जेम्स रोड्रिग्वेज रियल मड्रिडबाट इंग्लिस क्लब एभर्टनमा अनुबन्धित

स्पेनिस क्लब रियल मड्रिडका अट्याकिङ्ग मिडफिल्डर जेम्स रोड्रिग्वेज इंग्लिस क्लब एभर्टनमा अनुबन्धित भएका छन् ।

कोलम्बियन खेलाडी रोड्रिग्वेजलाई प्रिमियर लिग क्लब एभर्टनले २० मिलियन पाउण्डमा अनुबन्धित गरेको हो । २९ वर्षका रोड्रिग्वेजले क्लबसँग दुई वर्षको सम्झौता गरेका छन् र सो सम्झौता थप दुई वर्ष बढाउन मिल्ने छ ।

सन् २०१४ मा उनी मोनाकोबाट रियल मड्रिडमा गएका थिए । सो वर्षको विश्वकप फुटबलमा सर्वाधिक गोलकर्ता बनेर गोल्डेन बुट जितेपछि रोड्रिग्वेज चर्चामा आएका थिए ।

गएको सिजन रोड्रिग्वेज रियल मड्रिडबाट १४ खेलमा सहभागी भएका थिए । रियल मड्रिडबाट उनले दुई पटक ला लिगा तथा दुई पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।

दुई सिजन जर्मन क्लब बार्यन म्युनिखमा लोनमा बिताएका उनले दुवै सिजन बुण्डेसलिगा उपाधि जिते। गएको सिजन लोनबाट फर्किएका उनले जिनेदिन जिदानको टिम रियल मड्रिडबाट मात्रै ८ ला लिगा खेलमा सहभागी हुने मौका पाएर एक गोल गरे ।

भदौ २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्