सुशान्त सिंह राजपूत प्रकरणमा रिया चक्रवर्तीका भाइ र म्यानेजर गिरफ्तार

अभिनेत्री रिया चक्रवर्तीका भाइ शौविक चक्रवर्ती र सुशान्त सिंह राजपूतका म्यानेजर रहेका सैमुएल मिरान्डालाई नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) को टोलीले पक्राउ गरेको छ।

बलिउड अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु मामलामा यो पहिलो गिरफ्तारी हो।

सुशान्त सिंह राजपूतको मृत्युको अनुसन्धान सीबीआईले गरिरहेको छ तर यो गिरफ्तारी एनसीबीले ड्रग्सको लेनदेनका विषयमा गरेको हो ।

सीबीआईको जाँचमा ड्रग्सको कारोबारमा जोडिएका केही नाम सार्वजनिक भएका थिए र लगत्तै एनसीबीले छानबिन अघि बढाएको थियो।

एनसीबीले छानबिनका क्रममा ड्रग्सको कारोबारमा जोडिएका केही व्यक्तिहरुसँग सोधपुछ गरेको थियो र केहीलाई हिरासतमा समेत लिएको थियो ।

यो सोधपुछमा शौविक र सैमुएलको नाम समेत जोडिएपछि शुक्रबार बिहानै एनसीबीले दुवैको घरमा खानतलासी गरेको थियो।

शुक्रबार बिहान एनसीबीको टोली शौविक चक्रवर्ती र सैमुएल मिराण्डाको घर पुगेको थियो।

एनसीबीले शौविक चक्रवर्तीको ल्यापटप र अन्य दस्तावेज सीज गरेको छ ।

शुक्रबार मध्यराति एनसीबीले शौविक र सैमुएललाई गिरफ्तार गर्ने आदेश जारी गरेको खबर बाहिर आएको थियो। त्यसको केही घण्टापछि उनीहरु पक्राउ परेका हुन्।

सुशान्त सिंह राजपूत मुम्बई स्थित आफ्नो घरमा मृत भेटिएका थिए।

भदौ २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्