पहिचानको सङ्कटमा नेपाली चलचित्र

कोभिड-१९ पछि नेपाली चलचित्र पहिलाको जस्तो सामान्य स्थितिमा फर्कन निःसन्देह केही समय लाग्नेछ। नयाँ परिस्थितिको सामना गर्दै नेपाली चलचित्रले त्यस शून्य समयमा प्राथमिकताका साथ विमर्श गर्नुपर्ने विषय नेपाली चलचित्रको पहिचानको विषय हो। यो नयाँ विषय बिलकुल होइन र यो बहस सुरु भएको केही समय भइसकेको छ तथापि मूर्त रूपमा पहिचान स्थापित गर्ने आधारहरूको निर्धारण र प्रयोग गर्न नसक्दा बिषयान्तर भएको देखिन्छ। “पहिचान”  सम्भवतः समाजशास्त्रीय सिद्धान्तको जटिल शब्दावली मद्येको एक शब्द हो। चाहे त्यो ब्याक्तिगत अथवा संस्थागत पहिचानको सवाल होस वा विषयगत। पहिचानका केही ठोस आधारहरू हुन्छन् र यो दार्शनिक सिद्धान्तसँग जोडिएको हुन्छ। अति दार्शनिक आदर्शतिर केन्द्रित हुँदा पहिचानको परिभाषा बुझ्न गाह्रो हुने भएकोले यस लेखमा सरल र प्रयोगात्मक पक्षसँग जोडेर नेपाली चलचित्रको पहिचानको विषयमा चर्चा गरिनेछ।

चलचित्र(को) पहिचानको कुरा गर्दा उस्तै जस्तो लाग्ने तर बिलकुल फरक विषय हो चलचित्र(मा) पहिचानको मुद्दा। कहिलेकाहीँ यी दुई फरक विषय बस्तु मिसाएर वा अस्पष्ट तरिकाले व्याख्या गर्दा भ्रम पैदा हुने गर्दछ। चलचित्रमा दलित, मधेसी, आदिवासी, जनजाति, महिलाका विषयमा पहिचानको कुरा उठाउनु चलचित्र(मा) पहिचानको विषय उठान गर्नु हो। नेपाली चलचित्रमा हाम्रो समाज सँग जोडिएका पहिचानका विषयहरूलाई घनिभूत रूपमा प्रस्तुत गरिनु पर्छ जसले कालान्तरमा गएर नेपाली चलचित्रको पहिचान निर्माण गर्ने आधार प्रस्ट गर्न सक्छ। त्यसरिनै चलचित्र(को) पहिचान निर्माण गर्ने केही आधारहरू चाहिँ विषय बस्तुगत, प्राविधिक र संरचनागत हुन्छन्।

चलचित्रलाई अलि माया गर्ने र यसप्रति लगाव भएका दर्शकले यो कुन देश वा क्षेत्रमा बनेको चलचित्र हो भनेर सहजै अनुमान गर्न सक्छन्। बिषेशत हलिउड, युरोप (बेलायत, जर्मनी, फ्रान्स र इटाली), रसिया, इरान, जापान, कोरिया, चीन र भारतमा बन्ने चलचित्रको आफ्नो पहिचान छ र हामी ती क्षेत्रमा बनेका चलचित्रलाई बिना प्रयत्न पहिचान गर्न सक्छौँ। यो कसरी सम्भव भयो र नेपाली चलचित्रलाई त्यसरी नै चिनिन सक्ने बनाउन के गरियो र गर्नु पर्छ भन्ने सवाल नै हाम्रो पहिचानको मुद्दा हो।

नेपाली चलचित्रको पहिचान निर्माण गर्न महत्त्व दिनु पर्ने पहिलो विषय हो “दृश्य भाषाको” निर्माण। गैर चलचित्र क्षेत्रका पाठकले पनि बुझ्ने गरी भन्दा “दृश्य भाषा” भन्नाले कुनै विषय, प्रसङ्ग वा बस्तुको अर्थ या दृष्टिकोण प्रस्तुत गर्न प्रयोग गरिने दृश्य चित्रको संयोजन हो। यस्का चार वटा आधारभूत तत्त्वहरू हुन्छन्। पहिलो दृश्यांश (सट) दोस्रो दृश्य अनुक्रम (सट सिक्वेन्स) तेस्रो दृश्य स्थल (सिन) र घटनानुक्रम (ड्रामाटिक सिक्वेन्स)। यी तत्त्वहरूको अर्थपूर्ण संयोजन बाट कुनै पनि देशका सृजनशील कला निर्देशक, सिनेम्याटोग्राफर र निर्देशकले आफ्नो परिवेश, भाषा, धर्म र संस्कृति अनुरूपको दृश्य भाषा निर्माण गर्न सक्छन्।

भाषिक बिचार र दृष्टिकोणले भन्दा दृश्य भाषाले प्रस्तुत गर्ने कथा वाचन बढी लोकप्रिय र स्वीकार्य हुन्छ। उदाहरणका लागि हामीले दैनिक जीवनमा गर्ने केही क्रियाकलापहरू विशुद्ध हामीले मात्र गर्ने मौलिक र प्राकृतिक प्रारूपका हुन्छन्। घाँटी छोएर हात फुक्नु, पञ्चाम्रित खाएर कपालमा हात पुछ्नु, उल्टिएको चप्पललाई हतार-हतार सुल्टाउनु, घरबाट निस्कने बेलामा खालि भाँडा, गाग्री देख्दा निराश हुनु, बिरालोले बाटो काट्दा थुक्नु जस्ता कैयौँ उपेक्षा गरिएका क्रियाकलापको चलचित्रमा निरन्तर प्रयोग र कुशल संयोजनले हाम्रो दृश्य भाषा निर्माणमा योगदान गर्न सक्छन्।

दृश्य भाषाको निर्माण सँग जोडिएको एउटा पक्ष हो सांस्कृतिक पहिचानका विषय, बिम्ब र प्रतीकहरूको प्रयोग। उदाहरणको लागि हामीले नेपाली चलचित्रमा देखाउने भूत या त बलिउड स्वरूपको सेतो कपडा लगाएर मैन बत्ती बोकेको हुन्छ या त हलिउडको कुरूप र कुच्चिएको अनुहार भएको डेभिल स्वरूपको। हाम्रा भूतका स्वरूपहरू आफ्नै छन्। मसान, लाखे, मुरकुटा, मुकुन्डो, घण्टाकर्ण (गठे मङ्गल) आदिका स्वरूपमाथि अलिकति खोज र अनुसन्धान गरेर चरित्र निर्माण गरिएका राक्षस र प्रेतात्मा हरूको प्रयोगले त्यस विद्याका हाम्रा चलचित्रलाई प्राङगारिक पहिचान दिलाउन मद्दत गर्छन्।

त्यसरी नै नेपाली चलचित्रमा प्रयोग हुने भाषाको स्तर र भाषिक शुद्धता, संवादको गहनता र प्रभाव पुनरावलोकन नगरी नहुने पक्ष हो। हामीलाई भाषाले पनि चलचित्रको पहिचान निर्माण गर्छ भन्ने कुरा बिश्वास नै छैन। हाम्रा धेरै जसो मूलधारका चलचित्रमा ककटेल भाषा (नेपाली, हिन्दी र अङ्ग्रेजी) मिसाएर दर्शकलाई खुकुलो गरी कथासँग बाँध्ने कोसिस गरिन्छ र त्यो खुकुलो डोरी जति बेला पनि फुस्कन सक्छ अर्थात् दर्शकको ध्यान विचलित हुन पुग्छ।

नेपाली चलचित्रमा प्रयोग हुने भाषाको स्तर र भाषिक शुद्धता, संवादको गहनता र प्रभाव पुनरावलोकन नगरी नहुने पक्ष हो। हामीलाई भाषाले पनि चलचित्रको पहिचान निर्माण गर्छ भन्ने कुरा बिश्वास नै छैन। हाम्रा धेरै जसो मूलधारका चलचित्रमा ककटेल भाषा (नेपाली, हिन्दी र अङ्ग्रेजी) मिसाएर दर्शकलाई खुकुलो गरी कथासँग बाँध्ने कोसिस गरिन्छ र त्यो खुकुलो डोरी जति बेला पनि फुस्कन सक्छ अर्थात् दर्शकको ध्यान विचलित हुन पुग्छ।

आज इरानी चलचित्र संसारभर मन पराएर हेरिन्छ। अब्बास किरोस्तामी, माजिद माजिदि, समिरा मखमलबाफ जस्ता निर्देशकले इरानी चलचित्रको पहिचान निर्माण गर्ने एउटा महत्त्वपूर्ण आधार गहकिला र मिठा संवादलाई बनाइदिए। अमेरिकी चर्चित चलचित्र समालोचक रोजर एबटले भनेका छन्, “इरानी चलचित्रमा प्रयोग हुने भाषिक सुन्दरताले विचलित मन र मस्तिष्कलाई शान्ति प्रदान गर्छ”।

चलचित्रको पहिचान सँग जोडिएको अर्को पाटो हो हाम्रो समाज र देशको पहिचान। नेपाललाई सगरमाथा, बुद्ध र गोर्खालीहरूको देश भनेर चिनिन्छ। पराधीनता नभोगेको विश्वका थोरै स्वतन्त्र देश हरू मद्येको एउटा देश हो नेपाल। हामीसँग पराजित मानसिकता र औपनिवेशिक भावनाको आत्म पिडा छैन। यही पहिचानलाई चलचित्रले आत्मासाथ गर्न सकेन भने देशको मर्म र भावना कलाले प्रतिनिधित्व गर्न नसकेको बुझिन्छ। विश्वका दुई ठुला चलचित्र बजारहरू चिन र भारत सँग हाम्रो सास्कितिक, धार्मिक र वैवाहिक ईतिहाँस ( स्रङ्चनगम्पो र भृकुटी तथा राम र सिता) को वैवाहिक सम्बन्ध जोडिएको कुराले हाम्रो लागी विशाल बजारको ढोका खोल्न सक्छ। हाम्रा मन्दिरका टुँडाल, विश्व सम्पदा सूचिमा रहेका स्थल, मन्दिरका आकृति, पहाड, तराइ र हिमाल, धर्म र संस्कृति कुनै न कुनै रूपमा चलचित्रमा चित्रण गरेर नेपाली मौलिकता र पहिचानको आधार तयार गर्न सकिन्छ।

आधुनिक नेपाली समाजको अर्को विशेषता प्रवासी जीवन बनेको छ। हरेक सहर, गाउँ, दूर दराजबाट प्रत्येक जसो परिवारका सदस्य रोजगारी अथवा अध्ययनको सिलसिलामा विदेशमा छन्। त्यसको प्रत्यक्ष वा परोक्ष रूपमा देखिने पारिवारिक, सामाजिक आर्थिक र मनोवैज्ञानिक प्रभावको प्रतिनिधित्व र चित्रण बिना नेपाली चलचित्र पूर्ण हुन सक्दैन। आजको हाम्रो समाज लगभग सबै हिसाबले यही सामाजिक यथार्थको चक्कर लगाइ रहेको छ। यो डायस्पोरिक सेन्टिमेन्टको सुन्दर र यथार्थ चित्रण नेपाली चलचित्रको पहिचान निर्माण गर्ने एउटा मानक बन्न सक्छ।

नेपाली चलचित्रको पहिचानको अर्को आधार कथा वाचनको शैली, संरचना र स्वरूप हुनु पर्दछ। हामीले प्रयोग गर्ने कथा वाचनको शैली सयौँ वर्ष पुरानो प्रारम्भ,  मध्य र अन्त्य शैलीनै हो। यो भन्दा अलि आधुनिक शैली प्रयोग गरी हाल्यौ भने स्मरण(फ्लासब्याक) र अग्रावलोकन (फ्लास फर्वड) शैली प्रयोग गरी रहेका छौ। हाम्रा लोककथा, लघुकथा, काव्य, महाकाव्य, मिथक, पुराण आदि बिलकुल फरक संरचनाका कथा हुन र यी कथाहरूको वाचन शैली र कथन पनि फरक हुन्छ। हाम्रा चलचित्रले यी कथाका वाचन शैली अनुसरण गर्न सक्ने हो भने पहिचान निर्माणमा कोशे ढुङ्गा साबित हुन सक्छ। समकालीन फिलिपिनो निर्देशक लाभ डियाजको कथा प्रस्तुतीकरणको शैली अनौठो छ। उनका सामान्य लम्बाई का चलचित्र ४ देखि ५ घण्टाका हुन्छन् र बढीमा ८ घण्टा सम्मका हुन्छन्। उनको यो कथन शैली विश्व प्रख्यात छ। उनकै कारणले फिलिपिन्सका चलचित्र संसारभर हेर्न थालिएको छ।

चलचित्रको पहिचान निर्माण गर्ने अर्को आधार प्रविधिको उच्चतम प्रयोग गरेर तय गर्न सकिन्छ। क्यामेराको मौलिक एङ्गल, कलरको करेक्सन र ग्रेडिङ, आर्टिफिसियल ईन्टलिजेन्सको प्रयोग आदिले हलिउडलाई हामीमाझ परिचित गरेको छ तर नेपाल जस्तो सीमित स्रोत र साधन भएको देशमा यस्ता प्रविधि प्रयोगको सम्भाव्यता विचारणीय हुन्छ। हामीले प्रविधि भन्दा सृजनात्मक प्रस्तुतिमानै महत्त्व दिँदा राम्रो हुन्छ। इरानी चलचित्रको अर्को पहिचान हो कम खर्चमा चलचित्र बनाउनु जस्कोलागि उनीहरू प्राकृतिक प्रकाशमा छायाङ्कन गर्छन्। हामीले पनि यस्तै केही सृजनशील शैलीको विकास गर्न जरुरी छ।

हाम्रा केही चलचित्रहरू सुन्दर बनेका छन्। केहीले अन्तर्राष्ट्रिय बजार राम्रैसँग प्रसंसा पाएका छन्। अझ कहिले अन्तर्राष्ट्रिय पुरस्कारहरू जितेर नेपालको प्रतिष्ठा र सिर उच्च बनाएका छन्। तर फरक धार, प्रविधि, कथाबाचन र कथावस्तुका बाबजुद नेपाली चलचित्र कर्मीहरू बिचको समन्वय अभावमा साझा दृश्य भाषाको निर्माण हाम्रो प्राथमिकतामा पर्न सकेको छैन। नेपालमै चल्ने वा अन्तर्राष्ट्रिय बजारमा प्रदर्शन अथवा प्रतिस्पर्धामा जाने चलचित्रहरूमा कथा बस्तु, भाषा, विषय वा संरचना आदिमा एकरूपता ल्याउन सके हाम्रो चलचित्रको पहिचान निर्माणको यात्रा सहज र सुनिश्चित हुने थियो।

भदौ १४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्