ट्रम्पले गरे प्रहरीको बचाउ, भेटेनन् प्रहरीको गोली लागेका ज्याकोब ब्लेकको परिवारलाई

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रहरीको मनोबल उच्च पार्न भन्दै विस्कनसिनको केनोशा शहरको भ्रमण गरेका छन्।

२९ वर्षका अश्वेत ज्याकोब ब्लेकको ढाडमा प्रहरीले सातपटक गोली प्रहार गरेपछि रंगभेद तथा प्रहरी ज्यादतीविरुद्ध लगातार प्रदर्शन हुँदै आएको केनोशा गएर राष्ट्रपति ट्रम्पले प्रहरीमा आफ्नो साथ रहेको सन्देश दिन खोजेका हुन्।

ब्लेकमाथि भएको प्रहरी आक्रमणको विरोधमा भएका प्रदर्शनले केही स्थानमा हिंसात्मक रुप लिएको थियो । ट्रम्पले त्यसलाई ‘आन्तरिक आतंकवाद’ को रुपमा ब्याख्या गरे।

ज्याकोब ब्लेकमाथि अगस्ट २३ मा प्रहरीले उनका तीन सन्तानकै सामुन्ने कारमा पस्नका लागेका बेला गोली प्रहार गरेको थियो । गम्भीर घाइते भएका उनी हाल अस्पतालमा छन्।

ट्रम्पले आउँदो नोभेम्बरमा हुने चुनावका लागि ‘ल एण्ड अडर’ लाई आफ्नो प्रमुख चुनावी मुद्धा बनाएका छन्।

पछिल्ला मत सर्वेक्षणहरुमा उनले डेमोक्र्याटिक प्रतिस्पर्धी जो बाइडेनसँगको दूरी कम गरेको देखिएको छ।

ट्रम्पले भन्दा ‘ल एण्ड अडर’ अडर भने पनि आफ्नो राजनीतिक स्वार्थका लागि विभाजन र घृणाको बिस्तार गरी हिंसा भड्काएको आरोप बाइडेनले लगाएका छन्।

ट्रम्पको केनोशा भ्रमणअघि बाइडेनले आक्रमक रुपमा भनेका थिए, ‘आगो बलिरहेको छ र हामीसँग त्यस्ता राष्ट्रपति छन् जो आगोका ज्वालाहरुका फ्यान हुन्, जसले आगो निभाउने प्रयास नै गरेका छैनन्।’

केनोशाका मेयर तथा विस्कनसिनका गभर्नरले राष्ट्रपतिलाई नआउन भने पनि ट्रम्प त्यहाँ गएका हुन्।

केनोशा पुगेका ट्रम्पले प्रदर्शनको क्रममा क्षति पुगेको फर्निचर स्टोरसहितको अवलोकन गरे । उनले स्थानीय व्यवसायिक नेतृत्वसँग भने, ‘यहाँ शान्तिपूर्ण प्रदर्शन देखिँदैन, यो त आन्तरिक आतंकवाद हो।’

उनले अमेरिकी प्रहरीको बचाउ गर्दै सञ्चारमाध्यमले प्रहरीबाट भएका खराब घटनाहरुलाई मात्रै स्थान दिएको र बढाइचढाइ गरेको आरोप लगाए । उनले प्रहरी प्रशासनमा संस्थागत रुपमै रंगभेद रहेको भन्ने आफूलाई नलाग्ने पनि बताए।

अमेरिकामा पछिल्लो समय संस्थागत रुपमा रहेको रंगभेद विरुद्ध लगातार प्रदर्शन हुँदै आए पनि ट्रम्पले त्यसलाई अस्वीकार गर्दै आएका छन्।

केनोशा पुगेका ट्रम्पले प्रहरीको गोली लागेर जीवन–मरणमा पुगेका ज्याकोब ब्लेकका परिवारसँग भने भेटेनन् । ज्याकोबको परिवारले वकिलको उपस्थितिमा भेट हुनु पर्ने बताएपछि ट्रम्प पछि हटेका हुन्।

सिएनएनसँगको अन्तर्वार्तामा ज्याकोबका पिताले आफूहरुका लागि राष्ट्रपतिसँग भेट्नु भन्दा छोराको जीवन प्यारो रहेको बताएका थिए।

भदौ १७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्