वीरेन्द्रनगर- नांगो पहाड र बञ्जर जमिन। बाटो, खानेपानी, विजुली, विद्यालयलगायत सामान्य विकासका पूर्वाधारसमेत अपर्याप्त। उराठलाग्दो र निर्जर गाउँ। त्यसमाथि आर्थिक र सामाजिक चेतनाको अवस्था त झनै दयनीय ।
यस्तै विषम परिवेशमा जन्मिइन् जुम्लाको तीला ७ की शारदा बुढा।अधिकांश गाउँलेमा साँघुरो सोच। र, त्यही सोचबाट ग्रस्त उनीहरुको व्यवहार। शारदाको कलिलो मष्तिस्कले समाजको त्यो कुरुप अनुहारलाई ठम्याइसकेको थियो। उनलाई छोरीहरुमाथि हुने विभेद बुझ्न समय लागेन।
तर, सरकारले ल्याएको छोराछारी दुवैलाई अनिवार्य स्कूल भर्ना गर्ने नीतिका कारण स्कूल पठाउन बाध्य भए उनका अभिभावक।
दुःख धेरै, उब्जनी कम हुने खेतबारीमा पसिना बगाएर जेनतेन शारदाका लागि पढाई खर्च जुटाए। तर, स्कूलसम्मको ३/४ घण्टा पैदल यात्रा, त्यो पनि एक्लै शारदाका लागि सहज थिएन। तर पनि उनका गोडा डगमगाएनन्।
विद्यालयको शिक्षाले शारदालाई आफू र आफूजस्तै छोरीमाथि हुने विभेद चिन्ने र त्यसको प्रतिरक्षाका लागि तयार पार्दै लग्यो ।शिक्षाले आफ्नो बचाउका लागि लड्न सिकाउँछ भन्ने पनि बुझ्दै गइन्।
त्यसो त छाउपडी, बलात्कार, कलिलै उमेरमा जर्बजस्ती विवाह, छोरी जन्माउनासाथ महिलाले सामना गर्नुपर्ने बहुविवाह, घरेलु हिंसा, श्रमशोषणजस्ता तत्कालीन सामाजिक विसंगतिका बारेमा उनी जानकार नै थिइन।कैयौँ महिला त गाउँको अपमानित जीवनभन्दा भारत र खाडी मुलुकतर्फको कष्टकर बाटो रोज्न बाध्य थिए।
यस्ता विकृति र विसंगतिबिरुद्ध केही महिलाले आवाज उठाउँथे । तर, ती आवाज पनि थेत्तरो समाजका सामु अर्थहिन बन्थे। र, समाजमा महिलालाई विवश, कमजोर र लाचार छविका रूप प्रस्तुत गर्ने क्रम चलिनै रह्यो।
तर, शारदा अरुभन्दा भिन्न थिइन्। सानैमा बर्दीमा नेपाली सेनालाई देख्दा थाहै नपाई उनमा पनि सैनिक पोशाकमा ठाँटिने लक्ष्य अकुंरण भइसकेको रहेछ। उनको त्यो लक्ष्यलाई छिमेकी र साथीभाइले बकम्फुसे भन्दै हाँसोको विषय बनाउँथे। स्कूलमा आयोजना हुने दौड प्रतियोगितामा भाग लिँदा धेरैको खिस्सीटिउरी सहनुपर्यो। तर, त्यसले उनलाई आफ्नो लक्ष्यमा अडिग बन्न थप प्रेरित गर्यो । अन्ततः शारदाको अठोट र आँटका अघि कसैको केही लागेन।
बुवाआमाले पनि छिमेकीका कुरा सुनेर आफूलाई सेनामा भर्ती हुनबाट रोक्ने हुन् कि भन्ने डर थियो उनलाई । तर, उनले कसैलाई सुइँको नदिएर सेनामा भर्ती हुन फारम भरिन्। खिरिलो र दुब्लो पातलो तर दरिलो ज्यान। पहिलो पटकमै उनी सेनामा छनौट भइन्।

छनौट हुँदा नै उनलाई संसार जितेको महसुस भयो । बुर्कुसी मार्दै घर पुगिन् र आफू सेनामा छनौट भएको खबर बुवाआमालाई सुनाइन्। त्यो सुनेर शुरुमा आमाबुवा एकछिन्अवाक् भए। खुशीको सिमा रहेन।उनी सेनामा छनौट भएको खबर निमेष भरमै गाउँभरि फैलियो । अघिपछि केटी भन्दै होच्याउने र हेलाँ गर्नेहरुले शारदालाई बधाई दिन थाले।
एसईई पास गरेर १९ वर्षको उमेरमा सेनामा प्रवेश गरेकी शारदाका लागि तालिमका सुरुआती दिन सहज भने थिएनन्। पुरुषसँगै समानरुपमा भिड्न पर्ने। तर, उनले कहिल्यै आफूलाई कमजोर ठानिन् । जीवनमै नगरेका कसरत उनका लागि अनौठा थिए। तालिमका कारण उनको साहसले उचाई लिँदै गयो ।
बर्दीमा सजिएपछि उनले आफ्नो त्यो कठिन यात्रा भुलिन्। उनलाई जीवनमा पहिलो पटक आत्मनिर्भर भएको अनुभव भयो । पहिलो महिनाको तलब थाप्दाको खुशी त झन् कुरै भएन जीवनको पहिलो कमाई भने उनले बुवाआमाको हात राखिदिइन्।
हाल कालिबक्स गण(ई), सुर्खेतमा कार्यरतमा कार्यरत् शारदा भन्छिन्, ‘कुनै पनि काम गर्ने चाहना हुनुपर्छ। त्यसमा परिवारले सहयोग गर्नुपर्छ। हामीले नसक्ने कुनै काम छैन।’शारदाको सेनाको जागिर खाने निर्णयबाट यतिबेला गाउँका अन्य केटीहरु पनि सेनामा हुन हौँसिएका उनले सुनाइन् । उनीहरु त्यही भएर हरेक दिन जसो शारदासँग सेनाको भर्ना प्रक्रिया र सम्बन्धित विषयमा फोन गरेर चासो राख्छन् ।
शारदा भने हाँस्दै जवाफ दिन्छिन्, ‘म भन्दा बलिया छौ तिमीहरु। भर्ना खुले नछुटाउनु ।’
सेनामा भर्ती भएसँगै शारदाको जीवनशैली बदलिएको छ। संकोच, हिच्किचाहट हटेको छ। स्वभाव हक्की बन्दै गएकोछ। अरुले के भन्लान् भन्ने त्रास हटेको छ। आफ्नो निर्णय आफै लिन थालेकी छिन् ।
सेनामा भर्ती भएपछि आफूले देश पनि चिन्न पाएको उनी बताउँछिन् । भन्छिन्, ‘सेनामा जागिर खाएपछि आफूभित्रको क्षमता देशलाई पनि चिन्न पाइने रहेछ। देशप्रतिको माया या गर्व बढ्दो रहेछ।’
अहिले उनको ध्यान आगामी तालिममा छ। त्यसमा पनि शतप्रतिशत दिन चाहन्छिन् उनी । सँगै पढाईलाई निरन्तरता दिने सोच पनि छ उनको ।
तर, एउटा कुराले भने उनको मन अझै पनि पोलिरहन्छ । त्यो हो अझै पनि नबद्लिएको उनको गाउँको परिवेश र चेतनाको स्तर। भन्छिन्, ‘हाम्रो गाउँका महिलाको अवस्था अहिले पनि बिजोग छ। सानैमा विवाह हुन्छ। छोरा पाएन, काम गरेन, मिठो पकाएन भनेर श्रीमानले कुट्छन्। घरबाट निकाल्छन्।खेतीपातीको दुःख उस्तै छ। गाउँमा हेपिएपछि धेरै महिला भारत जानेक्रम अझै जारी छ ।’
तर, उनले हरेश भने खाएकी छैनन् । गाउँका छोरी तथा महिलालाई ती दुःख र व्यथाबाट मुक्त गराउन आफ्नो तर्फबाट पहल गरिरहने कुरामा उनी दृढ छिन् ।
मुगुमा जन्मिएको सादनाको सहास
भूगोलका हिसावले जुम्लाभन्दा अझै विकट मानिन्छ मुगु। त्यहाँका महिला र बालबालिकाको अवस्था थप दयनीय छ। पिना नगरपालिका ७ की सादना शाहीको जीवन भोगाई शारदासँग ठ्याक्कै मिल्छ। सादना हुर्किएको गाउँका समस्या पनि उस्तै। गरिबी र अभाव त जीवनको नियति नै भए।
छोरीलाई हर्ने दृष्टिकोण पनि उस्तै। तर त्यस्तो परिवेशमा पनि शिक्षाले सादनाको चेतनाको आँखा खोलिदियो। आफ्नो जीवनको महत्व र भविष्यबारे सोच्ने बनाइदियो।
‘अर्काका घर जाने जातलाई पढाएर के गर्ने’ भन्ने कठोर सामाजिक मान्यता स्थापित भएको ठाउँमा स्कूल जान पाउँदा सादनाले आफूलाई भाग्यमानी सम्झिनु स्वाभाविक थियो।
स्कूल पुग्न दैनिक कठिन उकालो ओरालोको विकल्प थिएन। त्यहीबीच एक दिन उनको आँखा नेपाल टिभिजनबाट आउने नेपाली सेनाको साप्ताहिक कार्यक्रममा टक्क अडियो।त्यसपछि उनले त्यो कार्यक्रम नछुटाई हेर्न थालिन्। विपद्मा परेकाको उद्धारमा सेना खटिएको र उनीहरुले गरेको साहसिक कामहरु समेटिएका दृश्यले उनलाई भित्रभित्रै छोएछ।
अनि बिस्तारै उनीभित्र ‘के म यस्तो सेना बन्न सक्छु?’ भन्ने प्रश्न खेल्न थालेछ । त्यही प्रश्न एक दिन उनले डराउँदै कराँते सिकाउने आफ्ना मामा समक्ष राखिन्।मामाले नाई भन्ने कुरै थिएन।
एसईई सकेपछि कोहलपुर झरेर सेनामा भर्तीका लागि तयारी थालिन्। त्यो थाहा पाएपछि शुरुमा उनलाई पनि गाउँलेले खिसी गरे। तर त्यसले सादनालाई बिचलित बनाएन । मुगुको रारा पुगेर भर्तीका लागि फारम भरिन्।

हाल नम्बर दुई राजदल गण सुर्खेतमा कार्यरत उनी भन्छिन्, ‘मैले कोसिस गरेँ, जागिर पाएँ। म सक्दिन भनेर घरमै बसेको भए यतिञ्जेल विवाह हुन्थ्यो। बच्चाबच्ची हुन्थे। अनि घरपरिवारमै सिमित हुन्थ्यो मेरो जीवन।’
उनीले भर्खरै हो तालिम सकेको। तर उनको पहिले र अहिलेको सोचाईमा धेरै परिवर्तन आएको छ । शारदालाई झैं आफ्ना गाउँका महिला अहिले पनि थिचोमिचोमा परेको देख्दा भने उनलाई पीडा हुन्छ।
गर्भमा छोरा भए/नभएको पहिचान गरी छोरी भए तुहाउने गरेको अहिले पनि सुन्दा उनको मन भत्भती पोल्छ। त्यही भएर उनी पनि गाउँका महिलालाई त्यो पीडाबाट बाहिर ल्याउन आफ्नो तर्फबाट प्रयास जारी राख्ने बताउँछिन् ।
जाजरकोटकी हिम्मतवाली देवी
उत्तरपश्चिम पृतना मुख्यालय, निमारे सुर्खेतमा कार्यरत् जाजरकोट खलंगा २ की देवी खत्री सेनामा जागिरे भएको दश वर्ष भयो। २०६६ सालमा सेनामा भर्ती हुँदा उनका मनभित्र अनेक किसिमका छालहरु उठे।
सेनामा भर्ती भएपछि व्यक्तिगत र पारिवारिक जीवनमा सम्झौता गर्नुपर्ने हो भन्ने डर र चिन्ता दुवै थियो उनलाई । तर, गाउँको दुःख र पछौटेपनबाट बाहिरिने उत्कट चाहनाले उनलाई सेनामा भर्ती गराएर छाड्यो ।
यतिबेला उनी सेनामा भर्ती भएर आफूलाई मात्र नभएर पुरै परिवारलाई व्यवस्थित गर्न सकेकोमा बढी सन्तुष्ट छिन् । सेनाकै सहकर्मीसँग घरजम गरिन्। आफ्नै तलबले सुर्खेतमा घर बनाइन्।
हाल चार वर्षीय छोरा हुर्काउँदै गरेकी उनी भन्छिन्, ‘आफूले सकारात्मक सोचका साथ काम गर्नुपर्छ।परिवार नुबझ्ने छ भने आफैले बुझाउनुपर्छ।’ उनी पनि गाउँका महिलाको अवस्था सम्झेर विस्मित हुन्छिन्।
भन्छिन्, ‘मैले त मौका पाएँ, आफूले आँट गरे। मेहनत गरेँ, परिवारले सहयोग गर्नुभयो। तर मलाई जस्तो सहयोग अरुलाई मिलेन।’
सेनामा आवद्ध भएपछि अभाव र विभेदमा हुर्किएका शारदा, सजना र देवीजस्ता महिला शारीरिकरुपमा स्वस्थ र फूर्तिला त भएका छन नै उनीहरुको आत्मविश्वास पनि चुलिएको छ ।

उनीहरुमा आफू कमजोर भन्ने सोच हटेर जस्तोसुकै चुनौती पनि सामना गर्ने हिम्मत पलाएको छ । यो बीचमा देवीको पनि जीवनप्रतिको बुझाई फेरिएको छ।सबैभन्दा महत्वपूर्ण त पुरुष र महिला सबै बराबरी भन्ने ।
उनीहरुको हिम्मत र आत्मविश्वासले दुर्गम भेगका अन्य महिलालाई पनि सेनामा भर्ती भएर देश र समाजको सेवा गर्न प्रेरित गर्दै लगेको छ। र, यस्तै प्रेरणाले गर्दै नै पछिल्ला वर्षहरुमा सेनामा महिलाहरुको संख्या पनि वर्षेनी बढ्दोक्रममा छ ।
महिलामत्री सैनिक संगठन र नेतृत्व
महिलाको सहभागिता बढाउनका लागि सेनाले अघि सारेका कार्यक्रमको पनि उत्तिकै भूमिका छ। महिला सैनिकलाई सकेसम्म घरपायक या आफ्नो श्रीमान भएको ठाउँमा सरुवा गर्न थालिएको छ। शिशु स्याहार केन्द्र सञ्चालनमा ल्याइएको छ।यस्ता कार्यक्रमले खासगरी विवाहित महिलाको पेशागतसँगै पारिवारिक जीवनलाई पनि सुरक्षित बनाउन सहयोग गरेको छ।
देवी भन्छिन्, ‘म सुत्केरी भएका बेला बिदा नपाएको भए जागिर छोड्नुपथ्र्यो होला। सुत्केरी बिदा पछि पनि ६/७ महिना दौडधूप गर्न परेन। शरीरलाई भार पर्ने काम गर्न परेन । जागिर पनि घर नजिकै थियो।
देवी थप्छिन्, ‘सेनामा भर्ती हुँदा पहिले आफै सक्छु कि सक्दिन भन्ने डर हुन्थ्यो। घरपरिवारले सहयोग गर्छन् कि गर्दैन् भन्ने चिन्ता हुन्थ्यो। तर पछि घरपरिवार र संगठन सबैबाट सहयोग र हौसला प्राप्त भयो।’
सेनाले पहिलो पटक २०१७ सालमा नर्स भर्ना गरेर संगठनमा पहिलो पटक महिलाको प्रवेश खुला गरेको थियो । त्यसपछि २०१८ सालमा संस्थागतरुपमा नेपाली सेनामा महिला भर्ना प्रक्रियाको थालनी भएयता क्रमिकरुपमा २०२१ सालमा प्याराफोल्डर र २०२५ सालमा चिकित्सकका रूपमा महिलाको सेनामा प्रवेश शुरुभयो।
२०५४ सालमा सेनाले इन्जिनियर, इन्फेन्ट्रीतर्फ महिला भर्ना गर्ने नीति लिए पनि २०६० सालदेखि मात्र इन्फेन्ट्रीमा महिलाहरु भर्ना भए। २०६१ सालमा इन्फेन्ट्री अधिकृत र २०६७ सालमा वायुसेवातर्फ महिला भर्ना भए। योबीचमा २०७४ साउन १ गते महिलाका लागि छुट्टै गुल्मका रुपमा गोरखकाली गुल्म स्थापना भयो। उक्त गुल्मको नेतृत्व पनि महिला सेनानीले गर्ने व्यवस्था छ ।
महिला सैनिक अधिकृतबाट बढेको आत्मविश्वास
पछिल्ला वर्षहरुमा सेनामा हिमाल, पहाड मात्रै होइन तराईबाट पनि महिला प्रवेश गर्नेक्रम बढेको छ। सुविधासम्पन स्थानमा हुर्किएका र स्तरीय शिक्षा प्राप्त गरेका महिलाको आकर्षण पनि सेनाप्रति बढ्दै गएको देखिन्छ।
खासगरी अधिकृत तहमा त्यो पृष्ठका महिलाहरुको उपस्थिति बढी देखिन्छ । सेनामा महिला मैत्री वातावरण बनोस् भन्ने उद्देश्यका साथ हाल अछाम, जुम्ला जस्ता दुर्गममा पनि महिला अधिकृत पठाउने गरिएको छ।
महिला अधिकृतहरुको बढ्दो संख्याले तल्लो दर्जाका महिलालाई थप हौसला मिलेको सेनाको निष्कर्ष छ । तिनैमध्येकी एक हुन् सहसेनानी कृतिका थापा भक्तपुरमा जन्मिन्। घर नजिकै खरिपाटीमा नेपाली सेनाको अधिकृत क्याडेट उत्पादन गर्ने सैनिक प्रतिष्ठान थियो।
त्यहाँको गतिबिधि हेर्दै हुर्केकी थापालाई अचानक सेनामा भर्ती हुने लक्ष्य लिइन्। थापाको परिवारमा अन्य कुनै सदस्य सेनामा जागिरे नभएपनि उनमा भने सेना बन्ने रहर जाग्यो। यसो त थापा पनि सानैदेखि हक्की स्वाभाव र केही राम्रो काम गर्नुपर्छ भन्ने स्वाभावकी थिइन्। बिए अध्ययनका क्रममा साथीहरुबाट भर्ना खुलेको थाहा पाउनसाथ उनले फारम भरिन् र छनौट पनि भइन् ।

हाल उत्तरपश्चिम पृतना मुख्यालय, सुर्खेतमा कार्यरत सहसेनानी पदमा कार्यरत थापा भन्छिन्, ‘सेनामा प्रवेश गरेपछि म महिला हो भन्ने भाव हुँदैन। कुनै पनि काममा कसरी सतप्रतिशत नतिजा दिने भन्नेमा ध्यान जान्छ।’
तालिम सकेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा रहेको कालिप्रसाद गण, काठमाडौँमा दुई वर्ष ड्यिुटी गरेपछि उनको सुर्खेत सरुवा भयो। जन्मेदेखि उपत्यका छोडेर पोखरासम्म मात्र पुगेकी थापा अचानक घरदेखि लामो यात्रा गर्नुपर्ने सुर्खेतमा आइन्। मौसम पनि उनका लागि अनकूल थिएन। तर थापाले त्यसलाई अवसरका रुपमा लिइन्।
हिमाल, पहाड मात्रै होइन तराईबाट पनि सेनामा कार्यरत र भर्ती हुँदै गरेका महिलासँग अन्तरक्रिया गर्दा उनलाई महिलाको वास्तविक चित्र बटुल्ने अवसर मिलेको छ । नेपाली महिलाको दारुण अवस्था देखेर र सुनेर उनी दुःखी भइन्।
थापाले मुलुकका केही सहरी क्षेत्रमा महिला पुरुष सरह काम गर्न खोजेपनि कर्णालीमा अझै पनि महिलाहरुमाथिको विभेद कायमै रहेको पाइन् । तर, निकै पछिल्ला वर्षहरुमा कर्णालीका दुर्गम क्षेत्रबाट समेत साहस र हिम्मत बोकेर सेनामा भर्ती हुने महिलाको संख्या बढेको देख्दा भने उनलाई खुसी पनि लागेको छ।
थापा भन्छिन्, ‘नेपालका महिलाको अवस्थाबारे पढेको र सुनेको मात्रै थिए। तर जब म सुर्खेत आए र यहाँबाट अन्य जिल्लामा पनि भ्रमण गरे तब मलाई थाहा भयो यहाँ महिलाको अवस्था निकै नाजुक रहेछ। खुशीको कुरा त्यसका बाबजुत पनि सेनामा महिला भर्ती हुनेक्रम क्रमशः बढेको छ।’

सेनामा भर्ती भएका महिलाहरुमा क्रमशः बढ्दै जाने आत्मविश्वासलाई थापा उनीहरुको सशक्तीकरणका हिसाबले सबैभन्दा सकारात्मक मान्छिन्।
थापाका अनुसार भर्ना हुनु पहिले महिला हरेक कुरामा लजाउने, आफ्ना कुरा खुलेर भन्न नसक्ने अवस्थामा हुन्छ भने छनौट भएर ब्यारेकमा प्रवेश गर्दा नगर्दै उनीहरुको आत्मविश्वासमा आकाशजमिनको परिवर्तन हुने गरेको छ।
यो देखेर हौसिएकी थापा आफ्ना मातहतका महिला कर्मचारीलाई राम्रो काम गर्न थप प्रेरित गर्नेगरेकी छिन् । उनी आफ्ना समस्या खुलेर व्यक्त गर्न लगाउने काममा पनि समय खर्चिँदै आएकी छिन्।
उनी भन्छिन्, ‘यो संगठनमा आबद्द भइसकेपछि हाम्रो जीवनशैली, व्यक्तित्व निर्माण, सोच्ने तरिका सबैमा फेरबदल हुने रहेछ। समयको व्यवस्थापन र कामको महत्वबारे पनि स्पष्ट भइनेरहेछ।’
हाल सेनामा एक लाखको हाराहारीमा संख्या रहेको ९ दशमलब ६ प्रतिशत महिला रहेको तथ्याङ्क छ। हरेक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागि हुनु पर्ने संविधानले ग्यारेन्टी गरेका बेला सेनामा संख्या निकै न्यून हो।
तर संख्यामा कम भएपनि महिला कर्तव्य पालन र सिकाईमा अब्बल भएको उत्तरपश्चिम पृतना सुर्खेतका उपरथी एवं पृतनापति विज्ञानदेव पाण्डे बताउँछन्। उनी भन्छन्, ‘सेनाले महिला मैत्री वातावरण निर्माण गरेर सेनामा महिलाको सहभागिता बढाउन थुप्रै कोसिस गरेको छ। अहिले जे जति सेनामा आबद्ध हुनुहुन्छ उहाँहरुको क्षमता, लगाव सबै राम्रो छ।’
२०७७ साल वैशाखमा सैनिक जनसम्पर्क सूचना निर्देशनालयले आयोजना गरेको लघु चलचित्र प्रतियोगितामा नेपाली सेनामा तराई मूलका महिलाको नेपाली सेनामा भर्ना हुने इच्छामा आधारित चलचित्र अपन ले प्रथम स्थान हासिल गरेको थियो। त्यसपछि बारास्थित २८ बाहिनी अड्डामा खुलेको सैन्य भर्नामा उल्लेख्य सहभागिता देखियो।
सेनामा महिलाको सहभागिता बढे पनि पुरुषसरह प्रतिस्पर्धा गरेर प्रमुख सेनानी हुने लाइनमा महिला प्रतिक्षामै छन्। सैनिक स्रोतका अनुसार हाल तीन जनाले स्टाफ कलेजको कोर्ष गरिरहेका छन्। यो सँगै आगामी दिनमा माथिल्लो पदमा पनि महिलाका संख्या बढ्ने विश्वास गरिएको छ।
शुरुमा सेनाले महिला भर्ना लिए पनि पूर्वाधार नभएका कारण उनीहरुलाई बाहिर जिल्लामा पठाएन । तर, हाल गणतहसम्म महिलाका लागि उचित बासस्थानको निर्माण भएको छ। त्यही भएर विस्तारै महिलाको सरुवा बाहिरी जिल्लामा पनि हुन थालेको छ ।
त्यसका अतिरिक्त पछिल्लो समय सेनाले महिलाहरुलाई नै लक्षित गरेर विशेष तालिमको व्यवस्था गरेकाले पनि महिलाहरुको संगठनप्रति मोह बढ्दै गएको सेनाका उच्च अधिकारीहरुको बुझाई छ ।
त्यसैगरी नेपाली महिला सैनिकहरुले देशभित्र मात्र नभएर विदेशमा पनि आफ्नो उत्कृष्ट प्रदर्शन गरेका छन् । संयुक्त राष्ट्रसंघको शान्ति सेनामा नेपाली महिला सैनिकहरुको उत्कृष्ट कामकै कारण नेपाली सेनाले शान्ति सेनामा महिला सहभागिता क्रमश बढाउँदै लगेको छ।
त्यसमाथि संयुक्त राष्ट्रसंघले शान्ति सेनामा महिला सहभागिता बढाएर कम्तीमा १५ प्रतिशत पुर्याउनुपर्ने लक्ष्यमा नेपाली सेनाले पनि सहमति जनाइसकेको हुँदा आगामी दिनमा शान्ति सेनामा नेपाली महिला सैनिकको सहभागिता बढ्दै जाने निश्चित छ । र, यसले महिलामा नेपाली सेनाप्रतिको आकर्षण थप बढाउने विश्वास गरिएको छ ।