पृथ्वीनारायण शाहले काठमाडौँ आक्रमण गर्दासम्म नरोकिएको इन्द्रजात्रा यो वर्ष रोकियो

निषेधाज्ञाका कारण सुनसान देखिएको इन्द्रजात्रा स्थल। तस्बिर: सुलभ श्रेष्ठ/देश सञ्चार

काठमाडौँ– काठमाडौँको प्रसिद्ध इन्द्रजात्रा सञ्चालन भएदेखि पहिलोपल्ट रोकिएको छ। संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठका अनुसार नेपाल एकीकरण गर्ने क्रममा वि.सं १८२५ सालमा इन्द्रजात्राकै दिन काठमाडौँमाथि हमला गर्दा पनि जात्रा रोकिएको थिएन।

गोर्खाली सेनाले चारैतिरबाट आक्रमण गरेको कान्तिपुरले आफ्नो राज्य गुमाउँदा पनि जात्रा रोकिएको थिएन, तर यो वर्ष कोरोना भाइरस संक्रमणको डरले जात्रा रोकिएको छ। श्रेष्ठका अनुसार वैदिक कालदेखि नै इन्द्रजात्रा मनाउँदै आइएको थियो ।

इन्द्रजात्रा व्यवस्थापन समितिका अध्यक्ष गौतम रत्न शाक्यका अनुसार नेपाल सरकारले गरेको निर्णयलाई पालना गर्दै यो वर्ष मन्दिरमा नै पूजा सीमित गरिएको हो। ‘मठमन्दिर भित्र गर्नुपर्ने कार्यहरु विधि विधान अनुसार नै गरिन्छ,’ शाक्य भन्छन्, ‘नत्र आज बलम भोज भइरहेको हुन्थ्यो ।’

८ रात ९ दिनको इन्द्रजात्रामा हरेक दिन विभिन्न क्रियाकलाप गरिन्थ्यो। आज अर्थात् त्रियोदशीको दिन गुठी सँस्थानबाट जात्रामा रथ तान्ने सब्बैलाई भोज खुवाउने चलन रहेको छ। यस्तै आज साँझ विभिन्न नाँच भइरहेको हुन्थ्यो। शाक्य भन्छन्, ‘मान्छेको भिडले टेक्न नमिल्ने ठाउँमा सन्नाटा छ।’

यो वर्ष क्षमा पूजा गरेर पूजालाई मन्दिरमा नै सिमित गरिएको छ। उपत्यकाका केही जात्राहरु साँस्कृतिक जुलुस सहित मनाइन्छ, मान्छेको जमघट बिना यो जात्रा सञ्चालन गर्न संभव छैन । ‘२०७२ सालको भूकम्पमा मिलिमिली खाउ भन्यो, अहिलेको महामारीले छुट्टी छुट्टी खाँउ भन्यो।’ श्रेष्ठ भन्छन्, ‘महामारीले त मानव जाति कै बिनाश गर्छ र जमघट संक्रमण फैलाउने प्रमुख कारण हो। इन्द्रजात्रा नमनाइनु बुद्धिमानि हो।’

फाइल तस्बिर

 

क्षमा पूजा किन गर्ने ?

जसरी भगवानको नाममा जात्रा गर्ने चलन छ, त्यसरी नै भगवानको आराधनामा केही कमजोरी भएमा क्षमा माग्ने चलन छ। यसको अर्थ पूजामा केही भूलचुक भएमा माफि माग्ने हो। हरेक मन्दिरका पूजारीहरु, गुठीहरु मिलेर क्षमापूजा गर्छन्। ‘जात्रा गर्दा गर्दै केही किसिमको अनिष्ट भयो, पूजा गर्ने क्रममा केही कमजोरी भएको आभास भयो भने क्षमा पूजा गरिन्छ।’ श्रेष्ठ भन्छन्, ‘यो भगवानप्रतिको शिष्टता हो।’

लोचनका अनुसार मल्ल कालमा विस्केट जात्रा मनाइरहँदा भैरवको रथ तान्ने क्रममा पल्टिएको थियो। त्यो बेला राजा र जनता मिलेर क्षमा पूजा गरेर जात्रा पुन सञ्चानल गरेको तथ्यहरु भेटिन्छन्। नेवारहरुको जन्म, व्रतबन्ध, विवाह लगायतका सँस्कारगर्दा केही कमजोरी भएमा क्षमा पूजा गर्ने चलन छ। इन्द्रजात्रा व्यवस्थापन समितीका अध्यक्ष गौतम रत्न शाक्यका अनुसार यो वर्षको क्षमा पूजा २१ गर्ने योजना रहेको छ।

लिंग उठाउने ठाउँमा आइतबार गरिएको पूजा। तस्बिर: सुलभ श्रेष्ठ
भदौ १५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्