आइन्सटाइनको प्लम्बर हुने चाहना

ओशोले यसबारे यस्तो भन्नुभएको छ। सदगुरु जग्गी वासुदेव भन्नुहुन्छ– सुख बाहिर होइन, आफैंभित्र खोज्नुपर्छ। फलानो गुरु एकदम ‘साइन्टिफिकली’ बोल्नुहुन्छ।

मस्तिष्कको यस भागले हाम्रा संवेदना र भाव नियन्त्रण गर्छ। ‘डोपामिन’, ‘सेरोटोनिन’, ‘अक्सिटोसिन’लगायतका हर्मोन्सको खेल हो माया, प्रीति, आनन्द, खुसी। वैवाहिक व्यक्तिभन्दा अविवाहित व्यक्ति रुखा हुन्छन्। मनोवैज्ञानिकका अनुसार यी–यी कारणले मानिसले आत्महत्या गर्छन्। वेदकै ज्ञान साँचो र सर्वोत्तम हो। ध्यान शान्ति पाउने अचूक विधि हो। विज्ञानको यस युगमा विज्ञानले पुष्टि नगरेका सबै कुरा अन्धविश्वास हुन् आदि–आदि।

तपाईंले पनि विभिन्न महानुभावका लेखमा यस्तो भाव र आशय झल्किने अनेकौं दृष्टान्त पढ्नुभएको होला। उधारो ज्ञानका भरिया यस्ता लेखक वर्गले यताउतिबाट बटुलेको सामग्री वमन गर्नु सट्टा क्षुद्र भए पनि आफ्नो अनुभव सम्प्रेषित गर्दा दुई पैसाको भए पनि त्यसमा यथार्थ हुन्थ्यो, सापेक्षिक सत्यता हुन्थ्यो।

प्रकृति–प्रकृतिको विकासक्रम (बिग बैंगदेखिकै उत्तरोत्तर विकास) र यस विकासक्रमको झन्डै–झन्डै अन्तिम चरणको अभूतपूर्व फड्को (७० हजार वर्ष पूर्व होमोसेपियन्समा भएको बुद्धि विकास) ले के प्रकृति र मानिसका सबै रहस्य जान्ने–बुझ्ने क्षमता राख्छ?

२१ औँ शताब्दीको उन्नत वैज्ञानिक युगमा म सकेसम्म विज्ञानसम्मत ढंगले लेख्ने प्रयास गर्छु।

१३.८ अर्ब वर्षपहिले प्रारम्भ भएको सृष्टिमा मानिसको अस्तित्व २५ लाख वर्षपहिले भएको मानिन्छ। अहिलेको जस्तो स्वरुपको होइन, यसका पनि विभिन्न आदिम प्रजाति थिए। ७० हजार वर्षपहिले एउटा प्रजातिमा बुद्धि विकसित भयो र यसको परिणामस्वरुप अन्य प्रजातिले विलुप्त हुनुपर्‍यो। बुद्धिको सबैभन्दा उत्कट र उत्कृष्ट उपयोग शायद यस्तै कार्यका लागि हुने ‘म्याट्रिक्स’ रहेछ।

यस्तै ८–१० हजार वर्ष पहिला यो प्रजाति घर बनाएर, खेतीबारी गर्न थाल्यौँ र आधुनिक युग अर्थात् वर्तमानमा आएर यसले ब्रह्माण्ड उत्पत्तिको रहस्य र किमिया बुझ्ने प्रयास गर्दैछ।
१३.८ अर्ब वर्षको समयलाई यदि एक वर्षको समय मान्ने हो भने मानिसको ‘एपिरेन्स’ नै ३१ दिसम्बरको राति ११ बजेर ५९ मिनेट ५९ सेकेन्डमा भएको हो। ३६४ दिन २३ घन्टा ५९ मिनेट ५९ सेकेन्ड पहिलाको लामो कथानकमा के–के घटना–परिघटना भए त्यो जान्ने प्रयास गर्दैछ मानिसले! विज्ञानको मूलधार नै अनुमानकारितामा केन्द्रित भएको छ।

‘मेरो जिनोम परीक्षण गरेर ५० पुस्ता पहिलाका मेरा हजुरबुवाको जिनोम संरचना बुझ्ने प्रयास गर्छ विज्ञानले! र, स्वयं विज्ञान आफैँ नै जिन ‘म्युटेट’ हुने र लोप हुने कुरा पनि गर्छ।’

विश्वभरि जति पुस्तक छन्, कल्पना गर्नुस् ती सबै पुस्तक कुनै एउटा ‘अब्जेक्ट’को चियोचर्चामै केन्द्रित भएर लेखिएका छन्। मानिलिऔं त्यो ‘अब्जेक्ट’ एउटा बालुवाको कण हो, पहेलो हो, सुख मानिने भाव अथवा अवस्था हो, जीवन हो, मृत्यु हो। के तपाईंलाई लाग्छ, यसो हुँदा उपयुक्ति वर्णित कुनै पनि ‘अब्जेक्ट’ बारे हामीलाई पूर्ण ज्ञान हुन्थ्यो, अथवा हुन सक्छ?

सुख, जीवन, मृत्यु अलिक जटिल र रहस्यमय विषय भए। बालुवाको कण र पहेलो त सामान्य विषय हुन्, के यिनका बारेमा हामीलाई समग्र र यथार्थ ज्ञान हुन्थ्यो अथवा हुन सक्छ?

आइन्सटाइनको सम्झना आउँछ। एकपटक उनले भनेका थिए– यदि पुनर्जन्म हुन्छ भने म अर्को जुनीमा एउटा सामान्य ‘प्लम्बर’ हुन चाहन्छु। हामीले मानेको ‘फादर अफ मोडर्न साइन्स’ अर्को जुनीमा (छ भने) वैज्ञानिक बनेर यस जुनीमा गरिएका प्रकृतिका रहस्य उद्घाटनलाई निरन्तरता दिनुको सट्टा ‘प्लम्बर’ भई आजीविका धान्ने इच्छा गर्छ। विज्ञानको यसभन्दा ठूलो अपमान अरु केही हुन सक्दैन।

आधुनिक विज्ञानको आधार रहेका अनेकौं ‘थ्योरी’ आइन्सटाइनकै देन हुन्। यसो उसो कलम चलाउने लेखक त के आधुनिक विज्ञान नै आइन्सटाइनको महिमामण्डनमा लीन रहिआएको छ।

आफ्नो सिद्धान्तले समग्र विज्ञानलाई न्युटनीय शास्त्रीय भौतिकीबाट टपक्क टिपी आधुनिक चरणमा प्रवेश गराउने आइन्सटाइनका सिद्धान्तप्रति कसैले सामान्य शंका पनि उठाएको देखिन्न।

चाहे ‘स्पेसटाइम’ होस्, गुरुत्वाकर्षणको परिभाषा होस्, स्पेसटाइममा आउने ’कर्भेचर’ को कुरा, समयको अगाडि–पछाडि जाने कुरा होस्। सबै कुरा राजाको नयाँ ड्रेसजस्तै हविगतका कुरा भए पनि हामी दरबारीझैँ वाह क्या राम्रो लुगा भनेर प्रशंसा गर्न बाध्य छौं।

आइन्सटाइनले भन्नुभयो–‘स्पेस’मा कुनै ठूलो खगोलीय पिण्ड आएका कारणले त्यहाँको ‘स्पेसटाइम’मा ‘कर्भेचर’ आउँछ । कसैले सोधेन यो ‘स्पेसटाइम’को ‘फेब्रिक’ चाहिँ के हो ? ‘कर्भेचर’ आउनलाई त केही हुनु पर्‍यो?

विज्ञानले नै भन्छ– ब्रह्माण्डको ‘डेन्सिटी’ ९.९*१० माइनस ३० ग्राम प्रति घन सेन्टिमीटर रहेको छ। यसअनुसार हामी जसलाई ‘डिप स्पेस’ भन्छौं, त्यहाँ प्रति १ घन मीटरमा जम्मा ५.९ प्रोटोन मात्रै रहेका छन्। (प्रोटोनलाई एटम नसम्झिनु होला)।

सन् २०१३ को नासाको रिसर्च अनुसार ब्रह्माण्डको ‘डेन्सिटी’ ९.९*१०माइनस ३० ग्राम प्रति घन सेन्टिमीटरमध्ये ९५ प्रतिशत ‘डेन्सिटी’ प्रोटोनको नभई इनर्जीको हो। यस नयाँ रिसर्चका अनुसार ब्रह्माण्डमा प्रति ४ घन मीटरमा एउटा प्रोटोन मात्रै रहेको छ।

के ठूला खगोलीय पिण्डले यस १ प्रोटोनमा ‘कर्भेचर’ ल्याउँछन् अथवा पिंडले गर्दा इनर्जीमा ‘कर्भेचर’ आउँछ ?

‘स्पेसटाइम’ र ब्रह्माण्डको ‘एक्सपान्सन’ बारे बेलुनको उदाहरण दिएर सम्झाइन्छ । हावा नभएको बेलुनमा चारैतिर केही ‘डट’ बनाएर तत्पश्चात् हावा भरिन्छ। हावाले बेलुन ठूलो भएपछि भनिन्छ – हावा नभरिँदा बेलुनमा ‘डट’ नजिक थिए, तर हावा भरेपछि ‘डट’ एक अर्काबाट टाढा गए, यसरी नै ब्रह्माण्डको विस्तार हुँदा खगोलीय पिण्ड टाढा गएका हुन्।

आजसम्म विश्वको कुनै पनि व्यक्तिले सोधेन– बेलुनलाई फुल्ने ‘स्पेस’ पहिलेदेखि नभएको भए बेलुन कसरी फुल्थ्यो? ‘डट’ कसरी टाढा जान्थे ? ‘डट’ बनाइएको बेलुनलाई हावा भर्नुभन्दा पहिले बेलुन आकारकै बाकसमा प्याक गरेर हेरौं, बेलुन कुन ‘स्पेस’मा फुल्छ ?

विज्ञान भन्छ– ब्रह्माण्ड ‘हब्बल कन्स्टेन्ट’ अर्थात् ७३ किमी प्रति सेकेन्ड प्रति मेघा पारसेकको गतिले ‘एक्सपान्सन’ भएरहेको छ। १ पारसेक भनेको ३.२६१ प्रकाश वर्ष हुन्छ। १ मेघा पारसेक भनेको १० लाख पारसेक अर्थात् ३२ लाख ६१ हजार प्रकाश वर्ष हुन्छ।

फलानोले यो भनेका छन्, अर्को फलानोले त्यो भनेका छन्। विज्ञानले यसबारे यो भन्छ। सुख –दुख–क्रोध हर्मोन्सको खेल हो। क्रोध उत्पन्न हुँदा लामो सास फेर्नुस्, क्रोध शान्त हुन्छ। कसैसँग रिस उठ्दा तुरुन्त प्रतिक्रिया व्यक्त नगरेर २४ घन्टा प्रतीक्षा गर्नुस्, रिस शान्त हुन्छ। ओशोसँगै एउटा कुरा सोध्ने मन छ, खै कसरी सोधौं?  जर्ज बुश र आनन्द शीलाप्रति उनको क्रोध र रिस जति लामो सास फेरे पनि, जति समय बिते पनि किन शान्त भएन ?

पृथ्वीदेखि ३२ लाख ६१ हजार प्रकाश वर्ष टाढाको ‘स्पेस’ प्रति सेकेन्ड ७३ किमीका दरले ‘एक्सपान्सन’ भइरहेको छ। हिसाब गर्दै जाऊँ, पृथ्वीदेखि ३ करोड २६ लाख प्रकाश वर्षमा ७३० किमी प्रति सेकेण्डले ‘एक्सपान्सन’ भएरहेको छ। ३२ करोड प्रकाश वर्षमा ‘एक्सपान्सन’को दर ७३०० किमी प्रति सेकेण्ड रहेको छ। ३ अर्ब प्रकाश वर्ष टाढाको ‘स्पेस’ ७३,००० किमी प्रति सेकेन्डले फैलिरहेको छ।

हिसाब गरौं– १५ अर्ब प्रकाश वर्ष टाढाको ‘स्पेस’ ३,६५,००० प्रति सेकेन्डले ‘एक्सपान्सन’ भइरहेको छ। यो वृद्धि भनेको प्रकाशको गतिभन्दा बढी भइसक्यो। ४६ अर्ब प्रकाश वर्ष टाढाको ‘स्पेस’ प्रति सेकेन्ड १० लाख किमी प्रति सेकेन्डभन्दा बढी ‘एक्सपान्ड’ भइरहेको छ। यो ब्रह्माण्डरुपी ‘बेलुन’ कहाँ वृद्धि भइरहेको छ ? वृद्धि हुनुको कारणमा ‘डार्क एनर्जी’ अथवा ‘डार्क म्याटर’को भूमिका रहेको छ।

एउटा प्रश्न गरी हेर्नुस्– भौतिकशास्त्री / खगोलविद्हरुसँग, ‘स्पेस एक्सपान्सन’ भइरहेको छ भने पृथ्वी र सूर्यको दूरी स्थिर किन छ ?

तपाईं जवाफ पाउनुहुन्छ। पृथ्वी र सूर्यको दूरी जम्मा ८ मिनेट २० प्रकाश सेकेन्ड हो। यो यति ‘नोमिनल’ छ कि यस दूरीमा भएको र भइरहेको ‘एक्सपान्सन’ गणनामा आउँदैन। तपाईं चुप लाग्नु हुन्छ, हो त साँच्चै ३२ लाख ६१ हजार प्रकाश वर्षमा ७३ किमी प्रतिसेकेण्डले विस्तार भइरहेकोमा सूर्य र पृथ्वीको दूरीमा यसको गणना नै हुन्न।

तर, पर्खिनुस् है, विश्वका ख्यातिप्राप्त भौतिकविद्हरुसँग तपाईंको पहुँच नभए पनि बीएससी–एमएससीका विद्यार्थीले आफ्ना प्रोफेसरसँग सोधे हुन्थ्यो, ‘सर, मैले पृथ्वीका सापेक्ष सोधेको होईन। म २० अर्ब प्रकाश वर्ष टाढाबाट हेरिरहेको छु, हाम्रो सौर्यमण्डलको ‘एक्स्पान्सन’ ५ लाख किमी प्रति सेकेण्डभन्दा बढी गतिले भइरहेको छ।

निश्चय कि त प्रोफेसरले क्लासरुम छाडेर जान्छन् कि तपाईंलाई ‘गेट आउट फ्रम माइ क्लास’ भन्ने छन्।

विज्ञानले भनेअनुसार वृद्धि हुनुको कारण ‘डार्क एनर्जी’ अथवा ‘डार्क म्याटर’ रहेका छन्। प्रश्न गर्नुभन्दा पहिले यी दुवैबारे आफ्नो अध्ययन बढाउनुहोला। प्रोफेसरले जागिर खाएपछि पनि विज्ञानमा रुचि राखेर अध्ययन गर्न छाडेका छैनन् भने उनले यी दुवै पदार्थका बारे व्याख्यान दिएर तपाईंलाई चुप लगाउन सक्छन्। यहाँ पनि तपाईंले प्रश्न गर्नुहोला के ‘डार्क एनर्जी’ र ‘डार्क म्याटर’ ग्यालेक्सीका बीचमा मात्रै छ सौर्यमण्डलभित्र छैन र ? यिनले फेरी तपाई लाई चुप लाउन गुरुत्वाकर्षणको कुरा ल्याऊँछन। गुरुत्वाकर्षणले ‘डार्क एनर्जी’ को प्रभावलाई ‘ओभरल्याप’ गरी दिन्छ। अहिलेसम्म विज्ञानलाई ‘डार्क एनर्जी’ र ‘डार्क म्याटर’ बारे केही थाहा भएको भए नाम नै ‘डार्क’ किन हुन्थ्यो?

शंकराचार्यको भनाइ ‘भज गोविन्दम, भज गोविन्दम, गोविन्दम भज मूढमते’ र आइन्सटाइनको वक्तव्य अर्को जुनीमा ‘म प्लम्बर हुन चाहन्छु,’ दुबैमा कुनै भिन्नता छैन। दुबै बुद्धिको आश्रय छाड्ने आशय व्यक्त गरिरहेका छन्। प्रकृति र जीवन बुझेर बुझिसक्ने कोटिका विषय होइनन्, जति बुझ्दै गयो उत्ति नै आफ्नो अज्ञानता प्रष्ट हुँदै जान्छ।

फलानोले यो भनेका छन्, अर्को फलानोले त्यो भनेका छन्। विज्ञानले यसबारे यो भन्छ। सुख –दुख–क्रोध हर्मोन्सको खेल हो। क्रोध उत्पन्न हुँदा लामो सास फेर्नुस्, क्रोध शान्त हुन्छ। कसैसँग रिस उठ्दा तुरुन्त प्रतिक्रिया व्यक्त नगरेर २४ घन्टा प्रतीक्षा गर्नुस्, रिस शान्त हुन्छ। ओशोसँगै एउटा कुरा सोध्ने मन छ, खै कसरी सोधौं?

जर्ज बुश र आनन्द शीलाप्रति उनको क्रोध र रिस जति लामो सास फेरे पनि, जति समय बिते पनि किन शान्त भएन ? बुश शैतान र आनन्द शीला घृणित नै किन भइराखे जीवनभरि? अब बुद्धस्तरमा यस ‘थेरापी’ले काम गर्दो रहेनछ भने तपाई हामीजस्ता अधम र पातकीको स्तरमा यसको के काम?

चाहे धर्म होस् अथवा विज्ञान दुबैका लागि अन्धाहरुको हाथी छम्मयाइ नै हो सत्य र यथार्थको कल्पना! कान छोयो पंखा जस्तै, खुट्टा छोयो ‘पिलर’ जस्तै, पुच्छर छोयो कुचो जस्तै, सुँढ छोयो खै के थोक जस्तै?

१०० वर्ष अथवा एउटा अर्को विश्व युद्धपछि २० वर्षभित्रै विज्ञानका अधिकांश आधारभूत मान्यता परिवर्तित हुन्छन्। आइन्स्टाइन, हकिन्सलगायत समस्त धुरन्धर सुकरातकै स्तरमा सीमित हुन पुग्छन्।

जीवन र जगतबारे कसले के भन्छन्– तपाईंका लागि त्यसको कुनै अर्थ छैन। तपाईंसँग एक अदद जीवन छ, यो ईश्वरले आफ्नै हातले बनाएका हुन् अथवा प्राकृतिक विकासको परिणाम हो यसले के नै अन्तर पार्छ? तपाईंका लागि महत्वपूर्ण र काम लाग्ने आफ्नै भोगाइ हो। तपाईंलाई दान गर्नुभन्दा खोस्नुमा आनन्द प्राप्त हुन्छ भने के तपाईंका लागि दान गर्नाले आनन्द प्राप्त हुने भनाइ ठीक हुन्छ?

उपदेश दिनु, ‘काउन्सलिङ’गर्नु, लेख्नु यी सबै पेसा हुन्। आइन्सटाइनको ‘प्लम्बर’ होने पेसा जस्तै! यिनले भनेका कुरालाई सत्य अथवा जीवन उपयोगी ठान्नुहुन्छ भने तपाईंको स्वतन्त्रता ! अन्यथा यिनको आफ्नै जीवन यति गडबड र भताभुंग हुन्छ कि कुनै दिन सुख, खुसी र शान्ति पाउने औषधी बन्यो भने यिनीहरुलाई आफूभन्दा अगाडिको किन्ने लाइनमा उभिएको पाउनु हुन्छ, जसले आज तपाईंलाई सुख, खुसी, आनन्द र शान्ति उपलब्ध हुने सूत्र बाँड्दै छन् ।

पुनश्चः इतिहास, धर्म, अध्यात्म, विज्ञान अथवा कुनै पुस्तकबाट ऊर्जा प्राप्त गरी ऊर्जावान बन्न सक्नुहुन्छ भने मात्रै यी सबैको उपयोगिता हुन्छ। तपाईं यिनको भारी एवं बोझले थिचिएर सकीनसकी जीवन घिसार्नु हुन्छ भने, बुद्धिमान बन्ने प्रयास गर्नुहुन्छ भने यो बोझलाई एउटा कुनामा थन्काएर बोझरहित (आइन्सटाइनको प्लम्बर अथवा शंकराचार्यको भज गोविन्दम मूढ़मते) बन्नु नै श्रेयष्कर हुन्छ।

भदौ १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्