नेपालगञ्ज – बाँकेमा फेरि दुई दिन निषेधाज्ञा लगाइएको छ। कोरोना संक्रमित बढेको भन्दै स्थानीय प्रशासनले शुक्रबार र शनिबार लकडाउन गर्ने निर्णय गरेको हो।

‘हरेक हप्ताको शुक्रबार र शनिबार निषेधाज्ञा गर्ने निर्णय गरिएको छ, सहायक प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले भने, ‘अरु पाँच दिन सबै खुल्ला हुन्छ।’

गत शुक्रबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले हरेक हप्ताको शुक्रबार र शनिबार निषेधाज्ञा गर्ने निर्णय गरेको थियो।

त्यही अनुसार आज निषेधाज्ञा जारी गरिएको छ । नेपालगञ्ज बजार बिहानैदेखि सुनसान देखिएको छ । अति आवश्यक काम परेका व्यक्तिहरु फाटफुट हिँडेको देखिएको छ।

स्थानीय प्रशासनले निषेधाज्ञाको उल्लंघन गरेमा संक्रामक ऐन अनुसार कारबाही गर्ने चेतावनी दिएको छ। अधिकारीहरुले हप्तामा दुई दिन निषेधाज्ञा गर्दा मात्रै पनि कोरोनाको ‘चेन’ तोड्न सकिने निष्कर्ष निकालेका छन्।

जिल्लामा पछिल्लो दिनमा संक्रमितको संख्या थपिएकै छ। अहिलेसम्म जिल्लामा एक हजार एक सय ३९ जना संक्रमित भइसकेका छन् । ८ सय ३ जना डिस्चार्ज भएका छन्।

लामो समयको लकडाउन र त्यसपछि भएका पटक–पटकको लामो निषेधाज्ञा हटेको तीन हप्ता नपुग्दै फेरि निषेधाज्ञाको अभ्यास गरिएको छ।

पछिल्लो पटक प्रशासनले साउन १७ देखि ३० गतेसम्म निषेधाज्ञा गरेको थियो।

यो बाहेक कोहलपुर नगरपालिकाले साउन ३२ गतेदेखि भदौ १० गतेसम्म र जानकी गाउँपालिकाले साउन ३२ गतेदेखि भदौ ५ गतेसम्म लकडाउन गरेका थिए।

भदौ १९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्