अनि मेरी छोरीको जीवन बदलियो

जिज्ञासा सानो हुँदा जन्मजात नै घाँटीमा प्वाल छ। उसलाई त्यो घाँटीको घाउले धेरै नै दुःख दिइरहेको छ। घाउबाट बेलाबेलामा पानी बगिरहन्छ। घाउको उपचारको लागि सधैजसो औषधीहरू खान परिरहन्छ। शायद यसको असर उसको सुन्न सक्ने शक्तिमा पनि पर्न गएको छ। जति ठूलो हुँदै गई उति सुन्ने शक्ति पनि कम हुँदै गयो। सानै हुँदा उसले सुन्न कम भएको कुरा मैले थाहै पाउन सकिन। नानु २ बर्षको हुँदा मलाई उसको कानको सुन्ने शक्ति कम भएको हो कि जस्तो महसुस भयो। त्यसपछि टिचिङ हस्पिटल गएर जचाउँदा डाक्टरले उस्को कानको नसा सुकेको छ भन्नु भयो।

त्यस पछिका दिनहरु बित्दै गए। नानु ठुली हुँदै जाँदा पनि बोल्न राम्रोसँग आउँदैन थियो। ऊ राम्रोसँग नबोल्ने भएको देखेर सारै दुःख लाग्थ्यो। स्कूल भर्ना गर्ने बेला भइसकेको थियो। ऊ तीन बर्षको भएपछि अब जसरी भएपनि स्कूल भर्ना गर्न पर्छ भनेर स्कूल खोज्न थाले। तर नानु राम्रोसँग नबोल्ने, नसुन्ने र नबुझ्ने भएको कारणले कुनै स्कूलहरूले पनि भर्ना गर्न मानेनन्। तैपनि एउटा स्कूलमा अनुरोध गरेर भर्ना त गरेर हेरौँ भनेर भर्ना गरिदिए। स्कूल जान थालेपछि भने नानुले राम्रोसँग सुन्न र बोल्न नसके पनि पढ्न भने सकिन्। पास पनि हुँदै गई।

अहिले एक बर्ष अगाडि (सात वर्षको हुँदा) मात्र मैले नानुलाई हेरिङ एड किनेर दिन सकेँ। हेरिङ एड लगाउन थालेपछि नानु अहिले सुन्न र राम्रोसँग बोल्न सक्ने भएकी छिन्। म पनि साह्रै नै खुशी छु नानुमा आएको परिवर्तनलाई देखेर। अब त उनि सबै बुझ्छिन्, तर अलि अप्ठ्यारा शब्दहरू स्पष्टसँग सुनेर बोल्न उसलाई अझै पनि गाह्रो हुन्छ। साथै उसको घाँटीको प्वाल समय समयमा संक्रमित भई पानी बगिरहन्छ।

सानो बेलामा उसलाई धेरै नै गाह्रो भयो। ऊ सधैँ एक्लै हुन्थी। कान कम सुन्ने भएकाले साथीहरु पनि ऊसँग कुरा गर्न खेल्न नआउने। साथीहरुले माया गरेनन् भनेर घरमा आएर धेरै नै रुन्थी। अहिले भने हेरिङ एड लगाएपछि एकदम राम्रो भएको छ। हेरिङ एडले गरेको फाइदाले म छक्कै परेकी छु। स्कूलमा पनि बिभिन्न खेलहरु जस्तैः दौड, स्वीमिङ, डान्स, आदिमा पनि भाग लिन थालेकी छे। उसको सबैमा राम्रो भैरहेको छ। विशेष गरी उसले डान्स धेरै मन पराउँछे।

नानुमा आएको जिन्दगीको परिवर्तन देखेर आजभोलि म पनि धेरै खुशी छु। यो हेरिङ एडले नै गरेको परिवर्तन हो। अझ समयमा नै, सानै बेला देखि नै, उसलाई हेरिङ एड लगाईदिन सकेको भए उसलाई गाह्रो नभइ उस्को साधारण अन्य सुन्ने बच्चाहरू सरह विकास हुने थियो। तर हाम्रो आर्थिक अवस्थाको कारणले हेरिङ एड किनेर दिन सकिएन।

(श्रेष्ठ सुस्त श्रवण छोरीकी आमा हुनुहुन्छ।)

भदौ १३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्