काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने तयारी, जनआक्रोश बढ्न सक्ने निष्कर्ष

काठमाडौँ – कोरोना संक्रमणको अवस्था  उस्तै रहे पनि काठमाडौँ उपत्यकामा निषेधाज्ञा खुकुलो बनाउने तयारी भएको छ।

स्रोतका अनुसार बुधबार बस्ने तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले तीन यातायता लागु भइरहेको निषेधाज्ञालाई खुकुलो बनाउने छ।

तीनवटै जिल्ला प्रशासन प्रमुखलाई विभिन्न सरकारी निकाय र सरोकारवालाले निषेधाज्ञा खुकुलो नबनाए जनआक्रोश बढ्न सक्ने सुझाव दिएका छन्।

‘महिनौँदेखि आर्थिक गतिविधि ठप्प हुँदा मानिसहरु संकटमा छन्। उनीहरुमा रोगभन्दा पनि भोकको समस्या चर्कँदो छ। यस्तो अवस्थामा मानिसहरुलाई फेरि पनि थुनेर राख्ने हो भने जनआक्रोश थाम्न सकिने अवस्था नरहने सुझाव जिल्ला प्रशासन प्रमुखलाई दिएका छौँ’, एक जिल्लाका सुरक्षा प्रमुखले भने।

काठमाडौँ उपत्यकामा भदौ ३ गतेदेखि निरन्तर लागु भइरहेको निषेधाज्ञाको पछिल्लोपटक थपिएको समय बुधबार मध्यरातबाट सकिँदै छ।

स्रोतका अनुसार सवारी साधनलाई जोर बिजोरका आधारमा सन्चालन गर्ने, विभिन्न व्यवसायलाई बारका आधारमा खोल्न दिने गरी निषेधाज्ञा खुकुलो बनाइँदै छ।

‘तर यिनीहरु खोल्दा स्वास्थ्य सुरक्षाका मापदण्डहरुलाई अपनाउन कडाई साथ निर्देशन दिइने छ’, एक जिल्लाका सीडीओले भने।

उपत्यकाका तीनवटै सीडीओले गृह मन्त्रालयसँग समन्वय गरी यसको निर्णय गर्नेछन्।

भदौ २४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्