चुल्हो बल्न छाड्यो

लकडाउनले खोस्यो यातायात मजदुरको रोजगारी

घरमा छोरासँग बस चालक वीरबहादुर लोहार

दाङ – वीरबहादुर लोहारले दाङ-काठमाडौँ बस चलाउथे । चैत ९ गते बाट उनले बस चलाउन पाएका छैनन् । कोरोना भाइरसको संक्रमण फैलनबाट रोक्न भन्दै सरकारले लकडाउन गरेपछि उनको रोजगारी खोसिन पुग्यो ।

पाँचजनाको परिवार उनकै कमाईबाट चल्थ्यो । बस चलाएर मासिक ५० हजार रुपैयाँसम्म आम्दानी हुन्थ्यो । तर, बितेको पाँच महिनामा एक रुपैयाँ पनि आम्दानी भएको छैन । उल्टै ऋण थपिएको छ ।

लमहीमा कोठा भाडा लिएर उनको परिवार बसेको छ । ‘कोठा भाडा समेत तीर्न सकेको छैन । साँझ बिहानको छाकको लागि दाल, चामल किन्न साहुसँग ऋण काडेको छु’ वीरबहादुरले दुःख बिसाउदै भने–‘गाडी चलाउन नपाउँदा घरमै थन्केर बस्नु परेको छ । जानेको काम त्यही थियो ।’

वीरबहादुरले गएको तीजमा श्रीमतीलाई नयाँ कपडा किनिदिन सकेनन् । चार्ड पर्व पनि खल्लो हुँदै गएका छन् । ‘रहर गरेर के गर्नु । कमाई छैन । पाँच महिनासम्म खाली हात बस्नु परेको छ । श्रीमतीलाई तीजमा नयाँ कपडा समेत किनिदिन सकेन । दसैँ आउँदै छ । छोरा छोरीले रहर गर्लान् । के भनेर टार्ने’ उनले भने–‘न गाडी साहुले एक पटक फोन गर्नु भएको छ । न सरकारले हेरेको छ ।’

लकडाउन भएको महिना दिनपछि वडा कार्यालयले राहत वितरण गर्‍यो । तर, लोहारको परिवारले राहात पाएन ।‘गाडी चालक हो भनेर राहात दिएनन् । घरमा चुलो बल्ने अवस्था थिएन । तर, राहात दिइएन’ लुहारकी श्रीमती सरितादेवीले भनिन्–‘आफ्नो के अवस्था छ । अरुलाई के थाहा । दाल, चामल किनेको ऋण पसलमा गाभिँदै गएको छ ।’

तेजप्रसाद अधिकारी(राजु) ना ५ ख २३९८ नम्बरको साहु हुन् । पाँच महिना भयो गाडी पार्किङ्गमा थन्किएको छ । गाडी चलाउन नपाउँदा साहुहरुको ऋण थपिदै गएको उनले बताए ।

‘गाडी चलाउन नपाउँदा बसमा खिया लाग्यो । टायर गाडिन थाल्यो’ तेजप्रसादले भने–‘यो लकडाउनले सबै भन्दा मार त यातायात क्षेत्रमा पर्‍यो । सरकारले गाडी चलाउन भने पनि हामी यही अवस्थामा चलाउन सक्ने अवस्थामा छैनौँ । एक डेढ लाख रुपैयाँ मर्मतमै सकिन्छ । यो पैसा कहाँबाट जुटाउनु ।’

गाडी यही कन्डिसनमा चलाउन सक्ने अवस्था छैन । ‘गाडी त कवाड हुन थालिसक्यो । लेदर जाम भयो । मोविल फेर्न पर्छ । गाडी पूरै मर्मत नगरे सम्म चलाउन सकिने अवस्था छैन्’ अधिकारीले भने–‘सरकारले बैंकमा ऋण भएका व्यवसायीको किस्ता सार्नुपर्छ र तत्काल मर्मतको लागि सहुलियत ऋण लिने व्यवस्था मिलाउनु पर्छ ।’

घर अगाडि पार्किङ्गमा थन्किएको कुमार भट्टराइको बस

लमही निवासी कुमार भट्टराईले बस नामसारी गरेको केही दिनमै लकडाउन भयो । बैंकबाट ऋण लिएर बसको पैसा भुक्तानी गरेका भट्टराईले मासिक ४४ हजार बढी रुपैयाँ किस्ता बुझाउनु पर्छ । अहिले यो किस्ता बाफतको रकम बुझाउन सकिएको छैन् ।

‘ऋणको भारी थपिँदै गएको छ । यो महामारीले गर्दा त्यसको पीडा हामीले सहनु परेको छ’भट्टराईले भने–‘गाडी साहुलाई पनि मर्का छ । त्यसमा पनि गाडीमा आश्रीत भएका चालक, सहचालकहरुको अवस्था दयनीय छ ।’

कोरोना भाइरस संक्रमण फैलन नदिन सरकारले सार्वजनिक सवारी साधन सञ्चालन गर्न रोकेपछि दाङमा मात्रै झण्डै ८ हजार यातायात मजदुर बेरोजगार भएको नेपाल स्वतन्त्र यातायात संगठन दाङका अध्यक्ष केशव भण्डारीले बताए ।

लामो र छोटो दूरीमा चल्ने सवारी साधनमा कार्यरत चालक, सहचालक र परिचालकहरु बेरोजगार भएको र उनीहरुको व्यवस्थापनमा सरकारले कुनै ठोस कार्यक्रम ल्याउन नसकेकोमा आक्रोश पोखे।

‘मजदुरको घरको चुल्हो बल्न छाडीसक्यो । अहिलेको अवस्थामा मजदुरलाई निकै सकस छ’ भण्डारीले भने–‘दैनिक काम गरेर घर परिवार चलाउँदै आएकाहरुको अवस्था के होला ? हिजो रोग देखि डराउनु पर्ने अवस्था थियो । अहिले भोक देखि डराउनु पर्ने अवस्था आयो ।’

बस चालक वीरबहादुर लोहार

देशभर ११ लाख यातायात क्षेत्रमा आश्रित श्रमिकको रोजगारी गुमेको भण्डारीले बताए । सरकारले यातायात क्षेत्रमा कार्यरत मजदुरहरुलाई सम्बोधन गर्न विशेष कार्यक्रम ल्याउन सुझाव दिए।

भदौ २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्