अभिभावकहरुलाई शिक्षामन्त्रीको आग्रह-आफ्ना सन्तानहरुको शिक्षक र साथी पनि बन्नू

काठमाडौँ – परिस्थिति असामान्य भएकाले अभिभावकहरुको काँधमा थप जिम्मेवारी आएका बालबालिकाको सिकाइ सुनिश्चित गर्नका लागि सामान्य अवस्थामा भन्दा बहुभूमिका निर्वाह गरिदिन शिक्षामन्त्रीले अभिभावकसँग आग्रह गरेका छन्।

शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भने, ‘औपचारिक शिक्षालाई अनौपचारिक रुपमा सुनिश्चित गर्नु पर्ने भएकाले तपाईँ अभिभावकहरुले सामान्य अवस्थामा जे गर्दै आउनु भएको थियो त्यो भन्दा बढी गर्नु पर्ने भएको छ। अभिभावकसँगै आफ्ना सन्तानको शिक्षक र साथी पनि बन्नु पर्ने हुन्छ।’

घरलाई शिक्षालय बनाउनुको विकल्प नरहेकाले शैक्षिक गतिविधिलाई नियमित गराउनका लागि अभिभावकले छोराछोरीलाई सिकाउने र नयाँ परिवेशमा आफूले पनि बालबालिका सम्बन्धी विविध कुराहरु सिक्ने अवसरका रुपमा पनि लिएर जिम्मेवारी निर्वाह गर्नु पर्ने मन्त्री पोखरेलले बताए।

सरकारले वैकल्पिक शिक्षाका लागि चाहिने सामग्री तयार पारिरहेको दाबी गरेका मन्त्री पोखरेलले त्यसमा अभिभावको साथ र सक्रिय सहभागिता अनिवार्य रहेको बताए।

मन्त्री पोखरेलले देश सञ्चारसँगको विशेष कुराकानीमा शिक्षा मन्त्रालय र मातहतका तहले घरमै सिकाई, रेडियो पाठशाला, टेलिभिजन शिक्षण र भर्च्युअल कक्षाका लागि आवश्यक पर्ने सामग्री बनाएको दाबी गरे पनि अहिलेसम्म यी वैकल्पिक शिक्षाका उपायहरुमा प्रक्रिया र कार्यान्वयन तहका अस्पष्टताहरु कायम छ।

अवस्था केही असहज रहे पनि अभिभावकलाई आफ्ना सन्तानको शिक्षण तालिका बनाउने, सिकाइमा सहजिकरण गर्ने, साथी बनेर कुरा सुन्दिने र अनुमगन पनि गर्नेसहितका बहुभूमिका निर्वाह गर्न मन्त्री पोखरेलले आग्रह गरेका हुन् ।

कोरोना भाइरसको महामारीका कारण शैक्षिक गतिविधि लगभग ठप्प प्रायः हुँदा देशभर गरी झण्डै ९० लाख विद्यार्थी नियमित पठानपाठन भन्दा बाहिर रहेका छन् ।

(शिक्षा मन्त्री गिरिराजमणि पोखरेलसँगको विस्तृत अन्तर्वार्ता देश सञ्चारमा बुधबार प्रकाशित हुनेछ।)

भदौ २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्