ठगीको आरोपमा सिड्नीमा पक्राउ परेका दुई नेपाली विद्यार्थी थुनामै रहने, आगामी सुनुवाई ३० सेप्टेम्बरमा

सिड्नी– ठगी गरेको आरोपमा सिड्नीमा पक्राउ परेका दुई नेपाली विद्यार्थीहरू सेप्टेम्बर ३० तारिखसम्म थुनामै रहने आदेश सिड्नीको पारामाटा स्थानीय अदालतले दिएको छ। अदालतले बिहीबार सेप्टेम्बर ३ तारिखका दिन सो आदेश जारी गर्दै उनीहरूको जमानत अस्वीकार गरेको छ।

२२ वर्षीया नेहा गिरी तथा २० वर्षीय आयुष भट्टराईलाई न्यू साउथवेल्स प्रहरीले गत जुन २२ तारिखमा सिड्नीको टेलोपियाबाट पक्राउ गरेको थियो। त्यसबखत् न्यू साउथवेल्स प्रहरीले उनीहरूलाई इन्टरनेट र फोनमार्फत् ठगी गर्ने एक अन्तर्राष्ट्रिय गिरोहलाई सघाएकोसहित आठ अभियोग लगाएको थियो।

बिहीबार छुट्टाछुट्टै भिडियो लिंकमार्फत् पारामाटा स्थानीय अदालतमा गिरी र भट्टराई उपस्थित भएका थिए भने भट्टराईका वकिलले जमानतको लागि आवेदन दिएका थिए।

भट्टराईका तर्फबाट वकिल रिता लहाउडले अदालतलाई ठगीमा उनका पूर्व पार्टनर नेहा गिरीको भूमिका बढी रहेको र गिरीले नै सिन्डिकेट व्यवस्थापकहरूसँग कुराकानी गरेको तथा ठगीको पैसा भारतीय बैंकमा पठाउने व्यवस्था गरेको बताएका थिए।

वकिल लहाउडले भट्टराईले आरोप स्वीकार गरेको तर कोरोना महामारीका कारण ‘किचनहेण्ड’को काम गुमेर सरकारले दिने ‘जबकिपर’ सुविधा पनि नपाएपछि बाध्यात्मक परिस्थितिले गर्दा त्यसो गरेको बताएका थिए।

तर मजिस्ट्रेट पिटर फेदरले भट्टराईको न्यूनतम संलग्नता रहेको तथ्यलाई अस्वीकार गर्दै महामारीका कारण अपराधमा संलग्न हुनु गलत रहेको बताएका थिए।

उनी भरियाका रूपमा प्रयोग भएको जसका लागि केही पैसा पाएको हुनाले उनलाई के भइरहेको छ भन्ने थाहा भएको मजिस्ट्रेट फेदरले बताएका थिए।

त्यसअघि प्रहरीका तर्फबाट अभियोक्ता जोल फ्रेजरले जमानतको विरोध गर्दै उनी विद्यार्थी भिसामा रहेकाले अस्ट्रेलिया छाड्न सक्ने बताउँदै उनले सम्पूर्ण अभियोग आफ्नी प्रेमिकामाथि थोपरेको बताएका थिए।

प्रहरीले भट्टराईको ६ वटा अभियोगहरू फिर्ता लिएको छ। अहिले उनलाई प्रहरीले २ वटा छल गरेर सम्पत्ति आर्जन गरेको सहित ९ वटा अभियोगहरू लगाएको छ। त्यसैगरी नेहा गिरीलाई ८ वटा अभियोग लगाएको छ।

मुद्दाको आगामी सुनुवाई सेप्टेम्बर ३० तारिखमा हुनेछ।

भदौ १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्