अस्ट्रेलियाद्वारा कोभिड–१९ विरुद्धको खोप देशभित्रै आपूर्ति र उत्पादन गर्न सम्झौता

सिड्नी – अस्ट्रेलियन सरकारले कोभिड–१९ विरुद्धको खोपलाई देशभित्रै आपूर्ति तथा उत्पादन गर्नका लागि अनुसन्धानकर्ता र उत्पादक कम्पनीसँग सम्झौता गरेको छ।

यसअघि अस्ट्रेलियाले बेलायती कम्पनी एस्ट्राजेनेकासँग गत अगष्ट १९ तारिखमा खोपका लागि प्रारम्भिक सम्झौता गरिसकेको छ।

सम्झौता अनुसार परीक्षण सफल भएको खण्डमा अस्ट्रेलियाले अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास र उत्पादन गर्ने खोप तथा युनिभरसिटी अफ क्वीन्सल्याण्ड र कमनवेल्थ सिरम ल्याबरेटोरी (सिएसएल) ले विकास र उत्पादन गर्ने खोपलाई देशभित्रै आपूर्ति र उत्पादन गर्नका लागि १ अर्ब ७० करोड अस्ट्रेलियन डलर खर्च गर्ने कुरा उद्योग, विज्ञान तथा प्रविधि मन्त्री क्यारेन एन्ड्रूजद्वारा गत सेप्टेम्बर ७ तारिख सोमबारका दिन जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।

सम्झौतापश्चात् ती खोपहरू मेलबर्नमा उत्पादन हुनेछन् जसबाट करिब ८ करोड ४८ लाख भन्दा बढी खोपको मात्रा अस्ट्रेलियान जनतालाई उपलब्ध हुनेछ। तीमध्ये करिब ३८ लाख खोपको मात्रा आगामी जनवरी र फेब्रुअरी महिनामैँ उपलब्ध हुनेछ।

खोप सुरक्षित र प्रभावकारी हुनुपर्नेछ– प्रधानमन्त्री मोरिसन

अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले सम्झौता गरिएका ती दुवै खोपहरू सुरक्षित र प्रभावकारी भएको प्रमाणित हुनेपर्ने तथा जनतालाई दिइनुअघि सबै नियामक आवश्यकताहरू पूरा गरेको हुनपर्ने बताएका छन्।

‘परीक्षण सफल भएको खण्डमा अस्ट्रेलियन जनताले कोभिड–१९ खोपलाई सन् २०२१ मा निःशुल्क रूपमा सेवन गर्न पाउनेछन्’, प्रम मोरिसनले भने, ‘आपूर्ति तथा उत्पादन सम्झौता सुरक्षित गरेर विश्वमा अस्ट्रेलियन जनता सुरक्षित र प्रभावकारी खोप पाउनेरूमध्ये अग्रपङ्तिमा हुनेछन् ।’

‘खोपको परीक्षण सफल हुन्छ भन्ने कुनै ग्यारेन्टी त छैन तर यदि स्वास्थ्य विज्ञहरूले खोपलाई हरियो बत्तीको सङ्केत दिएमा सम्झौताले अस्ट्रेलियालाई खोप पाउने देशको सूचीमा अग्रस्थानमा राख्नेछ’, प्रम मोरिसनले भनेका छन् ।

अस्ट्रेलियाका स्वास्थ्य मन्त्री ग्रेग हन्टले एकपल्ट उपलब्ध भएपछि, कोभिड–१९ विरुद्धको खोप लिनेमा अस्ट्रेलियाली जनता विश्वमै पहिलो मध्येमा पर्ने बताएका छन्।

‘अस्ट्रेलियन सरकार खोप दिइने कार्यक्रमको बलियो समर्थक हो किनभने यो नै समुदायमा रोग फैलनबाट रोक्ने सबैभन्दा सुरक्षित र प्रभावकारी तरिका हो जसले अस्पतालमा जानुपर्ने, दीर्घकालीन रोगका समस्या उत्पन्न गराउने तथा मृत्युसम्म हुन सक्छ’, स्वास्थ्यमन्त्री हन्टले भनेका छन् ।

अस्ट्रेलियाका उद्योग, विज्ञान तथा प्रविधि मन्त्री क्यारेन एन्ड्रूजले यो सम्झौताले उद्यागी तथा अनुसन्धानकर्ताको संयुक्त प्रयासले के सम्म उपलब्धि हासिल गर्न सकिन्छ भन्ने कुरा प्रमाणित गरेको बताएकी छन् ।

‘सिएसआईआरओ ले यी दुवै खोपहरू विकास गर्ने क्रममा काम गरेको छ, जहाँ युनिभरसिटी अफ क्वीन्सल्याण्डले विकास गरिरहेको खोपका लागि संघीय सरकारले ५० लाख अस्ट्रेलियन डलर बराबरको सहयोग उपलब्ध गराएको छ’, मन्त्री एन्ड्रूजले उल्लेख गरेकी छन् ।

अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरिरहेको खोप अहिले तेश्रो चरणको परीक्षणमा रहेको छ । गत मंगललबार एस्ट्राजेनेका कम्पनील खोप परीक्षणका क्रममा एक व्यक्ति विरामी परेपछि कम्पनीले खोपको परीक्षणलाई छोटो समयका लागि रोकेको जनाएको थियो ।

त्यसैगरी अस्ट्रेलियामा युनिभरसिटी अफ क्वीन्सल्याण्डले विकास गरिरहेको खोपले ‘प्रि–क्लिनिकल परीक्षण’ का दौरान प्रभावकारी नतिजा देखाएको थियो ।

भदौ २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्