नेपालगञ्ज- उच्च अदालत, नेपालगञ्जका एक दर्जन कर्मचारीसहित बाँकेमा ५२ जना कोरोना संक्रमित थपिएका छन् ।

भेरी अस्पताल, नेपालगञ्जले बुधबार ५८ जनाको रिपोर्ट बाहिर ल्याउदा बाँकेका ५२ जना परेका हुन् । ६ जना भने बर्दिया जिल्लाका छन् । बर्दियाका सबै गुलरियाका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, बाँकेमा उच्च अदालतका दर्जन कर्मचारीलाई कोरोना देखिएको छ । उच्च अदालतमा केही दिनयता संक्रमित देखा परिरहेका छन् ।

फोकलपर्सन श्रेष्ठले जिल्लामा कोरोना संक्रमितको संख्या एक हजार तीन सय २४ जना पुगेको जानकारी दिए ।

यसैबीच, बुधबार ७७ जना डिस्चार्ज भएका छन् ।

नेपाली सेनाको कौशिलानगर ब्यारेकका ५१ जना सेनासहित ७७ जना डिस्चार्ज भएको फोकलपर्सन श्रेष्ठले बताए । ७७ जनालाई भदौ १० गते पोजिटिभ देखिएको थियो ।

बाँकेमा बुधबारसम्ममा ९ सय १५ जना डिस्चार्ज भएका छन् ।

कोरोना पोजिटिभ देखिएको १४ दिनपछि स्वतः घर पठाउने भएकाले एकैलटमा पोजिटिभ देखिएकाहरु एकैलटमा डिस्चार्ज हुने गरेका छन् ।

भदौ २४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्