बढ्दो हिंसालाई लिएर ट्रम्प र बाइडेनबिच वाक–युद्ध

अमेरिकाको पोर्टल्याण्डमा भएको हिंसालाई लिएर राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका डेमोक्र्याटिक प्रतिद्वन्दी जो बाइडेनबिच वाक–युद्ध चलेको छ ।
ओरिकगन राज्यको पोर्टल्याण्डमा रंगभेदविरुद्ध प्रदर्शन गरेका ब्ल्याक लाइभ्स म्याटरका प्रदर्शनकारी र ट्रम्पका समर्थकबिच झडप भएको थियो । त्यसक्रममा गोली चल्दा एकजनाको ज्यान गएको छ ।
राष्ट्रपति ट्रम्पले पोर्टल्याण्डका डेमोक्र्याटिक मेयर टेड ह्वीलरलाई आफ्ना शहरमा हिंसा र हत्यालाई स्वीकृति दिएको आरोप लगाएका छन् ।
तर पूर्व उपराष्ट्रपति समेत रहेका जो बाइडेनले पोर्टल्याण्डसहित देशका विभिन्न स्थानमा हिंसा बढ्नुमा ट्रम्प कारक रहेको बताएका छन् । ट्रम्पले परिणामको विचारै नगरी हिंसालाई बढावा दिएको बाइडेनले बताएका छन् ।
शनिबार राति ट्रम्प समर्थक र ब्ल्याक लाइभ्स म्याटरका प्रदर्शनकारीबिचका झडपमा गोली लागेर एक व्यक्तिको मृत्यु भएकोमा ट्रम्पले मृत्यु हुने व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
ती व्यक्तिको पहिचान खुलाइएको छैन, तर अमेरिकी सञ्चारमाध्यमका अनुसार उनी ट्रम्पका समर्थक हुन् । तर ट्रम्पले अहिलेसम्म विस्कनसिनको केनोशामा ढाडमा प्रहरीले चलाएको सातवटा गोली लागेर मृत्युबाट जोगिन संघर्ष गरिरहेका ज्याकोब ब्लेकका सम्बन्धमा केही बताएका छैनन् ।
गएको मे २५ मा मिनेशोटाको मिनियापोलिसमा प्रहरी ज्यादतीका कारण निहत्था अश्वेत व्यक्ति जर्ज फ्लोइडको निधन भएपछि अमेरिकाभर प्रहरी ज्यादती र रंगभेदविरुद्ध आन्दोलन हुँदै आएको छ । सो आन्दोलनको केन्द्र बन्दै आएको छ ओरिगनको पोर्टल्याण्ड शहर ।
राष्ट्रपति ट्रम्पले आइतबार शृङ्खलाबद्ध ट्वीट गरेर पोर्टल्याण्डका ‘मुर्ख’ मेयरका कारण हिंसा भड्किएको आरोप लगाएका हुन् । उनले पोर्टल्याण्डमा संघीय सुरक्षाकर्मी पठाउने पनि उल्लेख गरेका छन् । ट्रम्पले बाइडेन ‘नेतृत्वका लागि अनइच्छुक’ रहेको आरोप पनि लगाएका छन् ।
बाइडेनले वक्तव्य जारी गरेर भनेका छन्, ‘ट्रम्पले कानून र कानूनी व्यवस्थाका बारेमा ट्वीट गरेर उनलाई शक्तिशाली बनाउने कुरामा विश्वास गरेका हुन सक्छन्, तर आफ्ना समर्थकहरुलाई हिंसाको मार्ग नअपनाउन अपिल गर्न उनले सकेका छैनन् र यसले नै उनी कति कमजोर छन् भन्ने स्पष्ट हुन्छ।’
आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावमा दोस्रो कार्यकालका लागि प्रतिस्पर्धा गरिरहेका ट्रम्पले ‘ल एण्ड अडर’ लाई प्रमुख मुद्दा बनाएका छन् । उनले डेमोक्र्याट र उनीहरुका उम्मेदवार जो बाइडेनलाई अपराधप्रति नमर रहेको भनि आरोप लगाउने वा सो रुपमा प्रस्तुत गर्ने प्रयास गर्दै आएका छन् ।
पोर्टल्याण्डका मेयर ह्वीलरले ट्रम्पको आरोपको प्रतिकार गर्दै देशमा विभाजन र घृणा भावको सिर्जना गर्ने व्यक्ति अरु कोही नभएर राष्ट्रपति स्वयम रहेको बताएका छन् । उनले भनेका छन्, ‘राष्ट्रपतिले सहयोग गरे र हाम्रो शहरको मामिलाबाट परै बसे भने त्यसको सरहाना गर्ने छु ।’