उद्योगपति शेखर गोल्छासँग अन्तर्वार्ता

‘कोरोनाले खतराको घन्टी बजाएको छ, लाखौँ युवालाई नेपालमै रोजगारी दिने आशा पनि देखाएको छ’

शेखर गाेल्छा। फाइल तस्बिर।

काठमाडौँ–कोरोना महामारीपछि नेपालको अर्थतन्त्र सामान्य अवस्थामा आउन धेरै समय नलाग्ने नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले बताएका छन्।

नेपालको अर्थतन्त्रमा निर्यात पक्षको योगदान अत्यन्त न्यून र बढी रेमिट्यान्समा निर्भर रहेकाले कोरोनापछि अर्थतन्त्र सुधारमा खासै समय नलाग्ने गोल्छाको दाबी छ।

वरिष्ठ उपाध्यक्ष गोल्छाले यदि भविष्यमा रेमिट्यान्स घट्यो भने मात्रै देशको अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने बताए।

उनले भने, ‘नेपालको अर्थतन्त्रलाई विश्व अर्थतन्त्रबाट अलग राखेर हेर्दा त्यति फरक पर्दैन। किनभने नेपालको अर्थतन्त्र विश्व अर्थतन्त्रसँग त्यति कनेक्ट छैन। हाम्रो अर्थतन्त्रमा निर्यातको भाग सानो छ। निर्यातको भाग सानो हुँदा त्यति ठूलो असर हामीलाई गर्दैन। हाम्रो अर्थतन्त्रलाई चलायमान बनाउने भनेको नै रेमिट्यान्सले हो। केही गरी रेमिट्यान्स घट्यो भने त्यसले ठूलो नकरात्मक प्रभाव पार्छ। तर अहिलेसम्म त्यसको लक्षण देखिएको छैन।’

हुन पनि नेपालको अर्थतन्त्र रेमिट्यान्समा नै टिकेको छ। ‘कोरोनाभाइरस जस्ता संकट फेरि आयो भने समस्यामा पर्न सक्छौँ’, उनले भने, ‘रेमिट्यान्सले हामीलाई परनिर्भर बनाएको र यसबाट उम्कन कोभिड–१९ ले अवसर दिएको छ।’

परनिर्भरताबाट उम्कन आन्तरिक उत्पादन र निर्यात बढाउनेमा जोड दिनुपर्ने उनको भनाइ छ। ‘अब आउने समयमा कसरी परनिर्भरता कम गर्न सक्छौँ? कसरी निर्यात बढाउने, कसरी आन्तरिक उत्पादन गर्ने, कसरी लाखौँ युवाहरुलाई रोजगारी दिने त्यतातिर सोच्नुपर्छ’, उनले भने, ‘युवाहरुको भविष्य नेपालमा नै छ र उनीहरुका सपना नेपालमा नै पूरा हुन्छन् भनेर विश्वास पनि दिलाउन सक्नुपर्छ।’

यो काम त्यति सजिलो नभएको पनि उनले बताए। ‘सजिलो छैन। तर कोभिड १९ ले यो पाठ पक्कै सिकाएको छ। हामी अहिलेसम्म रेमिट्यान्समा दंग परेर बसेका थियौँ। कोरोनाले अब आफ्नै अर्थतन्त्र बलियो बनाउनु पर्छ भन्ने घण्टी बजाएको छ। यसलाई खतराको घण्टीका रुपमा लिनुपर्छ’, उनले भने।

कोरोना महामारीले खतराको जनाउ दिए पनि यसले अवसर पनि दिएको उनले बताए। अवसर धेरै भए पनि सरकारले त्यसतर्फ ध्यान नदिएको उनको आरोप छ ।

‘कोरोना महामारीले हरेक क्षेत्र ठप्प पारेका बेला कृषि आशाको किरण बनेको देखिएको छ। कृषि विज्ञहरुले पनि कृषिमा क्षेत्रमा लाग्न सुझाव दिइरहेका छन्,’ गोल्छाले भने, ‘आगामी दिनमा यस्ता खतराहरुसँग जुध्न कृषिमा लगानी गर्नुपर्छ ।’

नेपालको भौगोलिक वनावटका आधारमा उत्पादन गर्ने हो भने रोजगारी सिर्जना हुने, निर्यात गर्न सकिने उनले बताए। यसका लागि कृषि निर्वाहमुखी मात्रै नभई निर्यातमुखी हुन जरुरी रहेको उनले बताए।

कृषिमा यान्त्रिकरण गर्नु पर्ने गोल्छाको भनाइ छ। तर यान्त्रिकीकरण गर्न गाह्रो भएको गोल्छाले जिकिर गरे। ‘नेपालमा चक्लाबन्दी छैन। नेपालका खेतहरु स–साना छन्। त्यसले गर्दा यान्त्रिकरण गर्न पनि गाह्रो छ। चक्लाबन्दीको कानुन पनि आउनु पर्‍यो। भविष्यमा हामीले कोपरेटिभ योजना बनाउन सक्नुपर्छ। कोपरेटिभ प्लानिङ गरेर योजना गर्न सक्यौँ भने कृषिमा उत्पादन बढाउन सकिन्छ। हाम्रो कष्ट घट्न सक्छ। त्यस्तै पहाडी र हिमाली–क्षेत्रहरुमा फलफूल,  नट्स लगायतका वस्तु उत्पादन गर्न सकियो भने निर्यातको सम्भावना पनि छ र यसले किसानसँगै देश पनि समृद्ध बनाउँछ’, उनले भने।

कृषिमा रोजगारीको सम्भावना देखिए पनि नेपाल फर्किएका नागरिकलाई सरकारले ती सम्भावनासँग परिचित गराउन नसकेको अवस्था छ जसका कारणले कोरोना महामारीले स्वदेश फर्किएका युवा वर्गहरुको ठूलो जमात फेरि पनि भारत जाने क्रम रोकिएको छैन।

त्यस्ता युवावर्गहरुलाई नेपालमा रोक्न सिप विकासको आवश्यकता भएको गोल्छाले बताए।

नेपालमा ८–९ लाख विदेशी कामदार रहेको उनले जानकारी दिए। उक्त विदेशी कामदारलाई विस्थापित गर्न नेपालीहरुको सिप विकास गर्न जरुरी रहेको उनले बताए। ‘नेपालमा ८ देखि ९ लाखसम्म विदेशी कामदार छन्’, उनले भने, ‘यदि नेपालीहरुको सिप विकास गर्न सकियो भने ती कामदारहरुलाई विस्थापन गर्न सक्छौँ। सिप विकास गर्न एकमद आवश्यक छ।’

यस्तै उनले उद्योगहरु संचालन गर्न तुलनात्मक रुपमा महंगो रहेको बताए। कोरोना महामारीले उद्योग व्यवसायहरु पनि धरासायी अवस्थामा पुगेका छन्। उद्योग व्यवसायसँगै नेपालको अर्थतन्त्र पनि धरासायी अवस्थामा नै छ। अर्थतन्त्रलाई पुरानै लयमा फर्काउन गोल्छाले सबैभन्दा पहिले सकरात्मक सोचको सिर्जना गर्न जरुरी रहेको बताए।

त्यस्तै नेपालको अर्थतन्त्रलाई चलायमान बनाउन र लयमा ल्याउन महत्वपूर्ण भूमिका रेमिट्यान्सले खेलेको गोल्छाले बताए।

‘हाम्रो निर्यात छैन। रेमिट्यान्सले नै उपभोग बढाएको छ’ उनले भने, ‘उपभोग बढ्दा रेभिन्यु उठ्छ। रेभिन्यु उठ्दा उद्योगहरु चल्छ। सरकारको खर्च चलेको छ। यदि आपूर्ति मिलाउनका लागि जुन बढेको डिमाण्ड छ त्यसमा उद्योगहरु चलेका छन् व्यापार व्यवसाय फस्टाएको छ। र अहिले पनि रेमिट्यान्स घट्ने संकेत छैन।’

कोरोना महामारीले ठप्प भएको अर्थतन्त्र अन्य देशको तुलनामा अलि छिटो लयमा फर्कने आशा गोल्छाको छ। नेपाल उद्योग वाणिज्य महासंघले पटक–पटक सरकारलाई बजेट र मौद्रिक नीतिमार्फत राहत प्याकेज ल्यानुपर्ने सुझाव दिँदै आएको थियो। केही हदसम्म त्यसको सुनुवाइ भएको गोल्छाले बताए।

अर्थतन्त्रलाई चलायमान बनाउन आक्रामक रुपमा राहत प्याकेज ल्याउनु पर्ने उनको भनाइ छ। सरकारले निजी व्यवसायीलाई बजेट तथा मौद्रिक नीतिमा समेटेको छ।  व्यवसायीहरु बजेटबाट त्यति सन्तुष्ट नदेखिए पनि मौद्रिक नीतिबाट भने खुसी भएका थिए।

यसै साताको आइतबार प्रधानमन्त्रीले निजी व्यवसायीहरुसँग कोरोनासँग कसरी अगाडि बढ्न सकिन्छ भनेर छलफल गरेका थिए। व्यवसायीहरुले जोरविजोर प्रणालीमा बजार तथायातायात सञ्चालन गर्न सुझाव दिएका थिए। उक्त सुझाव सुनुवाइ भए पनि कर, भ्याट बुझाउने समय थपका लागि भने सरकार सकारात्मक देखिएन।

त्यसको दोस्रो दिन सोमबार नेपाल राष्ट्र बैंकले राजस्व संकलन गर्न बैंकका सबै शाखा तथा काउण्टर खुल्ला गर्न निर्देशन दियो। गोल्छाले यस विषयमा छलफल चलिरहेको र आफूहरुले तिर्न सक्नेले तिर्नु पर्ने, नतिर्न सक्नेका लागि सरकारले सहुलियत दिनुपर्ने माग गरेको बताए।

‘यो समय भनेको एक्स्ट्रा अर्डिनरी छ। बजार बन्द छ’ उनले भने, ‘सामान्य रुपमा खुले पनि धेरै ठाउँमा बन्द नै छ। पैसा नै नभएपछि कसरी तिर्ने? त्यसैले सक्नेले तिर्ने नसक्नेलाई सरकारले सहुलियत दिनुपर्ने माग हामीले गरेका छौँ।’

नेपालमा अर्थतन्त्रमा आएको अहिलेसम्मकै गम्भीर प्रकृतिको चुनौती हो यो। गोल्छाले अहिलेसम्म आएका चुनौतीबाट सजिलै पार लागे पनि यस चुनौतीबाट त्यति सजिलै पार लाग्न नसकिने बताए।

महामारीले झण्डै २२ प्रतिशतले रोजगारी गुमाइसकेको अवस्था रहेको छ भने इतिहासमा नै पहिलो पटक अर्थतन्त्र ऋणात्मक अवस्थामा पुगेको गोल्छाले बताए।

चुनाव कसरी अगाडि बढ्छ ?

कोभिड–१९ का कारणले नेपाल उद्योग वाणिज्य महासंघको ५४ औँ साधारण सभा रोकिएको छ। रोकिएको साधारण सभा र निवार्चन कार्यलाई सम्पन्न गर्न महासंघले समिति गठन गरेको थियो। उक्त समितिले निवार्चनलाई कसरी अगाडि बढाउने भन्ने सम्बन्धमा ढाँचा तथा प्रक्रिया (मोडालिटी) तयार गरी सोमबार नै महासंघका अध्यक्ष भवानी राणालाई प्रतिवेदन बुझाएको थियो।

प्रतिवेदनमा वार्षिक साधारण सभाको हकमा समुद्घाटन, बन्द सत्र र समापन कार्यक्रम भर्चुअल जुममार्फत तथा निर्वाचनको हकमा स्वास्थ्यका सबै प्रोटोकल एवं सरकारका स्वास्थ्यनिर्देशनहरू पालना गरी क) सबै क्षेत्र (जिल्ला र नगर, वस्तुगत, द्विर्राष्ट्रिय, एसोसिएट) को प्रत्यक्ष काठमाडौँमा, ख) जिल्ला र नगर क्षेत्रको सम्बन्धित प्रदेशमा र बस्तुगत, एसोसिएटको काठमाडौँमा र ग) कम्प्युटराइजरई–भोटिङ मार्फत सम्पन्न गर्न सकिने तीनवटा मोडलहरू सुझाएको थियो।

समितिले दिएको सुझावलाई लिएर अध्यक्षले छिट्टै छलफल गर्ने गोल्छाले जानकारी दिए। ‘अध्यक्षज्यूले छिट्टै यस विषयमा छलफल गर्नुहुन्छ भन्ने विश्वास छ।सबैको चाहना चुनाव छिटो भन्दा छिटो होस भन्ने छ’ उनले भने, ‘तर सरकारको कुनै पनि नियम कानून मिचेर हामी चुनाव गर्न चाहन्नौँ। हामी स्वास्थ्यसँग खेलवाड गरेर चुनाव गराउन चाहान्नौँ। समिति गठन गरेर माेडालिटी तयार भएको छ सोहीअनुसार सुरक्षित बाटो रोजेर अगाडि बढ्छौ।’

 

भदौ २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्