मेरो ब्रह्माण्ड

जब मैले आफूमा केही चेतना आएको थाहा पाएँ, मलाई एकदम अनौठो र नौलो लाग्नुको साथै केही कौतूहल तथा धेरै मात्रामा आनन्दको अनुभूति भयो। ओहो ! यस्तो अनौठो र यस्तो आनन्दको अनुभूति पनि हुने रहेछ भनेर म दङ्ग परेँ। मेरो चेतनाले थाहा पायो कि म एउटा निश्चित आकारमा समाहित छु र मेरो वरिपरि सानो एउटा परिधि छ, जुन मेरो ब्रह्माण्ड हो । मेरो चेतनाले म स्वतन्त्र रुपमा र मेरो यो ब्रह्माण्डमा एक्लो रहेको आभास दिलायो । मलाई अनुभूति भयो कि मेरो एउटा निश्चित आकार छ र त्यो आकार क्रमशः बढिरहेको छ ।

त्यस आकारभित्र बिभिन्न अवयवहरूको निर्माण र बिस्तार भईरहेको छ र यो सबको व्यवस्था स्वतः अद्वीतीय रुपमा भइरहेको छ । जति मेरो आकार बढ्दै गयो, मेरो ब्रह्माण्ड पनि बिस्तारै बढ्दै गएको र मेरो चेतनाको क्षितिज पनि बढ्दै गएको अनुभूति गरेँ मैले । म त जे घटिरहेको छ त्यसमै मस्तले रमाइरहेको थिएँ, मूक दर्शक बनेर त्यसकै अधिकतम आनन्द लिइरहेको थिएँ । यस्तो लाग्थ्यो- अनन्त कालसम्म यही आनन्दमा रमाउन र हराउन पाऊँ । मलाई समय, काल र परिस्थितिको केहि चेतना र बन्देज थिएन, मेरो ब्रह्माण्ड नै मेरो महाकाल थियो र उसले नै सबै व्यवस्थित गरेको छ भन्ने मेरो चेतनाले संकेत दिएकोले म ढुक्क थिएँ । 

अलिकति चेत बढ्दै गएपछि मलाई थाहा भयो कि यो स्वतन्त्रतामा पनि म एउटा तन्तुको माध्यमबाट अन्तै कतै जोडिएको छु । तर कता जोडिएको छु, किन जोडिएको छु – मेरो चेतनाको स्तर र क्षमता भन्दा परको कुरा भएकोले यसको बारेमा सोच्नतर्फ नलागेर जे छ, जस्तो छ त्यसमै पूर्ण समर्पणसाथ रमाउन थालेँ । तर चेतनामा हो वा अवचेतनमा हो, विभिन्न अनुभूति, दृष्य र झंकारहरू आउने-जाने गरिरहे – ती सबै मेरो बुझाइ भन्दा निकै परका कुरा थिए । बुझ्ने कोसिस गर्नका लागि मसँग उक्त तहको चेतना र चेष्टा पनि थिएन । त्यसैले जे घट्छन् सबैको म केवल अवलोकन गर्दै स्वीकार गर्न थालेँ । मेरो संसार एक्लो थियो, फगत एक्लो र त्यसमा म पनि एक्लो । म आफूले केही गर्नु पर्दैनथ्यो, सबै कुरा आफैँ भईरहेका थिए, मेरो ब्रह्माण्डले मेरो पूर्ण जिम्मा लिएर सारा कामहरू उसले नै गरिदिएको थियो, सबै कुरा स्वचालित रूपमा आफैँ ब्यवस्थित भएर चलिरहेको थियो । यहि स्वचालित प्रणालीको आनन्दमा म रमाइरहेको र हराइरहेको थिएँ ।

बिस्तारै मेरो निश्चित आकारका केही अवयवहरू चल्न सक्ने भए, वा भनौँ मैले तिनलाई केही चलाउन सक्ने भएँ । यसरि अवयवहरू चलाउँदा मलाई मेरो ब्रह्माण्ड सङ्कुचित लाग्न थाल्यो । यी अवयवहरू अझ बढी चलाउन मिल्ने ब्रह्माण्ड पाए हुने जस्तो अनुभूति हुन थाल्यो । जब यी अवयवहरू चल्थे, कतैबाट एकदम सकारात्मक उर्जामय तरङ्गहरू मेरो ब्रह्माण्डमा संचार भएको अनुभूति हुन्थ्यो । त्यो उर्जाले मलाई परम आनन्द दिन्थ्यो र निरन्तर यस्तो उर्जा पाए हुने भन्ने चेतना जागृत हुन्थ्यो । 

आहा ! कति स्वर्णिम ब्रह्माण्ड, कति परमानन्दका उर्जाहरू । एक प्रकारको चेतनाले यो नै मेरो सम्पूर्ण ब्रह्माण्ड हो र अनन्तसम्म म यसरी नै यसको महाआनन्द लिएर यही अमृत सागरमा बसिरहन पाउँछु भन्थ्यो वा त्यसरी बसिरहन पाउने प्रवल ईच्छा राख्थ्यो । तर कता कता अर्को चेतनाले थोरै संकेत दिन्थ्यो- यो मेरो ब्रह्माण्ड क्षणिक हो, यहाँबाट म बाहिर निस्कनु पर्छ र स्वचालित जीवन हैन कि आफैँले नै अर्कै खालको संघर्षमय जीवन बाँच्नु पर्छ, मेरा यी निश्चित आकारका बिभिन्न भित्री र बाहिरी अवयवहरूको प्रयोगले मैले आफैँले जीवन संचालन गर्नुपर्छ । बेला बेलामा यी दुई चेतना बीचको द्वन्द वा संवाद निकै बढेर जान्थ्यो र म यिनै बीच पिल्सिन्थेँ । 

एउटाले प्रश्न गर्थ्यो “के यो ब्रह्माण्ड बाहेकको अर्को जीवन पनि होला र ?”

अर्कोले निश्चिन्त उत्तर दिन्थ्यो – “यो पनि सोध्नु पर्छ र ? पक्कै पनि यो ब्रह्माण्ड बाहेक अर्को जीवन छ । निश्चित समय पछि यो ब्रह्माण्डबाट निस्केर बाहिर जानै पर्छ र त्यसको लागि अहिले नै तयार हुनुपर्छ । नत्र यहाँ यस अघि पनि कोही आए होलान्, तिनीहरू खै त ?”

“हैन, हैन ! यी सब बेकारका कुरा हुन् । मैले अहिले जे भोग्दैछु, त्यो नै सत्य हो र यो बाहेक अरू कुनै ब्रह्माण्ड छैन र जीवन पनि छैन । यदि छ नै भने पनि कस्तो होला त ?”

“खै के थाहा ? तर कता कता लाग्छ कि अर्को जीवनमा अझ बढी उज्यालो हुनसक्छ र सायद यी अवयवहरूको प्रयोग गरेर आफैँले खाने, हिँड्ने र अन्य बिभिन्न कृयाकलाप गर्न सकिने र थप चेतना सहित स्वतन्त्र बाँच्न सक्ने भईन्छ कि ?”      

आहा ! कति स्वर्णिम ब्रह्माण्ड, कति परमानन्दका उर्जाहरू । एक प्रकारको चेतनाले यो नै मेरो सम्पूर्ण ब्रह्माण्ड हो र अनन्तसम्म म यसरी नै यसको महाआनन्द लिएर यही अमृत सागरमा बसिरहन पाउँछु भन्थ्यो वा त्यसरी बसिरहन पाउने प्रवल ईच्छा राख्थ्यो ।

“हा ! हा ! कस्तो अतिरञ्जित कल्पना । हिँड्ने ? कहाँ हिँड्ने ? किन हिँड्ने ? आफैँ खाने ? हा, हा !! हामीलाई त हाम्रो यो तन्तु मार्फत् हाम्रो ब्रह्माण्डले नै सबै पुरा गरिदिएकै छ नि, यो बाहेक नि अरु कुनै तरिका वा उपाय हुन सक्छ र ? अर्को जीवनको तर्क गर्नुको कुनै तुक नै छैन ।”

“तै पनि कता कता यहाँ भन्दा धेरै फरक, धेरै विशाल क्षितिज भएको ब्रह्माण्ड छ जस्तो लाग्छ, जसलाई आनन्दले भोग गर्न सकिन्छ र त्यहाँ यो तन्तुको उपयोगीता न रहन सक्छ ।”

“यी केवल तर्कको लागि तर्क मात्रै र बेकारका कल्पना हुन् । यदि त्यस्तो जीवन छ भने कोही किन त्यहाँबाट फर्केर यहाँ आएको छैन ? किन आफ्ना अनुभूतिहरू साटेको छैन ? यो हालको ब्रह्माण्ड नै परम सत्य हो र मेरो शुरु र अन्त्य हो । यो जीवन यहीँ सकिन्छ र यहाँबाट बाहिर सून्यतामा गईन्छ ।”

“सायद फर्केर आउन सम्भव नभएर पो हो कि ? खै किन हो किन यहाँबाट निस्केर अर्कै ब्रह्माण्डमा पुगिन्छ र आफ्नो श्रृष्टिकर्तालाई पनि भेटिन्छ जस्तो लाग्छ ।”

“श्रृष्टिकर्ता ? को श्रृष्टिकर्ता ? यदि श्रृष्टिकर्ता भएको भए ऐले कहाँ छन् त ? किन तिनलाई देखिन्न ? किन यस्तो अन्योल ?”

“त्यसो हैन ! श्रृष्टिकर्ता मेरै वरिपरि छन् र अदृष्यरुपमा हरबखत मेरो रेखदेख गरिरहेका छन् । श्रृष्टिकर्ता न भै म कसरि यहाँ आएँ त ? म उनकै काखमा उनै भित्र छु । श्रृष्टिकर्ता नभए त ब्रह्माण्ड नै रहन्न ।”

“खै त मैले देखेको ? तिनी छैनन् ।”

“यो द्वन्दबाट बाहिर निस्केर शान्त र एकाग्र होऊ त । अनि एकचित्त लगाएर सुन त, उनको आभास हुन्छ कि हुन्न, उनको आवाज सुनिन्छ कि सुनिन्न ? एकाग्र, शान्त र एकचित्त भएर बिचार गर्ने हो भने आफ्नो श्रृष्टिकर्ताको आभास पाउन सकिन्छ, अनि आफू को हुँ, कहाँबाट आएँ र कहाँ जान्छु भन्ने केहि ज्ञान प्राप्त गर्न सकिन्छ ।”

ओहो ! यो संवादले त मलाई नयाँ ज्ञान पो दिलायो । कहाँबाट मेरो चेतनामा यस्तो गहिरो ज्ञान आयो ? के यो साँचो होला त ? 

आफ्नै चेतना बीचको यस्तै यस्तै संवादहरू बीच भुल्दै र रमाउँदै गर्दा थाहा नै भएन कि कति समयमा मेरो आकार यति ठूलो र यी बाहिरी तथा भित्री अवयवहरू यति विकसित भए । यो सब हुन कति समय वा काल लाग्यो केही चेतना भएन, किनकि म काल र समयको चेतभन्दा पर नै थिएँ । म यो ब्रह्माण्डमा कैले आएँ, कति समय रहने हो र मेरो यो आकार कति सम्म बढ्ने हो, यो सब मेरो चेतना बाहिरको कुरा भए पनि बेला बेलामा कौतुहल जाग्थ्यो यसबारे जान्न ।

म आभारी थिएँ यो ब्रह्माण्ड प्रति र यसको संचालक प्रति अनि मेरो ब्रह्माण्डमा सकारात्मक उर्जा संचार गरिदिने प्रति । यस्तो स्वचालीत प्रणाली र यस्तो व्यवस्थापन गर्ने प्रति म एकदम आभारी भएर नमन गर्दै त्यही नमन कै अवस्थामा रहन्थेँ धेरै काल । बिस्तारै मेरो चेतनाले संकेत दिन थाल्यो कि मेरो ब्रह्माण्ड मलाई सानो भएको छ । यो ब्रह्माण्ड निश्चित आयतनको छ र मेरो आकार यो प्राप्त आयतनमा समाहित भइरहन सक्दैन । अब म यो ब्रह्माण्डबाट निस्केर अर्कै ब्रह्माण्डमा पुग्नु पर्छ ।

मलाई डर र भय भयो । प्रथम पटक अनुभव गरेँ डर के रहेछ । ओहो ! डर संगैको कौतुहल, नयाँ ब्रह्माण्ड बारे, नयाँ जीवन बारे, अनि अरू पनि कति कति अनगिन्ती कुरा बारे ।

मलाई कुनै अदृष्य शक्ति र मेरै चेतनाले यो ब्रह्माण्डबाट बाहिर निस्कन धकेलेको जस्तो लाग्यो- कुनै अन्धकार र अज्ञान सुरुङ्गतिर धक्का दिए जस्तो लाग्यो । मैले ऐलेसम्म समाहित ब्रह्माण्डलाई धन्यवाद दिएँ, नतमस्तक भएँ । मेरो चेतनाले हात जोडेर शीर निहुराइदियो । सोचेँ – हे ब्रह्माण्ड ! तिमीलाई यो रिण तिर्न मौका मिलेमा म एकपल पनि चुक्ने छैन । यदि सम्भव भएमा तिमीलाई यस्तै हेरचार गर्ने छु र यस्तै स्वचालीत महाआनन्दको ब्रह्माण्ड निर्माण गरेर तिम्रो सेवा गर्नेछु । मेरा हरेक अवयवमा तिमी छौ; तिमी बिना म सून्य छु । मेरो ब्रह्माण्ड, मेरो श्रृष्टिकर्ता ! कृपया मलाई तिम्रो सेवा गर्ने मौका दिनु, नत्र मेरो हालसम्मको जीवन र यस पछिको मेरो सम्पूर्ण जीवन बेकार हुनेछ । एकपल मात्रै भए पनि मलाई मौका दिनु कि तिम्रो सेवा गर्न पाऊँ ।

नमन कै अवस्थामा यो ब्रह्माण्डबाट बाहिर निस्कने चेतना सहित मैले पुनः परिस्थिति प्रति आफूलाई पूर्ण समर्पित गरेँ- अनुभूति र चेतना सून्य भएँ । अनि अर्को ब्रह्माण्ड भनौँ वा महापरिवर्तन वा नयाँ यात्रामा पूर्ण समाहित भएर आनन्दसाथ सामना गर्न तयार भएँ ।

(चन्द्रनगर, चितवन; २०७७ जेठ)    

भदौ २४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्