पनि हो त्यो। बुद्ध आजभन्दा करिब २५६० वर्ष अघि जन्मनु भएको र त्यस बिचमा कतिपटक राज्यहरु टुक्रने, बन्ने र गाभिने पनि भए होलान्। अहिलेको अवस्थामा लुम्बिनी नेपालमा छ र बाँकी तीन ठाउँ भारतमा पर्छन्। यसमा विवाद गर्नु पर्ने के छ? बुद्ध बारेमा भन्नु पर्दा ठाउँको महत्व आफ्नो ठाउँमा छ, तर त्यो भन्दा महत्वपूर्ण कुरा, मावन कल्याणको कुरा उनका धर्म देशना, साधना र उनले सिकाएको अहिंसा, सत्य र करुणाको मार्ग हो।

अब रामको कुरा गरौँ। राम विश्वभरिका हिन्दुहरुको आस्था र विश्वासको भगवान हुन्। राम भगवान, अवतार, भाव अनुसार। ‘जय श्रीराम’ ‘रामनाम सत्य हो’ ‘जय सियाराम’ सबै हिन्दुहरुको मुखमा छ। आपत पर्दा निस्कने शब्द पनि राम, राम हो। कसम खाँदा पनि ‘राम कसम’ भनिन्छ। राम मान्यता, विश्वास र आस्था हो। यो अलौकिक शक्ति र त्यसको नाम पनि हो। बुद्धको आगमन लौकिक रुपमा नै प्रस्ट छ, स्थानहरु पनि स्पष्ट छन्। रामबारे भने ऐतिहासिक, धार्मिक साहित्य र शास्त्र छन्, मन्दिरहरु छन्, गुफाका नाम छन्, वन, खोला, किनार, पर्वतका नाममा पहिचानहरु छन्।

बुद्धको जस्तो स्पष्ट स्थान र चिनारी चाहिँ छैनन्। किनकी रामको समय त्रेता युगको हो। यो काल कृष्ण काल भन्दा धेरै अगाडिको हो। कृष्ण काल द्वापर युगको हो र त्यो पनि पाँच हजार वर्षे भन्दा कमको युग होइन। राम काल त दशौँ हजार र अझै भनौ लाखौँ वर्ष अगाडिको पनि हुन सक्छ। यसै भन्न सक्ने अवस्था छैन। शास्त्र मान्ने र युग काल गणना शास्त्रीय हिसाबले मान्ने हो। हामीले मानि आएको, विश्वास र आस्था गरेको कुरा हेर्ने हो भने राम दशरथका छोरा तथा राजकुमार हुन र सीता जनकको छोरी । राम अयोध्याका र सीता जनकपुरकी । हालसम्म पनि अयोध्या – भारतबाट नेपालमा रामको जन्ती आउने गरेको र सबै हिन्दुहरुमा त्यो मान्यता र विश्वास दृढ भएर बसेकोले यो मान्यतामा अहिले प्रश्न गर्नु, अविश्वास गर्नु र अरु थोक खोज्नु कति जायज विषय छ ?

यो कुराले सँस्कृति, धर्म, आस्था, सद्भाव र सामुहिक विश्वासलाई बिगार्छ कि सपार्छ ? यो विवादको निरुपण गर्ने कसले ? जनताका आधारभूत समस्या पन्छाएर यसरी पछि लाग्ने ? कतिञ्जेल पछि लाग्ने ? यी प्रश्नहरु सोचनीय र गम्भीर छैनन् र ?

हाम्रो धार्मिक मान्यता, आस्था, विश्वास र रितीथिती सबै सद्भावमा आधारित छन् र पुरातन छन्। धर्म–सँस्कृति देशको सिमारेखामा बाँधिएको वा छेकिएको हुँदैन। भारत र नेपाल दुवै मन्दिरै मन्दिरका देश हुन्। दुवै देशतर्फ असंख्य भगवान, देवता, नाग, यक्ष सबै साझा छन्। गुरुहरु पनि साझा नै छन्। धर्म, संस्कृति, आस्था, विश्वास र मान्यतामा चलेको र यो सुक्ष्म विषय पनि भएको हुँदा राजनीतिले यसलाई प्रयोग गर्न खोज्दा अमृत भन्दा विषवृक्ष उम्रने डर हुन्छ। प्राचीन समयदेखि यो भूमिमा यति धेरै मन्दिर, मठ र मुर्तिहरु बनाइए कि प्राय जता खोदन गरे पनि केही न केही भेटिन्छ र यसलाई लिएर विवाद गर्ने हो भने विवादै विवाद मात्र हुन्छ। मुख्य कुरा शास्त्र, मान्यता विश्वास र रितीस्थिति नै हो। हामी कृष्णलाई पुरुषोत्तम, रामलाई मर्यादा पुरुष र सिद्धार्थ गौतमलाई वृद्ध पुरुष मान्छौँ। यी सबै विकार रहित चेतनाका अवस्थाका रुप हुन्।

रामले जीवनमा एउटा मर्यादाको प्रदर्शन गरे, दुखकष्ट सहन गरे, विचलित भएनन्। त्यसैले उनलाई मर्यादा पुरुष र उनको स्वरुपलाई रामराज्य भनिन्छ। तर कृष्णको पृथक व्यक्तित्व छ। उनको लिला जन्म भयो, जन्मँदै भगवान। महाभारत जस्तो भयानक युद्ध नायक र गीताजस्तो महान ज्ञानग्रन्थका स्रष्टा भए उनी । कृष्ण सबै दैवी गुण र कला युक्त थिए। धर्नुधारीमा म राम हुँ भने उनले।
जलचरबाट हुँदै उच्च शक्ति, कला र चेतना सम्पन्न मानव आकृतिमा देखा परेको छ ईश्वर वा भगवान। वुद्ध पनि विकार नष्ट गरेर उर्जाको रुपान्तरणबाट चेतनाको पराकाष्ठामा पुगेको अवस्था हो। राम र वुद्ध दुवै अध्यात्मका उत्पादन हुन् । कृष्ण, राम, वुद्ध सबै व्यक्तिभन्दा तत्व हुन्, गुण आचरणका श्रेष्ठतम अभिव्यक्ति हुन्। राजनीति गर्नेहरु द्वन्द्व, हिंसा, स्वार्थ र चालबाजी – रणनीतिमा हुन्छन्। राजनीति बेहोस र हतारमा छ। अध्यात्म भने शान्त भाव र स्थीरताको अभ्यास हो। गुण र प्रयोजनको हिसाबले पनि अध्यात्म र राजनीतिमा मिसिन्छ।

अध्यात्म बुझेको र अभ्यासीले राजनीति गरे कुटिल हुँदैन, भ्रम र स्वार्थ देखिँदैन त्यति । तर राजनीति मात्र गर्नेले अध्यात्म तथा धर्म मिसाउन खोज्दा चालढाल मिल्दैन। नक्कली नै देखिन्छ।

धर्मसंस्कृति नै नमान्नेहरुले धर्म र संस्कृतिको प्रवद्र्धन गर्लान् र? उपयोग चाहिँ गर्न सक्छन् आफ्नो स्वार्थमा । अध्यात्म तथा मानव जातिको इतिहासको २० लाख वर्षको चेतनाको उपलब्धि हो। यो विषयलाई हल्का रुपमा लिनु हुँदैन । त्यसैले अध्यात्म, धर्म र संस्कृतिलाई बुझ्न सोही अनुरुपको विद्याको ज्ञान र साधना चाहिन्छ। शास्त्र, धर्म, संस्कृति र सद्भावको गहिरो सम्बन्ध र साझा विश्वास मान्यतामा बाँधिएको दुवै देशका जनतालाई ठेस लाग्ने र सद्भाव बिगार्ने काम कसैबाट पनि हुनुहुँदैन, भ्रम छर्ने र उत्तेजित बनाउने काम कसैको हितमा छैन। लुम्बिनि, अयोध्या सबै आ– आफ्ना सुर र लहरमा बनाउँदै जाने हो भने ‘राम’ ‘बुद्ध’ ‘कृष्ण’ ‘शिव’ पनि आ–आफ्ना बनाउनु पर्ने हुन्छ। अनुहार, मोटाइ, उचाईमा पनि विवाद खडा गर्दै जालान्। अहिलेको यो अफ्ठेरो परिस्थितिमा समस्या होइन समाधानहरु खोज्न आवश्यक छ।

भदौ १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्