अफगानिस्तान र तालिबानबिच पहिलोपटक प्रत्यक्षरुपमा शान्ति वार्ता हुँदै

अफगानिस्तानमा चार दशकदेखि चलेको युद्ध अन्त्यको प्रयास स्वरुप शान्ति वार्ता सुरु हुँदैछ। अफगानिस्तान सरकार र तालिबान बिद्रोहीबिच शनिबार पहिलोपटक खाडी मुलुक कतारमा शान्ति वार्ता हुँदैछ ।

शान्ति वार्ता यसअघि नै हुने भनिए पनि विविध कारणले हुन सकेको थिएन । वार्ताको उद्घाटनका लागि दोहा उड्ने क्रममा अमेरिकी विदेश मन्त्री माइक पोम्पोओले यसलाई ऐतिहासिक घटना भनेका छन् ।

गएको फेब्रुअरीमा अमेरिका र तालिबानबिच सुरक्षा सम्झौता भएपछि वार्ताको वातावरण बनेको हो। बन्दी रिहा गर्ने सहमति भने विवादास्पद छ । तर वार्ता सफल भएमा अफगानिस्तानमा विगत चार दशकदेखि जारी हिंसा अन्त्य हुनेछ ।

अफगानिस्तानको वार्ता टोलीका प्रमुखहरु शुक्रबार नै दोहा पुगेका छन् । बिहीबार तालिबानले आफू वार्तामा सहभागी हुने पुष्टि गरेको थियो । ६ कैदी रिहा भएपछि तालिबानले वार्ताका लागि सहमति जनाएको हो ।

अफगान सरकार र तालिबानका प्रतिनिधिबिच हुन लागेको यो पहिलो प्रत्यक्ष वार्ता हो । यसअघिसम्म तालिबानले अफगान सरकारका प्रतिनिधिसँग भेट्न अस्वीकार गर्दै आएका थिए ।

उनीहरुले अफगान सरकार शक्तिहीन र अमेरिकाको कठपुतली रहेको बताउँदै आएका थिए। दुवै पक्ष राजनीतिक सहमति गरी हिंसा अन्त्यका लागि प्रयासरत छन् ।

भदौ २७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्