सुनम गौतमलाई बिग बासमा अवसर दिन स्टुवार्ट मेकगिलले गरे सिफारिस, उत्साहित र आशावादी छन् गौतम

सुनम गाैतम

सिड्नी – चर्चित पूर्व अस्ट्रेलियन क्रिकेटर स्टुआर्ट मेकगिलले नेपाली क्रिकेटर सुनम गौतमलाई अस्ट्रेलियाको ‘बिग बास लिग’मा सामेल गर्नका लागि सम्बद्ध क्लबहरूलाई सिफारिश गरेका छन् ।

क्रिकेटर मेकगिलले आफ्नो आधिकारिक ट्वीटर अकाउन्टबाट नेपाली खेलाडी सुनम गौतमलाई मेन्सन गर्दै सो सिफारिश गरेका हुन् ।

ट्वीटरमा मेकगिलले भनेका छन्, “स्पिन बलरको खोजी गरेका बिबिएल क्लबहरू जसले विपक्षीमाथि हावी भएर प्रतिष्पर्धात्मक खेलहरू जिताउन सक्छ उनीहरूले सुनम गौतमबाहेक अन्त हेर्नु पर्दैन । मलाई विश्वास गर्नुस् ।”

पूर्व अस्ट्रेलियन क्रिकेटर स्टुआर्ट मेकगिल म्याकगिल आधुनिक क्रिकेटमा सबैभन्दा राम्रो स्ट्राइक रेट भएका लेग स्पिनर हुन् । उनले अस्ट्रेलियाका लागि ४४ वटा टेस्ट म्याच खेलेर २ सय ८ वटा विकेट लिएका छन् । त्यसैगरी उनले तीनवटा एकदिवसीय म्याच खेलेर ६ वटा विकेट लिएका छन् । उनलाई अस्ट्रेलियाको राष्ट्रिय टोलीमा शेन वार्नको उपस्थितिका कारण छायाँमा परेका खेलाडीका रूपमा पनि लिइने गरिन्छ ।

स्टुआर्ट मेकगिलले गरेको ट्वीटले आफ्नो क्रिकेटिङ करियरमा धेरै नै अर्थ र महत्व राख्ने तथा यसले आफूलाई आत्मविश्वास बढाउन भूमिका खेल्ने कुरा देशसञ्चारसँग कुरा गर्दै क्रिकेटर सुनम गौतमले बताए ।

३० वर्षीय क्रिकेटर सुनम गौतमले भने, “यसले मलाई आत्मविश्वास बढाउन त मद्दत गर्ने भइहाल्यो । त्यसमाथि भविष्यमा अरू अवसरहरू पनि आउने सम्भावना बढाएको छ ।”

नेपालमा रहँदा काठमाडौँ, एपिएफ लगायतका टिमबाट क्रिकेट खेलिसकेका गौतमले सन् २००५ मा अन्डर–१७, २००७ मा अण्डर–१९ तथा सन् २००९ मा इंगल्याण्डको एमसिसी विरुद्ध पनि राष्ट्रिय टोलीबाट सहभागिता जनाइसकेका छन् ।

अस्ट्रेलिया यात्रा

सन् २०१२ मा ‘स्पोर्टस् साइन्स’ अध्ययन गर्नका लागि अस्ट्रेलियामा आएका सुनम गौतम यहाँ आएपछि पनि आफ्नो खेलजीवनलाई निरन्तरता दिइरहेका छन् । क्रिकेटमार्फत् नै पिआर पाएका गौतमले भविष्यमा नेपाली टोलीबाट खेल्ने सपना भएका कारणले अस्ट्रेलियन नागरिकता नलिएको बताए ।

उनी फुटस्क्रे क्रिकेट क्लब, ग्रिनभेल कंगारूज हुँदै अहिले एडिलेडको साउदर्न डिस्ट्रिक्ट क्रिकेट क्लबबाट आवद्ध भएर क्रिकेट खेल्दै आएका छन् ।

स्टुआर्ट म्याकगिलसँगको चिनाजानी

सुनम गौतम आवद्ध रहेको क्लब साउदर्न डिस्ट्रिक्ट क्रिकेट क्लबका कोच कार्ल हुपर हुन् । उनी वेष्ट इन्डिजका पूर्व कप्तान पनि हुन् । उनको एक मैत्रीपूर्ण खेलका क्रममा सहभागी भएका स्टुआर्ट मेकगिलसँग पहिलोपटक चिनाजानी भएको थियो ।

स्टुआर्ट म्याकगिलका साथ सुनम गाैतम । तस्वीर स्राेत: फेसबुक

त्यसबखत् एउटै टिमबाट खेलेका मेकगिलले गौतमले बलिङ देखेर निकै प्रभावित भएका थिए । त्यसबखत् उनको ‘दुसरा बलिङ’लाई सकलेन गरेको दुसरापछिको उत्कृष्ट दुसरा भनेर टिप्पणी समेत गरेका थिए ।

बिग ब्यास सपना

स्टुआर्ट मेकगिलको ट्वीटले गर्दा आगामी बिग ब्यास खेल्ने सम्भावना अझ बलियो बनाएको गौतम बताउँछन् । त्यसमाथि उनले केही क्लबहरूसँग व्यक्तिगत रूपमा कुराकानी गरेको भनेर आफूलाई खबर गरेपछि झनै उत्साहित बनेको गौतमले बताए ।

“स्टुआर्ट मेकगिलले पोष्ट गरेपछि धेरै नै प्रतिक्रियाहरू पाइराहेको छु । छनौट हुने वा नहुने त नतिजा पछि मात्र थाहा हुने कुरा हो तर बिग ब्यासमा खेल्न पाउनेमा म आशावादी रहेको छु ।” सुनम गौतमले भने ।

हालसम्म अस्ट्रेलियाको बिग ब्यासमा खेल्ने सन्दिप लामिछाने एकमात्र नेपाली खेलाडी हुन् ।

भविष्यको योजना

भविष्यमा नेपाली टोलीबाटै खेलेर नेपाललाई अझ राम्रो स्तरमा पुराउने उनको लक्ष्य रहेको छ । त्यसपछि एउटा कोचिङ एकेडेमीमार्फत् क्रिकेटमैं संलग्न रहेर खेल क्षेत्रमैं लागिरहने उनको योजना रहेको छ ।

सुनम गौतमले अस्ट्रेलियाको घरेलु क्रिकेटमा कुल २ सय ९ खेल खेलेर ५ हजार ९९ रन बनाएका छन् भने २ सय ४९ विकेट लिइसकेका छन् । उनको उत्कृष्ट ब्याटिङ योगफल १ सय ८७ रन हो भने १४ रन खर्चेर लिएको ६ विकेट उत्कृष्ट बलिङ प्रदर्शन हो ।

भदौ २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्