बाइडेनमाथि खनिँदै ट्रम्पले गरे भिडन्तमा संलग्न आफ्ना समर्थकहरुको बचाउ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै भएका भिडन्तहरुमा संलग्न आफ्ना समर्थकहरुको बचाउ गरेका छन्।

विस्कनसिनमा गएको हप्ता दुईजनाको गोली हानी हत्या गरेको अभियोग लागेका किशोर तथा भिडन्तमा सामेल आफ्ना समर्थकले आत्मरक्षाका लागि कदम चालेको ट्रम्पले दाबी गरेका छन्।

उनले आफ्ना डेमोक्र्याटिक प्रतिद्वन्दी जो बाइडेनमाथि प्रदर्शनकारीहरुलाई नियन्त्रित गर्न कदम नचालेको आरोप लगाए । आन्दोलनकारीका कारण तनाव उत्पन्न भएको आरोप ट्रम्पले लगाएका हुन्।

अमेरिकामा आउँदो नोभेम्बर ३ मा राष्ट्रपति चुनाव हुँदैछ । मत सर्वेक्षणहरुमा ट्रम्प बाइडेनभन्दा पछि देखिँदै आएका छन्।

विस्कनसिनमा रंगभेद विरोधी प्रदर्शनकारी र ट्रम्पका समर्थकबिच झडप भएको थियो । यस्तै पोर्टल्याण्डमा पनि ब्ल्याक लाइभ्स म्याटर र ट्रम्प समर्थकबिच झडप भएको थियो।

ट्रम्पले सोमबार ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा डेमोक्र्याटिक पार्टीका मेयर तथा गभर्नर रहेका शहरमा हिंसा भएको भन्दै जो बाइडेन र उनका समर्थकहरुले हिंसा मच्चाएको आरोप लगाए।

सिएनएनका पत्रकारले ‘आफ्ना समर्थकले गरेको गतिविधिको आलोचना गर्नु हुन्छ कि हुँदैन?’ भनेर सोधेको प्रश्नको जवाफ दिने क्रममा ट्रम्पले आफ्ना समर्थकहरु ठूलो संख्यामा रहेको र उनीहरु शान्तिपूर्ण प्रदर्शनमा रहेको तर आत्मरक्षाका लागि उनीहरुले कदम चालेको दाबी गरे।

केनोशा, विस्कनसिनसहित क्षेत्रमा भएको गोलीकाण्ड तथा आक्रमणका घटनाको निन्दा गर्ने नगर्नेबारे सोधिएको प्रश्नमा ट्रम्पले अनुसन्धान भइरहेको भन्ने जवाफ फर्काए।

यसअघि सोमाबार नै पूर्व उपराष्ट्रपति समेत रहेका जो बाइडेनले पछिल्लो समय प्रदर्शनहरुमा भइरहेको हिंसाको विरोध गरेका थिए । उनले यी घटनाहरुमा डोनाल्ड ट्रम्प दोषी रहेको बताए । ट्रम्पले देशलाई असुरक्षित बनाएको बाइडेनको आरोप छ।

ट्रम्पले बोल्दा ‘ल एण्ड अडर’ भने पनि निहित स्वार्थका लागि हिंसा भड्काएको आरोप बाइडेनको छ। आउँदो चुनावमा पुनः ट्रम्प विजयी भएमा अमेरिकामा हिंसा थप बढेर जाने बाइडेनले चेतावनी दिएका छन्।

भदौ १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्