टेलिकमको सिआरबिटीले मलाई पागलै बनाउन लागिसक्यो!

चिरेर हेर छातीभरि तिम्रै तस्बिर साँचेकी छु, ओ…ओ….
चिरेर हेर छातीभरि तिम्रै तस्बिर साँचेकी छु

अझै म तिम्रो यादमा ओ.. हो….हो..
अझै म तिम्रो यादमा तड्पी तड्पी बाँचेकी छु।’

मेरो मोबाइलमा यो गीत (सिआरबीटी) ‘ब्याकटोन’ बज्छ। मैले यो सिआरबीटी आफूले राखेकी होइन, थाहा छैन। कसरी भयो ? मेरो मोबाइलमा फोन गर्दा ब्याकटोन बज्छ भन्ने मलाई पत्तै थिएन।

एकदिन मेरो साथी अञ्जलीले फोन गरी। उसले मलाई जिस्काउँदै भनी, ‘होइन कस्तो गीत ब्याकटोन राखेको? तँलाई यस्तो गीत मन पर्थेन त? ट्रयाजिटीमा परिस् क्या हो ?’

लभ परे पो ट्र्याजिडी पर्नु!

मैले उसलाई भने, ‘हो र! मैले त गीत नै राखेकी छैन। कसरी भयो यार? अचम्म भयो त। भयो होला, मिस्टेकले म्यासेज आउँथ्यो, कहिले टच भएर भयो कि अब हटाउनु पर्ला।’ हामीले एक छिन कुरा गरेर फोन राख्यौँ।

मैले उसलाई गीत हटाउँछु त भनेकी थिएँ। तर बिर्सेछु। यसैबीच मेरी सहकर्मी मित्र प्रतिभा चन्द केही दिनलाई जरुरी कामले दाङ गइन्। त्यसबेला उनको मलाई फोन आयो र मैले उठाएँ। उनले भनिन्, ‘ओइ! तिमिले कस्तो गीत राखेको!’ उनलाई पनि भनेँ, ‘हेर न, गीत कसरी आफैँ बज्ने भएछ, हटाउँछु भनेको बिर्सेछु। अब हटाउनु पर्छ।’ एक छिन कुरा गरेर फोन राख्यौँ हामीले।

मैले फेरि बिर्सेँ गीत हटाउन।

बिर्सने सिलसिला रोकिएन। यसबिच मलाई धेरैका फोन आए। उनीहरुको पनि यस्तै प्रश्न हुन्थे। हिजो बेलुका ७:४४ मा अफिसबाट मनोज दाहाल सरले न्युज गर्न फोन गर्नुभयो।

उहाँले पनि गीतको बारे जिज्ञासा राख्दै भन्नुभयो, ‘मोबाइलमा त खत्रा ब्याकटोन राखेको रैछौँ त।’ मैले हाँस्दै भनेँ, ‘मैले राखेको होइन सर, हटाउनै आएन।’

सरले मलाई न्यूज बनाउन भनेर फोन राख्नुभयो। अहिले कोरोना महामारीका कारणले घरबाटै काम गरिरहेकी छु।

सरको फोनले पुनः मैले त बिर्सेछु भन्ने सोचेँ। ‘भोलि त पक्का हटाउँछु,’ मनमनै सोचेँ।

खासमा मलाई मोबाइलमा गीत ‘रिङ टोन तथा ब्याक टोन’ राख्न मन पर्दैन। मैले कहिले राखेकी पनि थिएन। यो पहिलो पटक भयो त्यो पनि अन्जानमा।

अन्जानमा भएको गल्ती सुधार्न मैले नेपाल टेलिकमको १४१५ मा डायल गरेँ। १४१५ मा डाइल गर्दा के भन्छन्, नेपाल टेलिकमका प्रयोगकर्तालाई थाहा नै होला?

उताबाट विभिन्न निर्देशनहरु आए, सोही निर्देशन अनुसार मैले अपरेटरको सहायताका लागि सुन्ना थिचेँ। सुन्ना थिच्ने बितिक्कै फोन काटियो।

मैले केही टेक्निकल प्रोब्लम होला भनेर यो प्रक्रिया तीन चार पटक दोहोर्‍याएँ। हालत उस्तै।

‘हामीले त्यति सास्ती नमाने पनि टेलिकममा आफ्ना समस्याहरु राख्न चाहने उपभोक्ताहरुलाई कति सास्ती भए होला। उनीहरुले धेरै दुख पाएका छन्’,

यसरी भएन भनेर टेलिकमको ल्याण्ड लाइन नम्बरमा फोन गरेँ, त्यहाँ पनि फोन उठेन।

जसरी पनि सिआरबीटी हटाएरै छोड्छु भनेर धनगढी शाखामा फोन गर्छु किनभने मेरो नम्बर उतैको हो भनेर गुगलमा गएर ‘नेपाल टेलिकम, धनगढी’ टाइप गरेँ। त्यहाँबाट नम्बर लिएँ अनि फोन गरेँ।

फोन गयो र फोन उठ्यो पनि।

उताबाट पनि आवाज आयो, हेलो।’

उनको आवाज सुन्दा सानी नानीको जस्तो थियो। मैले सोचेँ- टेलिकमकी कर्मचारीको कस्तो बच्चाको जस्तो स्वर… ।

उताबाट फेरि आवाज आयो, ‘यो नेपाल टेलिकमको नम्बर होइन।’ मैले उनलाई भनेँ, ‘मैले सोधेकै छैन, फोन कहाँ पर्‍यो भनेर। कसरी भन्नुभयो नेपाल टेलिकम होइन भनेर?’

‘होइन, हाम्रो घरमा नेपाल टेलिकम हो भनेर जहिले फोन आउँछ, त्यसैले भनेको’, उनले भनिन्। यतिकैमा उनले फोन राखिन्।

साँच्चै उनी सानी नानी नै रैछिन्।

हामी दुईबीच भएको संवाद र मैले सिआरबीटी हटाउन गरेको प्रयासका बारेमा कार्यालयमा दिपक सरलाई सुनाए। उहाँले मलाई खास कुरा के रहेछ, बुझ्न सल्लाह दिनुभयो।

उहाँको सल्लाहअनुसार मैले पुनः त्यो नम्बरमा डायल गरेँ। फेरि ती नानीले नै फोन उठाइन्। उनलाई मैले भनेँ, ‘म अघिको दिदी बोलेको, घरको ठूलो मान्छेलाई फोन देऊ।’ उनले आफ्ना हजुरबुबा महादेव जोशीलाई बोलाइन्।

उहाँसँग कुरा गर्दा थाहा भयो- यस्तो समस्या भएको दुई वर्ष भइसकेछ। उहाँले भन्नुभयो, ‘नेपाल टेलिकम भनेर हाम्रो घरमा फोन आउन लागेको दुई वर्ष भयो।’

उहाँले यस विषयमा टेलिकमलाई खबर नगरेको पनि होइनन्। ‘टेलिकममा पनि जानकारी गराएँ’, उहाँले भन्नुभयो, ‘टेलिकमले मिलिसक्यो भन्छ। तर आजसम्म हालत उस्तै छ।’

‘कसरी यसो हुन गयो’, मैले प्रश्न गरेँ। ‘थाहा छैन कसरी भयो!’ उहाँले जवाफ दिनु भयो।

फेरि सोधेँ मैले, ‘तपाईँको घरको मान्छे टेलिकममा काम गर्नुहुन्छ?’ उहाँको जवाफ, ‘मेरो भतिजो भवानी जोशी गर्छ, अधिकृत हो। अत्तरियामा छ।’

यसरी फोन आइरहँदा निकै सास्ती हुने उहाँले सुनाउनुभयो। ‘हामीले त्यति सास्ती नमाने पनि टेलिकममा आफ्ना समस्याहरु राख्न चाहने उपभोक्ताहरुलाई कति सास्ती भए होला। उनीहरुले धेरै दुख पाएका छन्’, उहाँले भन्नुभयो।

मैले भवानी जोशीलाई यससम्बन्धी बुझ्न उहाँसँग नम्बर मागेँ र सम्पर्क गरेँ। तर, सम्पर्क हुन सकेन।

टेलिकमकै कर्मचारीको परिवारले सास्ती भोगिरहेका छन्, सर्वसाधारणले कति सास्ती खेप्नुपर्छ होला, बुझ्न सकिन्छ।

सिआरबीटी हटाउने सानो समस्या त मैले अझै समाधान गर्न सकेको छैन, अरु समस्याको के कुरा गर्नु?

नेपाल टेलिकमको यो सिआरबिटीले मलाई पागलै बनाउन लागिसक्यो!

भदौ १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्