बिक्नै छाडे माटोको भाँडा

सकिएको छैन दुःखराम कुमालको दुःख

दाङ – एउटा ‘कुमाल गाउँ’ । काँचो माटोलाई आकार दिन्छन् । आगोमा पोल्छन् । अनि पाको भाँडा बनाउँछन्। गमला, कोशी, घैँटा, खुत्रुके, पाला, कस्तुरी, ठेकी, करुवा, थारु सँस्कारमा प्रयोग हुने हात्ती, घोडा, भुर्की, भकरी बन्छ। कुमालेको माटो संगको साइनो पुरानो छ। यो सम्बन्ध धेरै पुस्ता पार गर्दै बाउ, बाजे हुँदै छोरा नाति सम्म आईपुगेको छ ।

अब एउटा पुस्ताबाट अर्काे पुस्तामा सिप हस्तान्तरणको पर्खाइ छ । उमेर ढल्किएकाहरु चाहन्छन् छोरा नातिले यो पेशा गरुन् । तर, छोरा नातिको चाहना भने बेग्लै छ । यही कुमाल बस्तीका दुःखराम कुमालको दुःख अझैं सकिएको छैन । गढवा गाउँपालिका वडा नं. ६ निवासी ६७ वर्षीय दुःखराम अझै आफ्नो र परिवारको लागी काँचो माटोलाई आकार दिने काम गर्छन्।

दुःखरामले यो चार–पाँच महिनाको बिचमा तयार पारेका माटोको भाँडा बिक्री भएको छैन । बनाएका माटोको भाँडा बिक्री नभएपछि घरमै थन्काएर राख्नु परेको छ । यो समस्या दुःखरामको मात्रै होइन, देउखुरीमा माटोको भाडाँ बनाउने कुमाल समुदायका सबैले भोगेका छन् । कोरोना भाइरस संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनका कारण दुःखरामले तयार पारेका माटोको भाँडाले बजार नपाएको हो ।‘बजार सबै बन्द छ । कहाँ लगेर बेच्ने’ दुःखरामले भने–‘गाडी चल्दैन । बजार खुल्दैन । गाउँमा बेच्न जाउँ हिड्न पाइँदैन ।’

संकटमा परेको माटाको भाडाँ बनाउने पुर्ख्यौली पेशालाई अहिलेसम्म बचाएका छन् । तर, उनका छोरा नातिले यो पेशाप्रति खासै चासो दिएका छैनन् । ‘खै पछि के गर्छन् । माटो खेलाउन मन गर्दैनन् । बाउ बाजेले यही सिकाए । हामीले त्यही गर्‍यौं’ उनले भने–‘अहिले छोरा नातिलाई सिकाउन खोज्छौँ मन गर्दैनन् ।’

माटाको भाँडा बनाउने पेशा प्रति युवा पुस्तालाई आकर्षण गर्न सकिएको छैन् । कुमाल समुदायका एक-दुई जना युवाले आधुनिक प्रविधि अनुसार भाँडा बनाउने गरेका छन् । यी बाहेक अन्य युवा पुस्ताले चासो दिएको पाइएको छैन । बजारमा प्लास्टिकका भाँडाको चलन सुरु भएपछि माटाको भाँडा किन्नेहरुको संख्या घट्दै गएको छ । लकडाउन अघि फाट्ट फुट्ट भाँडा बिक्थ्यो । भाँडा लिन प्युठान, घोराही, तुलसीपुरका व्यापारी गढवा आउँथे । गाउँमा लगेर बेच्न सकिन्थ्यो । तर, लकडाउनले गर्दा यी सबै काम ठप्प छ । माटोको भाँडा बनाउन सजिलो भने छैन।

कुमाले पेशा हस्तकला र सिपसँग जोडिएको व्यवसाय हो । मेहनत अनुसारको मूल्य भने छैन। माटोको भाँडामा पुनः आकर्षण बढाउन सक्ने हो भने यसको प्रयोग र फाईदा दुवै बढाउन सकिन्थ्यो । तर, यस तर्फ कसैको धान पुगेको छैन । ‘माटो लिन जंगल जानुपर्छ । धेरै टाढा छ । दाउरा त मुस्किलले पाईन्छ’दुःखरामले समस्या सुनाउँदै भने–‘माटो र दाउरा सजिलै पाउने हो भने बनाउन सकिन्थ्यो । फाईदा पनि लिन सकिन्थ्यो । तर, माटो र दाउरा जुटाउनै समस्या छ ।’

मेहनत र लगानी अनुसार मूल्य पाउँदैनन् । ठूलो घैँटा दुई सय रुपैयाँ, सानो घैँटा एक सय २० देखि तिन सयसम्म पर्छ । फूल राख्ने गमला ६० रुपैयाँमा बेच्ने गर्छन् । कुमाल समुदायका पाका उमेरका मानिसले लोप हुन लागेको पेशामा राज्यले लगानी गरेर संरक्षण गरिदिए नयाँ पुस्ताले उक्त पेशालाई अंगाल्ने थिए की भन्ने अपेक्षा गरेका छन् ।

भदौ २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्