मछिन्द्रनाथको रथयात्रा कहिले गर्ने भनेर आज बल्ल छलफल हुँदै थियो

तस्बिर: सुलभ श्रेष्ठ

काठमाडौँ– कोरोना महामारीले रोकिएको रातो मछिन्द्रनाथको रथयात्रा कहिले गर्ने भन्नेबारे छलफल बिहिबार हुने भनिएको ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बताएका छन्।

देश सञ्चारसँगको कुराकानीको क्रममा महर्जनले गत भदौ १० गते बसेको छलफलमा गुठी संस्थानले जे निर्णय गर्छ त्यही नै स्विकार गर्ने भनेर सम्बन्धित सबै संस्थाहरुले सहमत जनाएको बताए।

बिहिबार ललितपुरको पुल्चोकमा सयौँको संख्यामा मानिसहरु भेला भएर रातो मछिन्द्र नाथको रथलाई पुलचोकबाट गाबहालतर्फ लगेका थिए। रथयात्राबारे ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जन अनविज्ञ रहेको बताए।

देश सञ्चारसँगको टेलिफोन कुराकानीमा महर्जनले भाद्र १० गते रथ बनाउने र रथ तान्ने संस्था, स्थानीय जनप्रतिनिधिहरु सहितको बैठक भएको थियो। महर्जनका अनुसार रथ बनाउने गुठी संस्थान र रथ तान्ने व्यवस्थापन ज्यापु समाजले गर्छ। ‘भाद्र १० को छलफलमा १९ वटा जातिय संस्था, ज्यापु समाज, गुठी सस्थान, सांसद पम्फा भुसाल, कृष्ण लाल श्रेष्ठ, लगायत बैठक बसेको थियो । त्यो बैठकमा गुठी संस्थामा एउटा विद्वत  कमिटी छ, त्यो कमिटीले जे निर्णय गर्छ त्यही मान्ने भनेर निर्णय भएको थियो।’ महर्जन भन्छन्, ‘गुठी संस्थानको बैठक आज हुँदै छ भन्ने जानकारी मैले भर्खरै पाए।’ महर्जनलाई जानकारी भए अनुसार यो ज्यापु समाजबाट निर्देशित व्यक्तिहरु हैनन्।

यस्तै ज्यापु समाजका अध्यक्ष चन्द्र महर्जनले पनि रथ तान्न भेला भएका युवाहरु ज्यापु समाजबाट परिचालित नभएको बताएका छन्। उनले भने, ‘हामीलाई यो बारेमा थाहा छैन। हामीले जात्रा गर्न पर्ने हो, विषम परिस्थिती छ, हाम्रो समाजमा छिर्यो भने यसले भयावह परिस्थिती आउँछ भनेर गुठी संस्थानसँग सल्लाह गरिरहेका थियौँ।’ महर्जन भन्छन्, ‘हामीलाई जानकारी छैन, रथको माथिपट्टि राखेको डोरी झारेर तानेको रहेछन्।’

महर्जन भन्छन्, ‘ज्यापु समाजले रथको सुरक्षाको लागि ५०१ जना स्वयंमसेवकलाई खटाईसकेका छौँ।’

जात्रा ललितपुर महानगरपालिका भित्र नै हुने भएकोले महानगरले शान्ति र सुरक्षाको विषयमा चासो राखे पनि रथयात्रा व्यवस्थापनमा महानगरपालिकाको कुनै भूमिका नरहेको महर्जनले बताए। महामारीको समयमा रथ तानियो भने कोभिड नसरोस् भन्नको लागि गर्न मिल्ने कामहरु, भिड नगर्नुस भनेर माइकिङ गर्ने, माक्स स्यानिटाइजर दिने, टेलिभिजनमा प्रत्यक्ष प्रशारण गर्न सक्छौ भनेर महानगरपालिका अगाडि सरेको मेयर महर्जनले बताए।

वर्षा र सहकालको देवताको रुपमा रातो मछिन्द्रनाथ देवतालाई पूजिन्छ। यो जात्रा हरेक वर्षको वैशाख शुक्ल प्रतिपदादेखि असार शुक्ल चौथिसम्म चल्छ। यो जात्रा विशेषगरी ललितपुरमा मनाइन्छ।

भदौ १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्