स्वर्गीय पत्रकार बानियाँको परिवारलाई अमेरिकावासी नेपालीको साढे तीन लाख सहयोग

काठमाडौं – दिवंगत पत्रकार बलराम बानियाँको परिवारलाई अमेरिकाको न्युयोर्कबाट राधाकृष्ण देउजाको एकल पहलमा संकलित आर्थिक सहयोग उनकी छोरी सुस्मिता बाँनियालाई हस्तान्तरण गरिएको छ ।

करिब एकसाता गोफण्ड मार्फत आर्थिक संकलन भएको ३ लाख ५७ हजार एक सय ६७ रुपैया नेपाली रुपैयाँ मंगलबार हस्तान्तरण गरिएको हो । जीवनभर पत्रकारिता बाहेक कुनै काम नगरेका पत्रकार बानियाँको पेशागत इमान्दारिताको सम्मान र सम्झनामा यो अभियान सुरु गरिएको र ३ हजार ५० डलर ९७ सेन्ट्स जम्मा भएपछि अभियान बन्द गरिएको देउजाले बताए। उनले छोरा छोरीको शैक्षिक अवस्थामा आर्थिक कारणले अवरोध आए थप सहयोग जुटाएर पठाउन तयार रहेको समेत उनले बताएका छन् ।

‘म उहाँ र उहाँको परिवारलाई व्यक्तिगत रुपमा चिन्दिन तर इमानदार पत्रकारको रुपमा उहाँका समाचारको म नियमित पाठक थिए, उहाँ दिवंगत भएपछि परिवारजनलाई केही सहयोग गर्नुपर्छ भनेर यो सहयोग संकलन गरेको हुँ’, उनले भने ‘भविष्यमा छोरा छोरीको शिक्षा दिक्षामा आर्थिक कारणले अवरोध आएको थाहा पाए त्यसमा पनि सकेको सहयोग जुटाउने छु । ’

लामो समयदेखि अमेरिका बस्दै आएका काभ्रेका देउजा विभिन्न सामाजिक काममा सक्रिय रहेका छन् । पत्रकार बानियाँकी छोरी सुस्मिता बानियाँले आफनो बाबा (बलराम बानियाँ) को सहज मृत्यु नभएको सरकारले इमान्दारीपूर्बक छानबिन गर्नुपर्ने बताएकी छिन्। ‘बाबाको हत्या नै भएको कुरा अघिल्लो दिन देखिका घटनाक्रमहरुले प्रष्ट पारेको छ तर राज्यका निकाय र स्वयं पत्रकारहरुले गभीर रुपमा लिएदेखि राम्रो हुन्थ्यो’, सुस्मिताले भनिन्।

भदौ २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्