आखिरमा खुसी भनेको के हो! खुसी दर्शन हो कि आत्मज्ञान हो वा निर्वाण प्राप्ति कि ध्यान हो? मानिस हरपल खुसीको खोजीमा हुछन्।  जीवनलाई सार्थक र सुन्दर बनाउन खुसीले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुनाले नै होला  यसको खोजमा लागिरहन्छन्, लागिरहेछन्। आफ्नो वरिपरिको परिवेशलाई क्रान्ति भावले हेर्न सके हाम्रो मन मष्तिष्क शान्त हुँदैँ आनन्दित हुन्छ। त्यही आनन्द नै खुसीको एउटा अवधारणा हो जस्तो लाग्छ मलाई त।

यसैले जतिसुकै मूल्यमा पनि किन्न नसकिने खुसी भन्ने कुरा आफैभित्रबाट आउने तरङ्ग हो कि के हो? के यो कसैले भन्न सक्छ? आफैबाट सुरू भएर आफैसँग अन्त हुने मानिसको खुसी विचित्रको लिला हो कि के होला अन्योल हुँदाहुँदै पनि सहीजस्तो पनि लाग्छ। जुन आफै भित्रबाट उजागर गरेर सन्तुष्ट प्राप्त गर्नु र बाहिरी खोजमा नभौँतारिनु हो सायद। यसैले खुसी भेट्नेहरू भन्छन्- सकारात्मक भावना लिएर प्राप्त हुने खुसीमा शक्ति प्रवाह भइरहेको हुन्छ।

खुसी शब्दको सटिक अर्थ नै केलाई भन्ने हो थाहा छैन मलाई। तर यो अनुभूत गर्ने कुरा हो कि जस्तो पनि लाग्छ। कहिलेकाहिँ के कारण र किन कोबाट खुसी भइयो भन्ने हेक्का समेत नरहेर पनि खुसी हुन सकिने रैछ। यसैले परिभाषित नै  नहुने खुशीको दर्शन भन्नु नै सबैको बारेमा राम्रो सोचेर आफू बाँचेको युग हाँक्नु हो सायद। क्षणक्षणमा खुसी हुनु र निराश हुनु मानव जीवनको अनौठो तारतम्य, कस्तो विचित्रको वा। त्यसैले त दुखमा नआत्तिनु र सुखमा नमात्तिनु भन्ने एउटा उक्ति छ। यसलाई मनन गरेर चल्नु नै खुसीको सौन्दर्य हो जस्तो पनि लाग्छ।

खुसीका पनि असरल्ल स्रोतहरू छन्। शाररिक खुसी, मानसिक खुसी, भावनात्मक खुसी र  आध्यात्मिक खुसी आदि आदि। खुसीको न कुनै मानक छ र न धेरथोरको ओजन  हुने कुनै ओजन नै छ। खुसी आफ्नै विचारबाट सिर्जना गर्न सक्ने वास्तविकताको सुन्दर सरोबर मानेर आफैले खोज्न जान्नु नै जीवन हो भन्न मन लाग्छ। खुसी सकारात्मक समयको सुगम यात्रा भएकाले  नकरात्मक भाव राख्नेहरू न आफु खुसी हुन सक्छन न अरू खुसी भएको हेर्न सक्छन्। अनि केही सिप नचले पछि आफ्नो सारा बल अर्काको अहितमा लगाएर खुसी हुनुको ढ्वाङ्ग रच्दै खुसी हुनै नसकी जीवन समाप्त गर्छन्।

खुसी क्षणिक रूपमा कसैले केमा प्राप्त गर्छन् कसैले केमा भन्न नै नसकिने रहेछ। कोही धन कमाएर खुसी हुन्छन्, कोही प्रेम मिलनमा,  कोही दुखिरहेको शरिर र मन सन्चो हुँदा खुसी हुन्छन्। कोही अर्कालाई दिन पाउँदा  खुसी हुन्छन् कोही अरूबाट लिन पाउँदा खुसी हुन्छन् कोही आफूले सोचेको काम गर्न पाउँदा। कोही भगवानको साधनामा लीन भएर, कोही कसैको मधुर बोलीमा। कोही सफलतामा कोही सन्तानको उन्नतिमा। कोही अर्काको कुरा काट्न पाउँदा खुसी हुन्छन् आदि आदि। तर यो पनि सत्य हो सबै हाँस्नेहरू खुसी हुन्नन्। तर हरेक बहाना र उपाय अपनाएर खुसी हुने प्रयास गर्छन्। समय अनुसार र परिस्थितिलाई मध्यनजर राख्न जाने खुसीका अनगिन्ती तरङ्ग सलबलाउँदा छन्। एउटा संसयको कुरा आफूमा हुने खुसी बिर्सिएर मानिसहरू बाहिरी खुसी किन खोजिरहन्छन्?

म पनि कहिले कुन र कहिले कुनै न कुनै मौका पारेर खुसी हुने प्रयत्‍नमा अविश्रान्त लागिरहेछु। कुन कर्मबाट खुसी भै रहेछु भनेर कहिलेकाहिँ त म अनमयस्कमा पनि पर्छु। अनि बिस्तारै चेतनाद्वारा प्राप्त भइरहेको खुसीलाई  जब चिन्तन गर्छु अनि अड्कल काट्दै आफैलाई बेस्कन मन पराएकी छु। त्यसबेला म खुसीले पुलकित भएका केही स्मृति पनि तरङ्गित छन्।
खुसी भनेको स्वतन्त्रताको एउटा सुन्दर बाटो हो जस्तो लाग्छ मलाई। रचनात्मक कर्मबाट खुसी हुनु त झन कुरै नगरौँ। जीवनको हरेक पल खुसीको खोज गर्नु र आनन्दको उत्सव मनाएर जीवन बाँच्नुको सौभाग्य सबैलाई कहाँ हुन्छ र? कहिले अलिबढी उत्साहित या उदासीनतामा आफ्नो सक्रिय भावना बदलिँएर निस्क्रिय बनिने रैछ। हुन त यसलाई  आफैँले स्वास्थ्य बनाउन सकिन्छ भन्ने पनि  बिर्सिन हुँदैन। मानिसहरू कठिन संघर्ष र दुखको बिच पनि खुसी नै हुन् चाहन्छन् नि। यसो हुनुमा जीवन शक्तिको र सकारात्मक सोचको प्रभावलाई अघि सारेर केही प्राप्त गर्न सकिन्छ जस्तो लाग्छ मलाई त। यो खुसी भन्ने कस्तो लिप्सा हो सुटुक्क आउँछ र, कहिले दुख छाडेर कहिले नछाडी एकैक्षणमा हराउँछ। सधैंसधैं खुसी हुनु निकै राम्रो कुरा हो। त्यसमा पनि कहिलेकाहिँ कहिको खुसी त जीवनभरको मीठो यादगार बनेर रहन्छ। जीवनमा खुसी हुन निराशाका कुरा नसम्झी आशावादी रंगमा अघि बढ्न सके कति राम्रो।

राजनीति-शास्त्रका जननी’  दार्शनिक अरस्तु  महान दार्शनिक प्लेटोका शिष्य र विश्व प्रसिद्ध योद्धा तथा सम्राट सिकन्दरका गुरू थिए। उनले खुसीलाई आफैले आविष्कार गर्ने तत्व हो भनेका छन्। मानव जीवनको मूलभूत उद्देश्य नै खुसी हुनु हो। एउटा लक्ष्यमा पुगेर निर्माण प्राप्त गर्नु हो र कुनै पनि कामको सुरुआती अवस्थाबाट नै प्राप्तिको आभास झल्कनु खुसी हुनु हो। उनले जीवनलाई शारीरिक र मानसिक रूपमा स्वास्थ्य राख्ने अचुक औषधीको रूपमा परिपूर्ति गर्ने तत्व खुसी हो भनेर आफ्नो अवधारणा राखेका छन्। अनि फेरि अरस्तुले आफूद्वारा प्रतिपादित  ‘निकोमैकियन एथिक्समा खुसीको यस्तो सिद्धान्त  प्रस्तुत गरेका छन्। अरस्तूको खुसीको यो सिद्धांत आजको परिस्थितिमा सान्दर्भिक देखिन आउँछ। उनले आवश्यकता पूरा हुँदा र राम्रो नाता सम्बन्ध, सफलता,  पैसा, शक्तिले छिटै खुसी हुन सक्ने तर्क उठाएका छन्। हो नि मै खाउँ मै लाऊँ भन्ने यो समयको गतिमा यहि त भईरहेको छ होन त!

धनी गरिब विद्वान अनपढ सडकमा बसेर जीवन निर्वाह गर्ने जो कोही कुनै न कुनै अर्थमा  खुसी छन्। तर धनी मानिसहरू मात्र खुसी हुन्छन् भन्ने तर्क पनि ठिक हैन्।  किन भने धनी र सुविधा सम्पन्न व्यक्तिहरू भन्दा दिनभर ज्याल मजदुरी गर्ने खुसी हुन्छन्। धनीलाई तनाव र चिन्ताले जहिले सताउँछ। समय दिन नपाउँदा सम्बन्धको डर, धन सम्पत्ति चोरी होला कि भन्ने डर, अनि आफूलाई र आफ्ना प्रियजनलाई कसैले अपहरण गर्ला कि भन्ने चिन्ता, रोगले काम छुट्ने हो की भन्ने लोभ, आदि आदि। अरू हात्तीमा चढेको देखेर धुरीमा चढ्ने महत्वाकाङ्क्षा। वाफ रे वाफ कति हो कति खुसीका अड्चन त! तर यी सबै कारणले समय नै संकटमा पर्दै गइरहेको हामीले अनुभव नगरेका छौँ र! अबको  जीवन खुसीले बिताउँछु भन्यो झन दुख व्यहोर्नु पर्ने हरेक मानिसहरूको अवस्था झन झन जटिलताका साथ बढ्दै गएको छ। भित्रबाट अनुमोदन गर्ने खुसी बाहिर पाउने चाहनामा भौतारिँदा भौतारिँदै आफू अन्त भएका अधुरा जीवन प्रायले भोग्छ भोगिरहेको छ भन्ने कुरा पनि सोचनीय नै छ।

जीवनलाई प्रेम गर्नेहरू जहिले खुसी हुन्छन्। उनीहरूमा खुसीका तरङ्ग एकाएक उब्जिरहने गर्छ र प्रफुल्ल हुन्छ। जब मान्छे एकदमै प्रफुल्लित हुन्छ तब मात्र मन पनि प्रफुल्लित हुन्छ। उसमा एकाएक खुसीको मीठो भाव एकाकार हुन्छ। खुसी हुने मान्छे फूलजस्तै सुन्दर र स्वच्छ हुन्छ। प्रकृतिका हरेक अवयवहरू जस्तै आभारत हुन्छ।

बुद्धले खुशी भन्नु पीड़ा को मुख्य कारण माने। यदि दुख पीडा नहुनु हो भने खुसीको आभास हुने कसरी! हो नि वास्तवमा यो कुरा त। बुद्धले आफ्नो सूत्रमार्फत दिमागलाई नियन्त्रण गरेर नै खुसीको मार्ग भेटिन्छ भन्ने एउटा उपाय बताए। तर दिमागको नियन्त्रित गरेर नै तुरुन्तै खुसी पाउने सम्भावना हुन्न यो त  दैनिकी त्याग र तपस्याको सुत्रको उपाय देखाए। अनि अतीत र भविष्यको चिन्ता नगरी वर्तमानमा बाँच्ने पद्वतिले नै खुसीको अनुभव गर्न सकिन्छ भन्ने जडको ज्ञान छाडे। मलाई पनि बुद्धले देखाएको मार्ग नै मानव जातिले मान्ने उत्तम मार्ग जस्तो लाग्छ। नत्र त यो  संसारमा यति धेरै बुद्धका अनुयायी र भक्त कसरी हुन सक्थे हुन सोचौं  त?

कुनै कुरामा असफल भइयो भने भोलि सफल हुने सोच बनाउनु र कसैलाई दोषी नठान्नु खुसी प्राप्तिको एउटा आधार हो। राम्रो समयको परख गर्न जाने यदाकदा खुसीहरू प्रसस्त हात लाग्छन्। प्राय चालिस पैतालिस  प्रतिशत खुसी हुने कारण हाम्रो अधिनमा हुन्छ। बौद्ध दर्शनदेखि हिन्दु दर्शनमा र  अन्य धर्मका दर्शनहरूले पनि खुसीको बारेमा लगभग एउटै अवधारणा प्रस्तुत गरेको छ। अत्यन्त आवश्यक परेको व्यक्तिलाई सहयोग गर्दा प्राप्त हुने खुसीको मानव दर्शन पनि कम छैन। आफूले पाउने आशामा खुसी भए झै दिएर अरूलाई खुसी पार्नु सबैभन्दा बढी खुसी भेट्नु हो। अरूको मुस्कानभित्र आफ्नो खुसी देख्नु र अरूको सुखभित्र पनि आफ्नो खुसी खोजेर प्राप्तिको आभास हुनु नै जीवनको अभिनवि कायाकल्प हो सायद।

खुसीको सीमा नाघेर कोही रनभूल्ल परेर हराउँछन् पनि। यस अवधिमा आफूलाई स्थिर राख्न हम्मे हम्मे नै पर्छ। जब स्थिर हुन्छन् तब खुसीको उमङ्गले के गरौं के गरौं जस्तो लाग्छ! यसबेला आफूमा सुटुक्क मौलिक वोध उत्पन्न हुन्छ र जागृति अवस्थाको सरोवरमा एकाएक पुगे पछि आनन्द लाग्छ। अनि त त्यो क्षणमा प्राप्त खुसी नै ध्यान बनेर प्रज्ञावोधको तहमा निर्भर रहन्छ।

कहिलेकाहिँ खुसीका सानासाना कारण हुनसक्छन्। त्यसलाई पनि म सकेसम्म र चेतनाले भ्याए सम्म आफूमा समेट्ने प्रयत्न गर्छु। कुनै सुन्दर वस्तु देखे भने म मानसिक रूपमा सुखद अनुभव गर्छु  र यसलाई अनुमोदन गरेपछि खुसीका तरङ्ग उत्पन्न हुन्छ। कुनै अमुक वस्तु पाउदा त झन खुसीले उत्पात हुन्छु। आफूले गरिरहेको काममा सानो ठूलो जस्तो होस् त्यसमा खुसी मानेर  जीवनमा समेटेर रमाएको आभास छ ममा। कहिले अदृश्य शक्ति बनी यहीँ मन्त्र मेरो खुसीको आकाश बनेर आउँछ र मलाई नयाँ क्षितिज देखाउँछ।

वर्तमानमा आफूसँग प्राप्त वस्तुहरूमा खुसी नरहेर भविष्यको सपनामा मात्र खुसी खोज्नेहरू खुसी हुन सक्दैनन्। त्यस्ताहरूलाई  आफू अगाडि भएको खुसीको आभास नै हुन्न।  अर्कालाई तनाव दिने दुख दिने मान्छे कहिले खुसी हुँदैन र अर्कालाई खुसी दिने सधै खुसी हुन्छन् भनेर त माथि उल्लेख गरिसकेँ। अनि अर्को कुरा जुन मान्छेको आचरण ठिक छैन, अर्काको अहितमा कुरा काट्छ र अल्छी छ ऊ कहिले खुसी हुनै सक्दैन।

सधैं दुखलाई नै ध्यान दिएर जहिले दुखी हुनुभन्दा खुसीकै कुरा सम्झे खुसी नै खुसी हात लाग्छ। जे कुरा मनमा लियो त्यहीँ कुराले लखेट्छ र त्यही नै सक्रिय भएर अगाडि बढछ। खुसी परास्त गर्ने अर्थात् पाउने सबै भन्दा ठूलो शक्ति नै सोच हो।  गीत गुनगुनाउनु नाच्नु र जीवनको उत्सव मनाउने भाव उत्पन्न गर्नु खुसीको अनुपम रूप हो। प्रेममा मीठास हुन्छ र निराश पनि हुन्छ।
यो मीठास र निराशबिच निर्वाध खुसीलाई महत्व दिनु नै उत्तम उपाय हो। जब प्रेमको छलाङ मार्न पाउँदा खुसीका उन्मादी रूपमा आफुलाई संसार भन्दा पृथक देख्नु र प्रेम छुट्नासाथ एकछिन अघि सम्मको खुसी एकाएक हराएर दुखी हुनु उफ के भनौं!  कुनै कुरामा जो छिटो खुसी हुन्छ, ऊ दुखी पनि त्यति नै छिटै हुन्छ।

जीवनलाई प्रेम गर्नेहरू जहिले खुसी हुन्छन्। उनीहरूमा खुसीका तरङ्ग एकाएक उब्जिरहने गर्छ र प्रफुल्ल हुन्छ। जब मान्छे एकदमै प्रफुल्लित हुन्छ तब मात्र मन पनि प्रफुल्लित हुन्छ। उसमा एकाएक खुसीको मीठो भाव एकाकार हुन्छ। खुसी हुने मान्छे फूलजस्तै सुन्दर र स्वच्छ हुन्छ। प्रकृतिका हरेक अवयवहरू जस्तै आभारत हुन्छ। प्रकृतिसँग बिरोध नगरी खुसी लिनु बुद्धत्व प्राप्त गर्नु हो या प्रकृतिबाट तुष्ट भएर अनन्त खुसीको आभासमा रमाउनु हो यो त थाहा नै छैन मलाई। यहाँहरू कसैलाई थाहा भए भन्दिनु होला। जीवनलाई प्रेम गर्नेहरूको जीवन प्रकृतिका अनेक तानावानासँग रमाएर होला सौन्दर्यको झलक यदाकदा प्रस्तुत भइरहेकै हुन्छ। उसले हरेकलाई खुसी हुने आशीष दिन्छ। सबैलाई मैत्रिकमय देख्छ र ऊ आस्थाको केन्द्रबिन्दु बन्छ। अनि आफ्नो अस्तित्वको विचरण गर्न पनि उसलाई कठिन कहिले पनि हुन्न। संसार नै ओजस्वी काया देखेर खुसीले  रमाउने सारत्व भेट्छ सायद। जीवन रहिन्जेल जगतलाई प्रेम गर्न अभिप्रेरित व्यक्तिको अन्तिम यात्रामा पनि खुसीले तय हुन्छ।

भदौ २०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्