प्रदेश–५ सरकारले थप्यो कोरोना विशेष अस्पतालमा जनशक्ति र बजेट

बुटवल– प्रदेश ५ सरकारले चार वटा कोरोना विशेष अस्पतालमा जनशक्ति र बजेट थप गर्ने निर्णय गरेको छ। कोरोना भाइरसका संक्रमितको संख्या र मृत्यु बढ्दै गएपछि प्रदेश सरकारले संक्रमितको उपचारका लागि थप जनशक्ति र संरचना थप गर्ने भएको हो।

सरकारले अस्पतालहरुमा केही बेड र त्यसका लागि आवश्यक पर्ने जनशक्ति थप्ने निर्णय गरेको सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिए।

कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि ३ महिनाका लागि स्वास्थ्यकर्मी करारमा भर्ना गर्ने र ती कर्मचारीलाई प्रदेश निजामती सेवाका कर्मचारी सरह सेवा सुविधा दिन बजेट स्वीकृत गरिएको हो।

प्रदेश सरकार मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार ५ सय ८३ जना कर्मचारी र तीन करोड ९६ लाख ३२ हजार रुपैयाँ बजेट थप हुनेछ।

लुम्बिनी प्रादेशिक अस्पताल मातहतको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा १ सय ८९ जना जनशक्ति थप गर्ने निर्णय भएको प्रदेश सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री चौधरीले जानकारी दिए। यो अस्पतालमा आईसीयू बेड १८, एचडी (आईसीयूभन्दा केही कम सुविधा हुने) बेड २०, आइसोलेन बेड ३६ गरी ७४ बेड थपिनेछन्।

कोरोना विशेष अस्पताल बुटवलले जनशक्ति र बेड कम भएका कारण उपचार नपाएर बिरामीको मृत्यु भएको भन्दै सामाजिक मन्त्रालयलाई सुविधा थप गर्न अनुरोध गरेको थियो।

प्रदेश सरकारको निर्णयअनुसार भैरहवाको भीम अस्पतालमा ७१ जना, दाङको बेलझुण्डीस्थित आयुर्वेद अध्ययन संस्थानमा सञ्चालित कोरोना अस्पतालमा १ सय ७१ जनशक्ति थप गर्ने निर्णय भएको छ।

भीम अस्पतालमा आईसीयू ५, एचडी बेड १३, आइसोलेसन ९ गरी २७ बेड र बेलझुण्डीमा आईसीयू १०, एचडी बेड १७ र आइसोलेसन बेड ५८ गरी ८५ बेड रहनेछन्। भीममा अहिले ५ वटा आइसीयू बेड रहेका छन् र अरु बेड थपिनेछन्।

यस्तै भेरी अस्पताल बाँकेमा १ सय ५२ जना जनशक्ति राख्ने निर्णय भएको छ। भेरी अस्पतालमा आईसीयू १०, एचडी बेड ३० र आइसोलेसन बेड २० गरी ६० बेड रहनेछन्।

प्रदेश सरकारले स्वीकृत गरेको तीन करोड ९६ लाख ३२ हजार रुपैयाँ बजेटमध्ये लुम्बिनी प्रादेशिक बुटवलका लागि एक करोड ७५ लाख ११ हजार ९ सय, भीम अस्पताल भैरहवाका लागि ६४ लाख ४७ हजार ९ सय, केन्द्रीय आयुर्वेद अस्पताल बेलझुण्डी दाङका लागि एक करोड ५६ लाख ७२ हजार ३ सय र भेरी अस्पताल बाँकेका लागि एक करोड ४० लाख ७२ हजार ६ सय रुपैयाँ निकासा गरिएको छ।

भदौ १८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्