अर्घाखाँचीका संक्रमितको बाँकेमा मृत्यु

नेपालगञ्ज – अर्घाखाँचीका कोरोना संक्रमितको बाँकेमा मृत्यु भएको छ।

अर्घाखाँचीको शीतगंगा नगरपालिका वडा नम्बर १२ का ४२ वर्षीय पुरुषको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा मंगलबार बिहान मृत्यु भएको हो ।

सवारी दुर्घटनामा घाइते भएका उनलाई कोरोना देखिएपछि भैरहवा हुँदै बाँकेको कोहलपुरमा रहेको मेडिकल कलेजमा उपचार गर्न ल्याइएको थियो । मृतक टिप्पर चालक हुन् ।

युनिभर्सल मेडिकल कलेज भैरहवामा भदौ ४ गते भर्ना हुनु भएका ४२ वर्षीय पुरुषको भोलिपल्ट कोरोना पोजिटिभ रिपोर्ट आएको थियो । थप उपचारका लागि ११ गते मेडिकल कलेज कोहलपुरमा ल्याइएको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, सिभियर निमोनिया रहेका ४२ वर्षीयको आज बिहान ९ः२० बजे मृत्यु भएको छ ।

बाहिरी जिल्लाबाट उपचार गराउन बाँकेमा आउँदा मृत्यु हुने कोरोना संक्रमितको संख्या तीन पुगेको छ।

यसअघि कैलाली र अछामबाट आएका बिरामीको मृत्यु भएको थियो । बाँके निवासी भने सातजनाको मृत्यु भएको छ ।

भदौ २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्