भेरीमा ७२ बेडको कोरोना विशेष अस्पताल बन्यो

नेपालगञ्ज-नेपालगञ्जको भेरी अस्पतालमा ७२ बेडको कोरोना विशेष अस्पताल सञ्चालनमा ल्याइएको छ।

यसअघि बाँकेको खजुरास्थित क्यान्सर अस्पताललाई कोरोना विशेष अस्पतालको रुपमा सञ्चालन गरिएको थियो।

भेरी अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. प्रकाश थापाका अनुसार, आठ बेडको आइसियुसहित ७२ बेडको कोरोना विशेष अस्पतालमा सञ्चालनमा ल्याइएको छ। प्रत्येक बेडमा अक्सिजनको व्यवस्था गरिएको छ।

भेरी अस्पताल परिसरमा भवन बनेको थियो । त्यसलाई नै दाताहरुसँग सहयोग जुटाएर कोरोना विशेष अस्पतालमा ल्याइएको मेसु डा. थापाको भनाई छ। उनका अनुसार, कोरोना विशेष अस्पतालमा सय जना स्वास्थ्यकर्मी परिचालन हुनेछन्।

यो कोरोना विशेष अस्पतालमा लक्षण देखिएको विरामीलाई मात्रै राखिनेछ । लक्षण नदेखिएका विरामीलाई अन्यत्रको आइसोलेसनमा सेन्टरमा राख्ने रणनीति बनाइएको छ । भेरीमा कोरोना विशेष अस्पताल सञ्चालनमा आएसँगै खजुराको सुविधा यतै सारिएको मेसु डा. थापाले जानकारी दिए।

कोरोना विशेष अस्पतालको बिहीबार एक समारोहको आयोजना गरी प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालले उद्घाटन गरे। उनले प्रदेश सरकार कोरोनाविरुद्धको अभियानमा सक्रियका साथ लागि परेको बताए।

उद्घाटनमा प्रदेश सांसदहरु आइपी खरेल, विजयबहादुर यादव, प्रदेशका स्वास्थ्य निर्देशक डा. विनोद गिरीलगायतको उपस्थिति रहेको थियो।

कोरोना विशेष अस्पताल सञ्चालनका लागि अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल, प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ, मेसु डा.थापालगायतको भूमिका महत्वपूर्ण रहेको थियो।

बाँकेमा ३ सय ८६ जना कोरोना संक्रमित विभिन्न आइसोलेसनमा बसिरहेका छन्। थपिने र डिस्चार्ज हुने क्रम चलिरहेको छ । बिहीबारमात्रै ३६ जना डिस्चार्ज भएका छन्।

भदौ २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्