अस्पतालले भर्ना नलिएपछि घर फर्केकी गर्भवतीको मृत्यु

विराटनगर – विराटनगरमा उपचार नपाएर एक ३० वर्षीया गर्भवतीको मृत्यु भएको छ।

विराटनगर ६ सुकुम्बासी टोलकी महिलालाई प्रसूतिका लागि कोशी अस्पताल विराटनगरले भर्ना नलिएपछि बिहीबार बिहान करिब ४ बजे घरमै मृत्यु भएको हो ।

दुईपटक शल्यक्रियाबाट प्रसूति गराइसकेको हुँदा अब गर्न नसकिने भन्दै कोशी अस्पताल पछाडि सर्दा घटना भएको नेपाली कांग्रेस प्रदेश १ का प्रमुख सचेतक केदार कार्कीले आरोप लगाए।

घटनापूर्व आफूसमक्ष जानकारीमा नआएको बताएका कार्कीले आर्थिक रुपमा विपन्न ऋषिदेव परिवारले रकम जोहो गर्दै गर्दा र अस्पतालले भर्ना लिन नमान्दा दुखद घटना भएको आरोप लगाए।

स्थानीय विकेश मुखियाका अनुसार दैनिक ज्याला मजदुरी गरी जीवनयापन गर्दै आएका शिवु ऋषिदेवले श्रीमती विमलालाई बुधबार बेलुका कोशी अस्पतालमा प्रसूतिका लागि लगेका थिए ।

उनका अनुसार अस्पतालले उपचार गर्न नसक्ने र घरमै फिर्ता लैजान भनेपछि ऋषिदेवले बुधबार राति महिलालाई घर फर्काएका थिए। सोही क्रममा बिहीबार बिहान ४ बजे उनको मृत्यु भएको हो।

शिवुको घर दुहवी १० भएपनि कामको सिलसिलामा उनी परिवारसहित विराटनगर ६ मा बसोबास गर्दै आएका थिए । दैनिक ज्याला मजदुरीबाट जीवनयापन गर्ने शिवु परिवारको आर्थिक रुपमा कमजोर हुँदा अस्पतालले भर्ना लिन नमानेको पीडित परिवारलाई उदृत गर्दै मुखियाले जानकारी दिए ।

अर्कोतर्फ, अस्पतालले यस विषयमा कुनै जानकारी दिएको छैन। आर्थिक अभाव र हेल्चेक्राईले जनताले मृत्युवरण गर्ने स्थिति आएको मुखियाको गुनासो छ।

यसअघि बिहीबार नै विराटनगरको विभिन्न ६ वटा अस्पतालले उपचार गर्न नसक्ने जनाएपछि खोटांगको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका ८१ वर्षिय डिगबहादुर राई पनि विराटनगरबाट हेलिकोप्टर चाटर्ड गरि घर फर्कनुपरेको थियो।

त्यसैगरि, यसअघि मोरंग कानेपोखरी गाँउपालिकाकी २३ वर्षीया सविना थापा, उदयपुर चौदण्डीगढी नगरपालिकाकी ६५ वर्षीया डम्बरकुमारी बस्नेत, उदयपुरकै २३ वर्षीया पदम राई, मोरंग पथरीशनिश्चरेकी ६२ वर्षीया सानकुमारी राईको विराटनगरका अस्पतालहरुले उपचार सेवा दिन नसक्दा मृत्यु भएको थियो ।

भदौ २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्