कोरोना भाइरस ‘अफवाह’ हो?

‘कोभिड–१९’ अर्थात सामान्य बोलीचालीमा बुझिने कोरोना भाइरसले संसारलाई अत्याइरहेको छ । अर्कोतिर केही मानिसहरु यो केही पनि होइन, सामान्य रुघाखोकीको ज्वरो गराउने भाइरस हो भनिरहेका छन् । यसलाई अनावश्यकरुपमा बढाइचढाइ गरी मेडिकल माफियाहरुले संसारलाई नै आतंकित बनाइरहेको छ भन्ने गरेका छन् । यदि त्यसो हो भने को हुन् ती माफियाहरु जसले संसारलाई नै मुर्ख बनाउन सफल भइरहेका छन् ? भर्खरैको समाचारअनुसार कोरोना भाइरस ‘होक्स’ हो भनेर युरोपका विभिन्न सहरहरुमा हजारौंको संख्यामा विरोध प्रदर्शन हुन थालेका छन् ।

सबैलाई थाहा भएकै कुरा हो, शुरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो केही होइन, सामान्य रुघाखोकीको ज्वरो हो भने । पछि कोरोना भाइरसले च्याप्दै जाँदा चीनको कारण यो अमेरिकामा फैलियो भन्ने दोषारोपण गरे । राष्ट्रपति ट्रम्पले विश्व स्वास्थ्य संगठन र उनकै आफ्नै स्वास्थ्य विज्ञहरु समेतको कुरालाई समेत वास्ता गरेनन् । विश्व स्वास्थ्य संगठनसँग त ट्रम्प सरकारले नाता नै तोडे । अहिले अमेरिका संसारकै सबैभन्दा बढी कोरोना भाइरस संक्रमित मुलुक र कोरानाको कारण सबैभन्दा बढी मानिसको मृत्य भएको मुलुक बनेको छ । अहिले पनि त्यहाँ दिनहुँ हजार–बाह्र सयको संख्यामा मानिसको मृत्यु भइरहेको छ । अमेरिकामा मात्र होइन भारत र ब्राजिलमा पनि त्यत्तिकै संख्यामा मानिसहरुको ज्यान गइरहेको छ । अमेरिका, ब्राजिल र भारतपछि बढी मृत्यु मेक्सिकोमा भइरहेको छ । होक्स भन्ने कि के भन्ने संसारभरमा गरी कोरोना भाइरस संक्रमितको संख्या अढाइ करोड नाघिसकेको छ, करीब ८ लाख ५० हजारको मृत्यु भइसकेको छ । राम्रोचाहिँ पौने २ करोड संक्रमितहरु निको भइसकेका छन् । हुन त मौसमी रुघाखोकीको भाइरसको परीक्षण गर्ने हो भने धेरै करोडको संख्यामा पोजिटिभ पाइएला । मौसमी रुघाखोकीकै कारण मृत्यु हुनेहरुको संख्या पनि लाखौंमा छन्.। सन् २०१७ को एउटा अध्ययनले रुघाखोकीका भाइरसका कारण संसारभरमा प्रत्येक वर्ष २ लाख ९० हजार देखि ६ लाख ५० हजारसम्मको मृत्यु हुने गरेको पाइन्छ । यो अर्थमा के फरक भयो त कोरोना र अरु रुघाखोकीका भाइरसमा भन्ने होला ।

आँकडाअनुसार सामान्यतया रुघाखोकी बच्चादेखि वृद्धवृद्धा र दीर्घरोगीहरुलाई लाग्छ । त्यसको कारण हुने मृत्युदर शुन्य दशमलब एक प्रतिशतभन्दा कम छ । त्यो भनेको हजार जना संक्रमितमा १ भन्दा कम हो । कोरोना भाइरस खासमा दीर्घरोगी र वृद्धवृद्धालाई लाग्छ र अहिलेसम्मको आँकडाअनुसार ३ देखि ४ प्रतिशतको मृत्यु हुने गरेको छ । त्यो भनेको हजार जनामा ३० देखि ४० जना हो । खोप उपलब्ध भइसकेपछि र मानिसमा इम्युनिटीको विकास भएपछि अहिलेको मृत्यु दर पक्कै पनि घट्ने छ । भन्नै पर्दा कोरोना भाइरस भर्खरका शिशुदेखि युवा र वयोवृद्धसम्मलाई लागेकै छ । संक्रमित वयोवृद्धहरु पनि निको भएका छन् । यसो भनिरहँदा यो पनि बिर्सन हुन्न कि लक्का जवानहरुको पनि कोराना भाइरसले प्राण लिएको छ । जस्तै, त्यही ३३ वर्षीय चाइनिज युवा डाक्टर लि वेनलियाङ जसले कोरोना भाइरसबारे पहिलो पटक सचेत गराएका थिए उनको मृत्यु कोरोना भाइरसको संक्रमणबाटै भयो । स्पेनका २१ वर्षीय युवा फुटबल प्रशिक्षक फ्रान्सिस्को गार्सिया, उनको पनि कोरोना भाइरसकै कारण निधन भयो । हुनत अस्पताल भर्ना भएपछि थाहा भयो, उनमा ल्युकोमिया रोग रहेछ । कुरा यहीँनिर छ । २१ वर्षको लक्का जवान, त्यसमाथि प्रशिक्षक भएकोले शारिरीकरुपमा पनि तन्दुरुस्त मान्छेमा कोरोना भाइरसको संक्रमण नभइ दिएको भए त्यति चाँडै पक्कै मृत्यु हुने थिएन । यो पनि सत्य हो, यदि उनमा ल्युकोमिया नभएको भए कोरोना भाइरस लागेर मात्र उनको मृत्यु हुने थिएन होला । अब त्यसलाई ल्युकोमियाको कारण मृत्यु भएको भन्ने कि कोरोना भाइरसको कारण मृत्य भएको भन्ने ? यदि उनलाई कोरोना भाइरसको संक्रमण नभएको भए कम्तीमा केही महिना, वर्ष त बढी बाँच्थे होलान् नि, ल्युकोमिया भए पनि ! वा ल्युकोमियाको उपचार पाएर धेरै वर्ष बाँच्थे पनि कि ! यसरी मृत्यु भएकालाई कोरोना भाइरसको कारण नमान्ने हो भने यसो भन्न सक्नुपर्‍यो कि ती दीर्घरोगीहरु वा वृद्धवृद्धाहरु आखिर मर्नु नै थियो, मरे। अलि चाँडै मरे, के नै फरक पर्‍यो र ! त्यसैले कोरोना भाइरस केही होइन, यो अफवाह हो ।

अब एकछिनलाई प्रसंग बदलौँ । अहिले संसार नै कोरोना भाइरसको रोकथामको निम्ति लागिपरेका छन् । कुनै पनि सरकारले गर्नुपर्ने भनेकै बाहिरबाट आएकाहरुको क्वारन्टीनमा राख्ने, लक्षण भएकाहरुको परीक्षण गर्ने, संक्रमितको संपर्कमा आएकाहरुको खोजी (कन्टाक्ट ट्रेसिङ) गर्ने र तिनलाई आइसोसनमा राखेर परीक्षण गर्ने, अनि बिरामीहरुलाई आवश्यकताअनुसार उपचार गर्ने हुन् । विश्व स्वास्थ्य संगठले यिनै विधिहरु सिफारिस गरेको छ । नेपालको सन्दर्भमा यी कामहरु अब सरकारले मात्र गर्न नसक्ने भए । यसमा व्यक्ति विशेष आफैँले, परिवारले र समुदायले सघाउनुपर्ने हुन्छ । त्यस्तै व्यक्ति विशेष तहमा जोखिम कम गर्न मास्क अनिवार्य रुपमा लगाउने, २ मिटरको सामाजिक दुरी कायम गर्ने, र साबुनपानीले हात धुने वा सानिटाइजरको प्रयोग गर्ने हुन् । तर यो पनि हामीकहाँ प्रभावकारी रुपमा लागु हुन सकेको छैन । यस प्रकारका अनिवार्य अभ्यासहरमा हामीहरु अभ्यस्त भएका छैनौं । मास्ककै कुरा गर्दा कुन गुणस्तरको हो, कति पुरानो हो र कसरी लगाएको छ आदि कुराले फरक पार्छ । फुटपाथमा बोराका बोरा निलो रंगका मास्कहरु बेच्न राखेको देखेको छु । मास्कको गुणस्तर निर्धारण कस्ले कसरी गरेको छ ? पटक–पटक साबुनपानीले हात धोइरहन पनि त्यति सहज छैन, घर वा कार्यालयमा बाहेक । किनकि अन्यत्र सबै ठाउँमा त्यो सुविधा हुन्न । केहीले सानिटाइजर साथमै बोकेर हिँडेको पनि देखिन्छ । सबैले त्यसो गर्न सके त राम्रै हो ।

कोरोना भाइरस त भाइरसै भयो त्यसलाई के दोष दिने । त्योभन्दा पनि ठूला भाइरस त हामी मान्छेको मनोवृत्ति भनौं या अबुझपना हो । यो सबैले बुझेकै र संक्रमितहरुले भोग्दै आएका कुरा हुन् । संक्रमित जो पनि हुन सक्छ । तिनलाई बहिस्कार गर्नुहुन्न । नेता र मन्त्रीहरुका ड्राइभर, पिएसओ संक्रमित भएका खबरहरु आइरहन्थे । अब त नेता र मन्त्रीहरु पनि संक्रमित हुन थाले । विदेशमा त बेलायतका युवराज चार्ल्स र प्रधानमन्त्री बोरिस जोन्सन नै संक्रमित भएका थिए । खोइ त त्यहाँ बहिस्कार भएन । भारतमा अभिनेता अमिताभ बच्चनसहित परिवारैलाई कोराना लाग्दा हाम्रो प्रधानमन्त्री केपी शर्मा ओलीलगायत लाखौंं मानिसले शीघ्र स्वास्थ्य लाभको कामना गरे । त्यो राम्रो हो । कतिपयले त चाँडो निको होस् भनेर तिनका नाममा पुजाआजा पनि गरे । अमिताभ बच्चनका तिनै फ्यानहरुले तिनका छिमेकी वा वरपरकालाई कोरोना भाइरस लागेको भए के गर्थे होलान् वा के गरेका थिए होलान् ?

होइन, यस्तो सामान्यीकरण राज्य र हामी जनतालाई स्वीकार्य छैन भन्ने हो भने कोरोना भाइरसलाई लिएर आजभन्दा अघिको स्थितिलाई सरकार र सरोकारवालाहरुले आ–आफ्नो सुविधाअनुसार जेजसरी विश्लेषण र व्याख्या गरे पनि आखिर अहिलेको स्थितिमा आइपुग्ने त धेरैले आंकलन गरेकै हुन् ।

अर्को अलि फरक प्रसंग – माथि उल्लेख गरेको थिएँ कि कोरोना भाइरसको रोकथाममा सरकारी प्रयास कामयावी हुन सकिरहेको छैन र हुने संभावना पनि कमै छ । त्यस्तै हामी जनताहरु पनि कोरोना भाइरसको जोखिमबाट बच्न खासै सुरक्षित अभ्यासहरु अपनाइरहेका छैनौं, सतर्क रहेका छैनौं । यो अवस्थामा कोरोना भाइरस भनेको केही होइन, ह्वाक्स हो भने झैँ सरकारले पनि जे जे होला, होला, कोरानालाई सामान्य रुघाखोकीसरह मानेर जनजीवनलाई सामान्यीकरण गरि दिए के हुन्छ ? यो पनि एउटा विकल्प हुन सक्छ, अबको । यसका फाइदाहरु छन् । महँगो पिसिआर परीक्षणमा खर्च गरिरहनु परेन । सबै काम कारबाहीहरु सुचारु हुनेछ । सार्वजनिक यातायात चल्ने छ । आर्थिक गतिविधि चलायमान हुनेछ । कोरानाले मर्नेभन्दा पनि भोकले पो मर्ने भो भन्ने भनाइ सरकारले सुन्न पर्दैन । बिरामी हुनेहरु उपचारमा जान्छन् । सके सरकारले उपचार निशुल्क गरोस् । नसके उपचार पनि आफैँले गर भनोस् । उपचारबाट निको हुने वा नहुने आफ्नो ठाउँमा छंँदै छ ।

यसरी पुरै छुट दिँदा कोरोना भाइरस पनि धेरैभन्दा धेरैलाई सर्छ । कोरोना भाइरस लागेका करीब ८० प्रतिशतलाई खासै केही हुन्न भन्ने छ, १५ प्रतिशत बिरामी हुन्छन् र बाँकी ५ प्रतिशतलाई च्याप्छ, भेन्टिलेटरको आवश्यकता पर्छ । यो ट्रेन्ड नेपालको भन्दा पनि अन्य मुलुकको हो । तर यो ट्रेन्ड अब नेपालमा पनि देखिन थालेको छ । यसरी जति बढी मानिसलाई कोरोना भाइरस सर्छ तिनलाई प्राकृतिक खोप नै हुन जान्छ । खोपकै कुरा गर्दा कोरोना भाइरसविरुद्ध खोप बनेर परीक्षण भइरहे पनि अहिलेसम्म प्रयोगमा आइसकेको छैन । निकट भविष्यमा आउने अपेक्षा राखिएको छ । खोप उपलब्ध नभएसम्म प्राकृतिक खोपले पनि काम गर्दै गर्ला । कति गर्ला, कति अवधिसम्म गर्ला त्यसको अध्ययन हुँदै जाला । अहिले हामीलाई रुघाखोकी लाग्दा केही दिनपछि निको हुन्छ र केही महिना वा वर्षपछि फेरि लाग्छ, र फेरि निको हुन्छ । आखिर कोराना भाइरस निर्मूल हुने त पक्कै होइन । योसँग मिलेर बाँच्नैपर्छ ।

होइन, यस्तो सामान्यीकरण राज्य र हामी जनतालाई स्वीकार्य छैन भन्ने हो भने कोरोना भाइरसलाई लिएर आजभन्दा अघिको स्थितिलाई सरकार र सरोकारवालाहरुले आ–आफ्नो सुविधाअनुसार जेजसरी विश्लेषण र व्याख्या गरे पनि आखिर अहिलेको स्थितिमा आइपुग्ने त धेरैले आंकलन गरेकै हुन् । केही हप्ताअघिसम्म प्रधानमन्त्री स्वयंले संतुष्टि जनाउनु भएको हामीकहाँको न्यून मृत्युदर अहिले दिनपर दिन अक्कासिँदै गइरहेको छ । यद्यपि, यो अनपेक्षितचाहिँ होइन । विश्व स्वास्थ्य संगठनले पनि भनेको छ, अहिलेको यो स्थिति शुरुआत मात्रै हो । उनैकाअनुसार अर्को महिना अझ खराब हुन सक्छ, तर आत्तिनु पर्दैन । अहिलेकै हिसाबले यसले कस्तो रुपसम्म धारण गर्न सक्छ भन्ने आंकलन गर्न गा¥हो छैन । टाढाको अमेरिका र नजिकको भारतमा देखिइरहेकै छौं । त्यो बिन्दुमा पुग्यो भने यस्तो हुन्छ भन्ने त थाहै थियो भन्ने सिवाय अर्काे विकल्प हुन्न ।

जे जसरी हामी सर्वसाधारण जनताले अटेर गरेर, नजानेर, नसकेर वा बाध्य भएर अपनाउनुपर्ने सुरक्षाका उपायहरु नअपनाइरहेको अवस्था छ त्यसलाई देखाएर सरकार बस्ने अवस्था छैन । जेजस्तो गर्नुपर्ने हो, गराउनुपर्ने हो, त्यो सरकारको जिम्मेवारी हो । कोरोना भाइरसकै सवालमा सरकार पटक–पटक नराम्ररी चुक्दै आएको छ । अब पनि चुक्ने सुविधा छैन । अब पनि चुक्यो भने ज्यादै कष्टकर हुनेछ ।

अन्त्यमा, अहिले मुलुकको धेरै जिल्लाहरुमा निषेधाज्ञा जारी छ । निषेधाज्ञा किन र कहिलेसम्म भन्ने मुख्य प्रश्न जताततै सुनिन्छ । धेरैले निषेधाज्ञाको बेला सरकारले के कस्तो तयारी गर्छ र गरिरहेको छ भनेर सोधिरहेका छन् । यसको जवाफ सरकारले दिनुपर्छ ता कि सर्वसाधारण विश्वस्त रहुन् । मेरो विचारमा निषेधाज्ञाको अवधिमा धेरै हलचल नहुँदा कोरोना भाइरस एकबाट अर्कोमा सर्ने प्रक्रियामा कमी आउँछ । साथै संक्रमित व्यक्ति निको हुने क्रममा भाइरस पनि नष्ट हुँदै जान्छ । किनकि भाइरस अर्को व्यक्तिमा सर्न पाएको हुँँदैन । यसरी यो अवधिमा भाइरसको स्रोत वा भाइरसको उत्पादन कम हुँदै जान्छ । यही बेला संभावित क्षेत्र, समूह र व्यक्ति–विशेषको पहिचान गरी परीक्षणको दायरा अत्यधिक बढाउन सकेमा भाइरसको स्रोतलाई न्यून राख्न वा त्यस बिन्दुबाट निमूल गर्न सहयोग मिल्छ । मुख्य कुरा, यो निषेधाज्ञाको अवधिमा संक्रमित बिन्दु वा स्रोतको पहिचान भएन भने त्यस ठाउँमा भाइरस भित्रभित्रै बढिरहेको हुन सक्छ । किनकि निषेधाज्ञाले बाहिरी चहलपहल मात्र घटाउँछ वा नियन्त्रण गर्छ।

भदौ १६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्