जीवन दर्शन

इमोशनल इन्टेलिजेन्स र जीवनको सार

फुर्सदलाई सदुपयोग गर्दै विगत केही महिनादेखि मैले दर्शनशास्त्र र अध्यात्मबारे अध्ययन र चिन्तनलाई समय दिएको छु। हाम्रो समाज र बिश्वमा नै दिनानुदिन देखिने बिभिन्न घटनाहरुलाई दर्शन र अध्यात्मको चश्माले हेर्दा मानव मन र व्यवहार बुझ्न केही सजिलो हुने रहेछ।

बिगत झण्डै ९ महिनामा कोभिड १९ ले सम्पूर्ण बिश्वको आर्थिक, सामाजिक, साँस्कृतिक सम्बन्धहरुलाई तहस नहस पारेको छ । मैं हूँ भन्ने दिग्गजलाई समेत सूक्ष्म भाइरसले उसको असलीऔकात देखाइदिएको छ । मलाई मानवजीवनको असली सार बुझ्न मन लाग्यो, अनि बिभिन्न दार्शनिकहरुका भनाइ गहिरिएर अध्ययन गरेँ। मैले सिकेका कुराको संक्षेप यहाँ प्रस्तुत गर्दै छु।

दर्शनशास्त्री सोरेन कर्कगार्डले अस्तित्वबाद (Existentialism) को अवधारणा ल्याएका रहेछन्। अनि बिभिन्न बिद्वानहरुले यस बिषयमा थप व्याख्या गरे। दार्शनिक जाँ पाल सात्रले भनेका थिए, मानिस अस्तित्वमाआएपछि (जन्मिएपछि) उसले आफ्नो जीवनको सार आफैं पहिल्याउँछ –”Existence preceds essence” मानिसलाई उसको समाज, बिज्ञान, राजनीति, धर्म, साहित्यलगायतको यावत कुराहरुले प्रभाव पारेको हुन्छ, तैपनि उसले यी सबै कुरालाई गौण मान्दै “Nothingness” अर्थात् शून्यतामाआफ्नो असली चरित्र “जीवन सार” पहिल्याउने क्षमता राख्दछ ।

हाल आएर उत्तर आधुनिकता (Post Modernism) का समर्थकहरुले आधुनिकताले ल्याएका सामाजिक बिकृतिहरु त्याज्य छन्, अनि हाम्रो जीवनको उन्मुक्त स्वतन्त्रता सहित सच्चरित्रतायुक्त सारपूर्ण जीवन नै अस्तित्वबादको दीगोपनाका लागि नभई नहुने पूर्व–शर्त हो भन्दै छन् । भौतिक दुनियाँमा छटपटाहट छ, नचाहिंदो प्रतिस्पर्धा छ, अनि प्रकृतिको अनियन्त्रित दोहन छ। यी सबैले प्राणी मात्रको अन्तर सम्बन्धको बास्तविकता र औचित्यलाई नकार्छन्, त्यसैले त्याज्य छन्।

मैले स्वास्थ्य बिज्ञान पढ्दा वाकवाकी लाग्ने अवस्था “Nausea” का बारेमा पढेको थिएँ। यसका बिभिन्न शारीरिक र केही मानसिक कारणहरु हुन्छन्। तर सात्रले Nausea शीर्षकको पुस्तकमार्फत कसरी आफ्नो अस्तित्वको यथार्थ, आफ्नो शरीर र आत्माको स्वतन्त्रताअनिजीवनको सार बुझेको मानिस बाहिरी संसारको प्रभावबाट मुक्त हुन प्रयासरत रहन्छ भनी चित्रण गरेका छन्।

पूर्वीय शास्त्रका नीतिश्लोकमा भनिएको छ –

“घृष्टं घृष्टं पुनरपिपुनश्चन्दनं चारुगन्धं
छिन्नं छिन्नं पुनरपिपुनः स्वादुचैवेक्षुदण्डम्
दग्धं दग्धं पुनरपिपुनःकाञ्चनं कान्तवर्णं
प्राणान्तेपिप्रकृति बिकृतिर्जायते नोत्तमानाम्”

यसको भावार्थ हुन्छ – जसरी बारम्बार घोटिएर पनि चन्दन (श्रीखण्ड) सुगन्धित रहन्छ, टुक्राटुक्रा काटिंदा पनि उखु गुलियो नै रहन्छ, जति डढाए पनि सुन त्यति नै उज्यालो (सुनौलो) हुन्छ, त्यस्त्यै उत्तम मानिसहरु प्राणै जाने अवस्था आए पनि आफ्नो प्रकृतिविपरीत जाँदैनन्।

अनि यसरी आफ्नो जीवनको सार अर्थात essence बुझेका मान्छेहरु जस्तोसुकै आर्थिक, राजनीतिक, सामाजिक प्रलोभन र प्रतिकूलता आए पनि ती प्रलोभनहरुबाट मुक्त भई रहन सक्ने रहेछन्। साँचो अर्थमा बाँचेका त उनीहरु पो रहेछन् कि?

दार्शनिक फ्रेडरिक नित्से (सन् १८४४–१९००) ले भनेका थिए- “To live is to suffer, to survive is to find meaning in the suffering.” प्रतिकूलतामा जीवनको अर्थ खोज्न सक्नु नै बाँच्नुको साँचो अर्थ हुने रहेछ।

लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने प्रयासमा रहेको देशका हामी नागरिक अहिले कोभिडको संक्रमण र हाम्रो राजनीतिक, सामाजिक, आर्थिक जीवनको अत्यन्तै प्रतिकूल परिस्थितिमा छौं। म र आफ्नोको साँघुरो दायराबाट निस्केर “सर्वजन हिताय, सर्वजन सुखाय” को आदर्श पछयाउँदा शायद हामीआफू “हुनु”को अर्थ पहिल्याउन सक्छौं होला।

दार्शनिक जे एस मिलले भनेका छन्- “Greatest Happiness of the greatest number” नै सबैभन्दा प्रभावकारी राजनीतिको दर्शन हो।

वर्तमान समयमा मानसिक स्वास्थ्य समस्याहरु चुलिएका छन्, आत्महत्याका घटनाहरु बढेका छन्, मानिस जीवनसँग बिरक्त भएको छ। धेरैले आफ्नो जीवनको अर्थ बुझ्न प्रयास गरिरहेका छन्। Enough is enough  को नाराद्वारा अकर्मण्यता र बिकृतिको बिरोध गर्दैछन्। यो ऊर्जालाई सकारात्मकतातर्फ निरन्तर डोर्‍याउन गहिरो सामाजिक चेत र अर्थपूर्ण जीवनको खोज अपरिहार्य छ।

बिश्व भौतिकबादी छ, यहाँ प्रसस्त चुनौतीहरु छन्, अनि अवसरहरु कम छन्, प्रतिस्पर्धा अनिवार्य छ। अनि प्रश्न उठ्छ, सफल हुनका लागि के गर्ने त?

यसर्थ सकारात्मक सोचद्वारा हाम्रो व्यक्तित्व विकास र निरन्तर दिमागी कार्यहरुका लागि ऊर्जा प्रदान गर्न सकिन्छ। हाम्रा सोच र व्यवहारहरुलाई सकारात्मकतातर्फ डोर्‍याउन र जीवनका आदर्शहरु पछ्याउन emotional intelligence  (सम्बेगात्मक चेत) ले सहयोग पुर्‍याउँछ। 

शिक्षा सबैका लागि धेरै महत्वपूर्ण कुरा हो। असल शिक्षाले बुद्धि, बिबेक र सीप बढाउन मद्दत गर्छ। शिक्षाको गुणस्तर व्यक्तिको क्षमता प्रस्फुटन गर्न सक्ने किसिमको हुनु पर्दछ भनेर बिभिन्न शिक्षाबिदहरुले र बेलायतका प्रख्यात शिक्षाविद केन रबिन्सनले बारम्बार औंल्याएका छन्।

अचेल STEM शिक्षा अर्थात् बिज्ञान, प्रबिधि र व्यवस्थापनलाई बिश्वभरि नै र नेपालमापनि प्राथमिकता दिइएको छ। म आफैं पनि बिज्ञानको बिद्यार्थी। बिज्ञान, प्रविधि र व्यवस्थापन महत्वपूर्ण छन्। मानव शरीरसँग शिक्षाको तुलना गर्ने हो भने STEM बलिया हातखुट्टा हुन्, जुन हामीलाई जीवनमा दौडन र जीवन दौड जित्न सहायक छन्। तर शिक्षाको आत्मा, नैतिक शिक्षा, समाजशास्त्र र साहित्यबिना यिनीहरु अपूर्ण छन्।

हामी सानो छँदा घर परिवारमा नैतिक शिक्षा पाइन्थ्यो, विद्यालयमा नैतिक शिक्षा र सामाजिकशास्त्र, वातावरण, साहित्य आदि बिषयको पढाइ हुन्थ्यो। अनि समाजको छलफलहरुमा पनि कथा, कविता, साहित्यका चर्चा सहित जीवनका अन्य महत्वपूर्ण पाटोहरुबारे छलफल गरिन्थ्यो। अचेल यी बिषयहरुभन्दा बढी राजनीति र आर्थिक उपार्जनका जायज नाजायज बिषयहरुले प्राथमिकता पाएका छन्।

परीक्षामा पाएका अंकहरुले मात्र व्यक्तिको सफलता या असफलता मापन गर्न सकिँदैन भन्ने कुरामा बिबाद छैन। मानिसको “इन्टेलिजेन्स”ले व्यक्तिव्यक्तिबीच सफलता प्राप्तिको प्रयासमा १० देखि २० प्रतिशत फरक पार्न सक्छ, तर बाँकी ८०–९० प्रतिशतलाई अन्य धेरै कुराहरुले निर्धारण गरेका हुन्छन्। यी धेरै कुराहरु मध्ये अचेल “Emotional intelligence” (सम्बेगात्मक चेत) ले प्राथमिकता पाएको छ।

हरेक दिन मानिसले ४०० भन्दा बढी प्रकारका भावनात्मक अनुभवहरु गरिरहेको हुन्छ । यीमध्ये धेरैले उसको व्यक्तित्व निर्माण, दृष्टिकोण र व्यवहारलाई निर्देशित गरिरहेका हुन्छन्।

मैले केही दिनपहिले सुख, डिप्रेशन र युवा बिषयमा लेखहरु लेख्दा स्नायु बिज्ञानको चर्चा गर्दै हाम्रो दिमागका बिभिन्न भागहरुको कामबारे केही प्रकाश पारेको थिएँ। हाम्रो दिमागमा रहेको प्रिफ्रन्टल कर्टेक्सको तल्लो भाग (Orbital Pre-frontal Cortex)  ले हाम्रा सम्बेग, बेदना, भावनाहरुलाई बिश्लेषण गर्छ र हामीलाई तीअनुभवहरुका आधारमा उचित कार्य गर्न प्रेरित गर्दछ ।

हाम्रो दिमागको यो भागले दिमागको ४–५ प्रतिशत जति मात्रै आयतन ओगटेको हुन्छ तर यसका कामहरु धेरै महत्वपूर्ण छन् । यसले दिमागको अर्को भाग लिम्बिक सिस्टम  (Limbic System) सँगको सहकार्यमा रसायनहरुको निर्माण या स्नायुका“इम्पल्स”हरुको माध्यमबाट हाम्रा कार्यहरुलाई निर्देशित गर्दछ। यी कामहरु गर्न दिमागलाई धेरै उर्जाको आवश्यकता पर्दछ र ध्यान एकाग्र गर्न अथक प्रयास चाहिन्छ ।

दिमागमा एकचोटि पसेका सूचनाहरुले सदाका लागिआफ्नो छाप छोड्छन्, जसलाई मेटाउन सकिँदैन, तर नयाँ छापहरुद्वारा तिनका असरलाई न्यूनीकरण गर्न सकिन्छ ।

यसर्थ सकारात्मक सोचद्वारा हाम्रो व्यक्तित्व विकास र निरन्तर दिमागी कार्यहरुका लागि ऊर्जा प्रदान गर्न सकिन्छ। हाम्रा सोच र व्यवहारहरुलाई सकारात्मकतातर्फ डोर्‍याउन र जीवनका आदर्शहरु पछ्याउन emotional intelligence  (सम्बेगात्मक चेत) ले सहयोग पुर्‍याउँछ।

म अर्को लेखमा सम्बेगात्मक चेतबारे थप प्रष्ट पार्ने छु । आजका लागि प्रसिद्ध मनोचिकित्सक भिक्टर फ्रयान्कल (Victor Frankl)  ले भनेका कुरा यहाँ राख्न चाहन्छु
– The meaning of life is to give life meaning

जस्तोसुकै प्रतिकूल अवस्थामा पनि जीवनलाई अर्थ दिनु नै जीवनको अर्थ हो भन्ने सारगर्भित भनाइलाई हामी सबैले मनन गरौं।

भदौ २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्