त्रिवेणी घटनामा सरकारको उदासिनता

बम बिस्फोटमा छोरो गुमाएकी आमाको प्रश्न–न्याय कहिले मिल्छ?

बम बिस्फोटमा छोरो गुमाएकी तीलकुमारी नेपाली (दायाँबाट पहिलो)।

दाङ – त्रिवेणी गाउँपालिका वडा नम्बर ४ निवासी तीलकुमारी नेपालीलाई छोरा गौरवको याद घरीघरी आइरन्छ । छोराको सम्झनामा तीलकुमारी अझै भक्कानिएर रुन्छिन् ।

छोरा गुमाएको पाँच महिना पुग्न थाल्यो । तीलकुमारी न्यायको पखाईमा छिन ।

‘मेरो छोरा खै ? किन मारियो ? कसले दिन्छ मलाई न्याय ?’ तीलकुमारीले प्रश्न गर्दै भनिन्, ‘बम पड्कीएर छोरा मारियो । त्यो बम कसले किन त्यहाँ राख्यो । बम राख्नेलाई कारबाही हुनुपर्‍याे । उनीहरुलाई कारबाही भए मात्रै न्याय पाएको ठान्ने छु ।’

१३ वर्षका गौरव नेपाली वैशाख १७ गते मामा घर त्रिवेणी–७ गौरीगाउँ गएका थिए । आमासँगै मामा घर पुगेका गौरव केही दिन मामा घरमै बस्ने भए । आमा घर फर्किइन । गौरव मामा घरमै बसे । वैशाख १८ गते बेलुका बाख्रा ग्वाला गएको समयमा बम पड्कीएर गौरवको मृत्यु भयो ।

गौरवसहित गौरीगाउँका १४ वर्षीय नोखिराम डाँगी, ११ वर्षीया विमला केसी र विमालाका पाँच वर्षे भाइ विजय केसीको बम पड्कीएर घटनास्थलमै ज्यान गयो ।

‘हामी सधैँ हिड्ने बाटोमा बम पड्कीएको थियो । त्यो ठाउँमा कसरी बम आईपुग्यो आश्चर्यमा परेका छौँ’ गौरवका मामा कृष्ण नेपालीले भने, ‘घटनास्थल घनाजंगल पनि होइन । सधैँ आउजाउ गर्ने गोरेटो बाटो हो । घटनाको सत्य तथ्य छानबिन गर्न सरकारसँग माग गरिरहेका छौँ । तर, यस बारेमा हामीलाई केही बताइएको छैन ।’

गौरव नेपालीकोसहित चार घर परिवार अहिले न्यायको पर्खाइमा छ । पीडित परिवारले द्धन्द्धकालमा फालिएको बम बिस्फोट हुँदा घटना भएको हुन सक्ने भन्दै मृतकहरुलाई शहीद घोषणा गरेर सम्मान गर्न माग राखेका छन् ।

प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाएर परिवारको तर्फबाट घटनाको सत्यतथ्य छानबिन गर्न माग राख्दै मृतकहरुको सम्मान र सम्झनाको लागि शहीद घोषणा, परिवारलाई उचित क्षतिपूर्ति र शहीद पार्क निर्माण गर्न माग राखेका हुन् । तर, यस विषयमा सरकारले सुनुवाई नगरेर झनै पीडामाथि पीडा थपिएको महशुश यी परिवारका सदस्यले गरेका छन् ।

‘प्रमुख जिल्ला अधिकारीसहित प्रत्यक्ष निर्वाचित जनप्रतिनिधिलाई जानकारी गराएका छौँ । तर, कुनै ठोस निर्णय आएको छैन ।’, गौरवका मामा नेपालीले भने, ‘कहिलेसम्म न्याय पर्खीने ? कुरेर थाक्न थालिसक्यौँ ।’

राहात रकम जिल्ला प्रशासनको खातामा, पीडितले बुझेनन्

जिल्ला प्रशासन कार्यालय रोल्पामा त्रिवेणी घटनाका पीडितलाई राहात दिन भनेर प्राप्त भएकोप्रति परिवार ६ लाख गरी २४ लाख रुपैयाँ खातामा थन्किएको छ । पीडित परिवारले रकम नबुझ्दा रकम खातामै रहेको रोल्पाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र रानाले बताए ।

संघ सरकारले पठाएको प्रति परिवार पाँच लाख र प्रदेश सरकारले पठाएको प्रति परिवार एक लाख गरी २४ लाख रुपैयाँ अहिले खातामै रहेको हो । ‘बुझ्न मान्नु भएको छैन ।

पीडित परिवारले रकम नबुझ्दा खातामै छ ।’ प्रमुख जिल्ला अधिकारी रानाले भने, ‘प्रदेश ५ सरकारले मृतकको सम्झनामा चिल्ड्रेन पार्क बनाउने भनेर दश लाख रुपैयाँ बजेट समेत बिनियोजन गरेको जानकारीमा आएको छ ।’

यता पीडित पक्षले भने राहात रकममा जालझेल भएको आरोप लगाएका छन् । सुरुमा दश लाख केन्द्र सरकारले दिने भनेर निर्णय भएको बताइए पनि अहिले पाँच लाख मात्रै पठाएर पीडित परिवारलाई अन्यायमा पार्न खोजेको बताएका छन् ।

‘शव बुझ्ने बेलामा धेरै कुरा भनियो । शव बुझियो । तर, पछि स्थानीय, प्रदेश र संघ सरकारको कुराहरु फेरिँदै आए’ कृष्णले भने, ‘हामीले राखेका मागहरु सम्बोधन नहुँदासम्म रकम बुझ्दैनौँ ।’ पीडित परिवारहरुले स्थानीय सरकारको तर्फबाट प्रभावकारी समन्वय नहुँदा आफूहरुले न्याय पाउन नसकेको बताएका छन् ।

भदौ २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्