शिक्षामन्त्री गिरिराजमणि पोखरेलसँग अन्तर्वार्ता

‘अबको शिक्षा वैकल्पिक, तर विधि र उपायहरु लागू गर्न ढिला भइसकेको छ’

काठमाडौँ– ‘विद्यालयले आफ्ना विद्यार्थी पहिचान गर्नु पर्‍यो, विद्यार्थी र अभिभावकले आफ्नो र आफ्ना सन्तानको विद्यालय चिन्न पर्‍यो। शिक्षकले आफ्ना विद्यार्थी र विद्यार्थीले शिक्षक पहिचान गर्नु पर्‍यो । अवस्था असामान्य भएकाले नियमित जस्तो तरिकाले हुँदैन, अहिले एकले अर्कालाई पहिचान गरेर सिकाई सञ्चालन गर्नु पर्ने बेला हो।’

शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको यो भनाइमा कोरोना भाइरसको महामारीका कारण ठप्प प्रायः बनेको विद्यालय तहको शैक्षिक गतिविधि सञ्चालन गर्ने उत्तम विकल्प भेटिए जस्तो लाग्छ । तर शिक्षा मन्त्रालयसँग विद्यार्थी र विद्यायल तथा शिक्षबिचको यो ‘खोजी’ को मार्ग के हुने भन्ने स्पष्ट खाका अझैसम्म छैन ।

नयाँ शैक्षिक शत्रको झण्डै पाँच महिना सकिनै लाग्दासम्म शैक्षिक गतिविधि सञ्चालन हुन सकेको छैन । विद्यार्थी र अभिभावकसँगै देशभरका विद्यालयहरु अन्यौलमा छन् । हालै शिक्षा मन्त्रालयले कम्तीमा यो शैक्षिक शत्रका लागि सामान्य अवस्थामा जस्तो प्रत्यक्ष उपस्थित भएर हुने पठनपाठन सम्भव नरहेकाले वैकल्पिक माध्यमबाट सिकाइ नियमित गर्नुको विकल्प नरहेकाले सोही अनुसार शिक्षण सामग्री तयार पार्ने र पाठ्यक्रम संश्लेषण गर्ने काम भइरहेको बतायो ।

देश सञ्चारसँगको विशेष कुराकानीमा शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले विद्यार्थीको शैक्षिक वर्ष खेरजान नदिने गरी सिकाई गतिविधि सुनिश्चित गर्नका लागि काम भइरहेको बताए । उनले भने, ‘असामान्य परिवेश भएकोले सामान्य तरिकाले सोचेर वा त्यस अनुसार व्यवहार गरेर हुँदैन । अहिले सबैको साथ र सहकार्यमा विद्यार्थीको सिकाईलाई सुनिश्चित गर्नका लागि हामीले काम गरिरहेका छौँ ।’

घरमै अध्यापन, रेडियो कक्षा, टेलिभिजन मार्फत शिक्षण तथा अनलाइन कक्षालाई नियमित फेस–टू–फेस अध्यापनको विकल्पका रुपमा लिएर देशभर सम्भव भएका विकल्पबाट सिकाई सुनिश्चित गर्ने मार्गमा काम हुँदै गरेको दाबी उनले गरे ।

सिकाईका वैकल्पिक उपायहरुलाई तत्कालका लागि मूल प्रणालीका रुपमा विकास गर्नका लागि ढिलाई भएको भने उनले स्वीकार गरे ।

मन्त्री पोखरेलले भने, ‘ढिलाई भएको भन्न मिल्छ । तर यो अवस्था असामान्य र भैपरि आएकाले कसरी सिकाई सुनिश्चित गर्न सकिन्छ भनेर अध्ययन गर्न र देश–विदेशमा भएका सकारात्मक सिकाई उपायहरुबारे बुझ्ने काम भयो । सोही अनुरुप अत्यावश्यक विषयवस्तु समेटिने गरी पाठ्यक्रम संस्लेषण गर्ने काम भइरहेको छ ।’

विद्यालय खुल्ने अवस्था नदेखिएकाले शैक्षिक गतिविधि सञ्चालनका लागि मन्त्रालयले काम गरिरहेको बताएका मन्त्री पोखरेलले औपचारिक शिक्षाले नसमेट्ने समूहलाई पनि सिकाईमा सामेल गर्ने बताए ।

तर विद्यालय भर्ना हुन नपाएर कुन स्कूलमा पढ्ने भन्ने निश्चित नभएका विद्यार्थी वा उनीहरुका अभिभावकलाई दिने स्पष्ट उत्तर भने मन्त्रालयसँग अहिलेसम्म छैन । भर्ना प्रक्रिया रोकिँदा कक्षा १ मा भर्ना हुनु पर्ने बालबालिका तथा स्कूल परिवर्तन गर्नु पर्ने बालबालिका र उनीहरुका अभिभावकहरु अन्यौलमा छन् ।

यसबारे मन्त्री पोखरेल भन्छन्, ‘हामीले अहिलेको विशम परिवेशमा भर्नालाई विगतको जस्तो सोच्नु भएन । शिक्षक र विद्यालयले आफ्ना विद्यार्थी पहिचान गर्ने र विद्यार्थी र अभिभावकले आफ्नो स्कूल पहिचान गरी त्यही अनुसार गर्न पर्छ ।’

मन्त्री पोखरेलले भनेको सहज भने त्यो प्रक्रिया छैन । नयाँ स्कूल भर्ना हुनु पर्ने बालबालिकालाई विद्यालय पहिचान भर्ना नखुल्दा असहज भएको छ र अधिकांश बालबालिका र उनीहरुका अभिभावक अन्यौलमा छन् ।

विशम परिवेशमा अन्यौलको अर्को पक्ष निजी विद्यालयलहरुले शुल्क लिन पाउने–नपाउने वा शुल्क लिएमा त्यसका मापदण्ड के हुने भन्ने हो । शिक्षा मन्त्री पोखरेलले वैकल्पिक प्रणालीबाट अध्यापन गर्ने भएकाले शुल्क लिन पाउने बताए । उनले भने, ‘शुल्क लिन पाइन्छ, तर सामान्य अवस्था जस्तो नभएकाले शुल्क समायोजन गरेर लिनु पर्छ ।’

मन्त्री पोखरेलले समायोजन गरेर शुल्क निर्धारण गर्नु पर्ने बताए पनि मन्त्रालयले त्यसको मापदण्ड भने निर्धारण गरेको छैन । ‘स्थानीय तहको स्वीकृतिमा तोकिएको शुल्क निजी विद्यालयले लिने व्यवस्था गरिन्छ’ मन्त्री पोखरेलले भने ।

अहिलेको अवस्थामा अभिभावकको भूमिका महत्वपूर्ण रहेको बताएका मन्त्री पोखरेलसँग हामीले विद्यालय तथा विश्वविद्यालय तहका विद्यार्थीको चासो सम्बोधन हुने गरी कुराकानीको प्रयास गरेका छौँ ।

प्रस्तुत छ शिक्षा मन्त्री गिरिराजमणि पोखरेलसँग गरिएको विस्तृत कुराकानीः

भदौ २४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्