टुट्न थाल्यो यातायात व्यवसायीको धैर्यता, रोजीरोटी खोसिएको भन्दै काठमाडौँमा प्रदर्शन

काठमाडौँ – कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले लगातार लकडाउन र त्यसपछि निषेधाज्ञा लागु गर्दा आफूहरुको रोजीरोटी नै खोसिएको भन्दै यातायात व्यवसायीले प्रदर्शन गरेका छन् ।
सार्वजनिक यातायात व्यवसायीहरुले मंगलबार यातायात व्यवस्था विभाग मिनभवन अगाडि प्रदर्शन गरेका हुन् ।
सार्वजनिक यातायात सेवा रोकिँदा आफूहरु मर्कामा परेको र विदेशबाट आएका नेपालीहरुलाई गन्तव्यसम्म पुर्याउने कार्यमा सामेल नगरिएको भन्दै उनीहरुले विरोध गरेका हुन् ।
विदेशबाट आएका नेपालीहरुलाई गन्तव्यसम्म आफूहरुले न्यूनतम भाडामा लैजान सक्ने भए पनि सरकारले ठग्ने नियत अनुसार सार्वजनिक यातायातलाई प्रयोग नगरेको आरोप उनीहरुले लगाएका छन् ।
आफूहरुले कोही पनि नठगिउन् भनेर सर्वसुलभ मूल्यमा सम्बन्धित प्रदेश र जिल्लाका सेन्टरहरुमा लैजान तयार रहेको जानकारीसहितको पत्र बुझाएको भए पनि त्यसमा यातायात व्यवस्था विभागले बेवास्ता गरेकाले आन्दोलित हुनु परेको यातायात व्यवसायीले बताएका छन् ।
उनीहरुले कोरोना भाइरसको महामारीका कारण गाडी नचल्दा समस्या भएकाले यातायात व्यवसायीलाई करमा छुट दिनु पर्नेसहितका माग पनि गरेका छन् ।