काठमाडौँ – कोरोना भाइरसको महामारीका कारण लगातार लकडाउन र त्यसपछिको निषेधाज्ञाका कारण जनजीविका चलाउनै समस्या भोगिरहेको मजदुरहरुको हितको पक्षमा प्रदर्शन भएको छ ।

सात ट्रेड युनियनको आयोजनामा माइतीघर मण्डालामा बिहीबार दिउँसो प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागी भएकाहरुले ‘उत्पीडित मजदुरलाई गरिखान दे, रोटी–रोजगार र सुरक्षा दे’ सहितका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

यस्तै वैदेशिक रोजगारीमा रहेका नेपाली मजदुरको उद्धार गरिनु पर्ने तथा हवाई शुल्क र स्वास्थ्य परीक्षण निःशुल्क गरिनु पर्ने माग पनि उनीहरुले गरेका छन् । सरकार मजदुरको पक्षमा नरहेकाले विरोध प्रदर्शन गरिएको ट्रेड युनियनहरुले बताएका छन् ।

मजदुरको हितमा तत्काल कदम चाल्नु पर्ने उनीहरुको माग छ । उचित राहतकाे व्यवस्था गर्न पनि माग गरेका छन् ।

अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ, प्रगतिशिल नेपाल स्वतन्त्र ट्रेड युनियन, समाजवादी ट्रेड युनियन, नेपाल ट्रेड युनियन फेडेरेशन, स्वतन्त्र ट्रेड युनियन महासंघ र क्रान्तिकारी ट्रेड युनियन महासंघको आयोजनामा प्रदर्शन भएको हो ।