जीवन दर्शन

हामी सबैलाई चाहिने ‘सम्बेगात्मक चेत’

मैले गत हप्ता अस्तित्ववादका बिषयमा केही लेखेको थिएँ, आज त्यही बिषयलाई अलि अगाडि बढाउँदै मानिसको जीवनको सार पहिल्याउन सम्बेगात्मक चेत (Emotional Intelligence – इमोशनल इन्टेलिजेन्स) को भूमिकाका बारेमा लेख्न चाहन्छु। मेरा एक शुभचिन्तकले भन्नुभएको थियो मेरा लेखहरु बुझ्न गाह्रो पर्छ रे। त्यसैले म उदाहरणहरुका साथ अलि सरल किसिमले लेख्ने प्रयास गर्नेछु।

दार्शनिक जाँ पाल सात्रले भनेका थिए : “Man is nothing else but that which he makes of himself”, अर्थात मानिस आफूलाई जस्तो बनाउँछ त्यस्तै बन्छ। मानिस उसको इच्छा, आकांक्षा, सोच र संगत अनुरुप जीवनमा अगाडि बढिरहेको हुन्छ।

संगतको महत्व दर्शाउन म हाम्रा पूर्वीय नीति श्लोकहरु मध्येबाट एउटा श्लोक यहाँ राख्न चाहन्छु।

जाड्यं धियो हरति सिञ्चति वाचि सत्यं
मानोन्नति दिशति पापमपाकरोति ।
चेतः प्रसादयति दिक्षु तनोति कीर्तिं
सत्सङ्गतिः कथय किं न करोति पुंसाम् ।।

यसको भावार्थ हुन्छ – असल मानिसको संगतले बुद्धिको जडतालाई हटाउँछ, बोली सत्य हुन्छ (साँचो बोल्ने प्रेरणा मिल्छ), सम्मान बढाउँछ, दुष्कर्मलाई भगाउँछ, मन प्रसन्न (खुशी) रहन्छ र आफ्नो यश  (कीर्ति) चारै दिशामा फैलाईदिन सक्छ ।

असल संगतले गर्न नसक्ने के छ र ?

हुन पनि हो, अरुका कुरा काटेर, अल्छी गरेर समय बिताउनुको सट्टा असल मानिसहरुको संगत गर्ने, साहित्य, कलाहरुबारे चर्चा गर्ने, पूर्व र पश्चिमका उत्कृष्ट व्यक्तिका सफलताका कथाहरु सुन्ने गरेर पनि व्यक्तिले आफ्नो व्यक्तित्व निखार्न सक्दछ ।

कुनैपनि व्यक्तिको सोच र उसले गरेका कामहरुले उसलाई मात्र नभएर उसका परिवार, छरछिमेक र समाजलाई नै प्रभावित गरिरहेका हुन्छन् । मैले गलत गर्दै छु कि भन्ने चिन्ता प्रायः हरेक व्यक्तिलाई हुन्छ र उ सकभर राम्रा कामहरु गर्न चाहन्छ ।

मानिस स्वतन्त्र छ । उसंग असीमित क्षमता छ – कल्पना गर्न र आफ्ना कल्पनाहरु साकार पार्ने कार्यहरु गर्न । तर, सात्र भन्थे- “Man is condemned to be free.” स्वतन्त्रतासँगै आउने जिम्मेवारीको बोझले मान्छे थिचिएको हुन्छ। मानिसको दायित्व ठूलो छ। उसले आफ्नो स्वतन्त्रताको उपभोग गर्दा मानवता र अरुको स्वतन्त्रताको प्रतिकूल नहोस् भनेर हरपल सचेत रहनु पर्छ।

मानिसले यस्तो सचेतना कसरी प्राप्त गर्छ ?
के उसले जन्मिदा नै यस्तो क्षमता लिएर आएको हुन्छ ?
यस्ता प्रश्नहरु अनायासै हाम्रो मनमा आउँछन् ।

अन्य सबै जीबहरु भन्दा मानिस उत्तम छ किनभने मानिसको दिमागको “प्रि फ्रन्टल कर्टेक्स” भन्ने भागले उसलाई तर्क गर्ने, बिश्लेषण गर्ने, सही र गलतको फरक छुट्याउन सक्ने सामर्थ्य दिएको हुन्छ । तर दिमागको यो भागले व्यक्तिको घर परिवार, साथीसँगी र समाजका बिभिन्न घटनाहरुबाट दैनिक प्राप्त हुने सूचनाका आधारमा कार्य गर्छ । यस्तो बिश्लेषणात्मक क्षमतालाई हामी सम्बेगात्मक चेत या इमोशनल इन्टेलिजेन्स भन्न सक्छौं ।

हामी सबैले परीक्षामा राम्रो अङ्क ल्याएको व्यक्तिलाई या राम्रा राम्रा पुस्तकहरुलेख्ने, धेरै पढेका व्यक्तिलाई “बुद्धिमान” या Intelligent (इन्टेलिजेन्ट) भनेको सुनेका छौं । Intelligent Quotient को प्रयोगद्वारा व्यक्तिको बुद्धिको मापन गरिएको पनि सुनेका छौं । बुद्धि (Intelligence) हुनु र सम्बेगात्मक चेत हुनु फरक कुराहरु हुन् ।

सम्बेगात्मक चेतको मापन Emotional Quotient (EQ) का माध्यमबाट गरिन्छ । कुनैपनि कार्यालय, व्यापार व्यवसायमा सफल हुन बुद्धि मात्रै भएर पुग्दैन, सम्बेगात्मक चेत आवश्यक हुन्छ भनी धेरै अध्ययनहरुले प्रमाणित गरेका छन् ।

यसलाई अझ प्रष्ट पार्न केही उदाहरण राख्न चाहन्छु । सुरज धेरै इन्टेलिजेन्ट केटा हुन्, उनी आफ्नो ‘क्लास’का “टपर” पनि हुन् । उनी धेरै पढ्दैनन्, तर मेहनत नगरी पनि राम्रो नै गर्छन् । साथीहरु उसको बुद्धिबाट प्रभावित छन्, केहीले उसको डाहा (इर्ष्या) पनि गर्छन्, तर अन्य धेरैले उसलाई घमण्डी, अल्छि, रिसाहा छ भन्छन् ।

कमल सामान्य बुद्धि भएका केटा हुन्, उनी मेहनत गरेर पढ्छन्, फेल चाहीं भएका छैनन् । साथीहरु उसलाई मेहनति, सहयोगी र मिलनसार ठान्छन् ।

यी दुइ व्यक्तिहरुले आ–आफ्ना क्षमता अनि कमि कमजोरीहरुलाई कसरी बुझेका होलान् ?

सुरजलाई साथीहरु घमण्डी, अल्छि, रिसाहा ठान्दा रहेछन् । सुरजलाई शायद यो कुरा थाहा छैन कि ?

थाहा भएको भए उनले आफ्नो बानीहरु सुधार्न प्रयास गर्थे होलान् । अथवा प्रयास गरेका पनि होलान् तर पर्याप्त नभएको हुन सक्छ ।

यो उदाहरणबाट बुझ्न सकिन्छ कि सुरजको इन्टेलिजेन्स त धेरै रहेछ तर इमोशनल इन्टेलिजेन्स कम छ जस्तो छ । अनि कमल धेरै इन्टेलिजेन्ट नभएतापनि उनको इमोशनल इन्टेलिजेन्स बढी रहेछ ।

भविष्यमा व्यावसायिक रुपमा को बढी सफल होला ?

सुरजले आफ्नो सम्बेगात्मक चेतलाई सुधार्न प्रयास गरे भने उनका सम्भावनाहरु धेरै छन्, नत्र कमलका सम्भावनाहरु बढी छन् ।

किन त्यति फरक ?

सफल व्यक्ति आफ्ना भावना र सम्बेगहरुमा नियन्त्रण राख्न सफल हुन्छ, उसले अरुका भावना र आवश्यकताहरुको ख्याल गर्छ, उसले अवसरहरुको सही आङ्कलन र तिनको प्रयोग गर्न जानेको हुन्छ र उसले समय, श्रम, सीपको उचित प्रयोग गर्न सिकेको हुन्छ ।

सम्बेगात्मक चेतका चार आयामहरु छन् :

१) व्यक्तिको आफ्ना भावना र सम्बेग उपरको नियन्त्रण र आफ्ना सबल र दुर्बल पक्षको पहिचान । दुर्बल पक्ष सुधार्न प्रयासरत ।

२) सामाजिक, आर्थिक, राजनीतिक परिस्थितिहरुको मूल्याङ्कन र अवसरको सही उपयोग गर्न सक्ने क्षमता ।

३) अन्तर व्यक्ति सम्बन्धमा सहजता र अरुलाई प्रोत्साहन गर्ने भावना ।

४) व्यवस्थापन क्षमता, श्रोतको अत्यधिक किफायति र प्रभावकारी उपयोग ।

यी चारवटै आयामहरुलाई बिकास गर्न किताबी ज्ञान मात्र भएर पुग्दैन ।

मैले यहा सुरज र कमलको उदाहरण दिएँ । यसको कारण छ । घर परिवारमा, खासगरी आमाहरुले छोरालाई घर–व्यवहारको कामहरु सिकाएका हुँदैनन् – छोराहरुले धेरैजसो आफ्नो कोठामा बसेर पढ्ने सुबिधा पाएका हुन्छन् । घरको व्यवस्थापन कसरी हुन्छ, घरमा कस्ता समस्या आइपरेका छन् , पढाइ र घरको कामलाई सँगसँगै लैजान समयको कसरी व्यवस्थापन गर्ने आदि कुराहरुमा छोराहरु प्रायः अनभिज्ञ नै रहन्छन् । झडङ्ग रिसाउने, घुर्की लगाउने आदि नकारात्मक बानीहरु पनि उनीहरुका लागि सहज लाग्छ । यसरी हुर्केका बालकहरु कार्य क्षेत्रमा पनि सहकार्य गर्न र आफ्ना भावनाहरु नियन्त्रण गर्न कमजोर नै रहन्छन् । सुरज यसका उदाहरण हुन् ।

सानो उमेरदेखि लागेको बानी ठूलो भएपछि सच्याउन धेरै गाह्रो हुन्छ । यसर्थ इमोशनल इन्टेलिजेन्सको महत्व बुझेर सानैदेखि बालबालिकामा सकारात्मक सोच र व्यवहार बढाउने प्रयास गरौं ।

माथिको उदाहरणमा सुरज र कमलको सट्टा सुरज र कमला पनि हुन सक्थे । तर हाम्रो समाज अझै पनि पुरुष–मैत्री छ । कमलाको सुरज जत्तिकै अङ्क छ र कमलको जस्तै राम्रा बानीहरु छन् भने पनि हाम्रो समाजमा महिलाहरुलाई अगाडि बढाउन धेरै व्यवधानहरु छन् ।

हामी भन्छौँ- नेपालको जनसंख्यामा आधा महिला छन् । अनि त्यो समाज कस्तो होला जहाँ आधा जनसंख्यालाई पछाडि पारिएको छ ? कल्पना गरौं त । पक्कै राम्रो लाग्ने छैन ।

त्यसैले प्रत्येक परिवारमा छोरीहरुलाई उचित प्रोत्साहन र छोरा सरह पढ्ने र ज्ञान अभिबृद्धि गर्ने अवसर दिन थप प्रयास आवश्यक छ ।

यो लेख युवाहरुका लागि लेखिएको हो, तर हाम्रो समाजका अगुवाहरुले पनि आ–आफ्नो इमोशनल इन्टेलिजेन्सलाई एकपटक पुनः गहिरिएर हेर्ने हो र आफ्ना व्यवहार परिवर्तन गर्ने भने हाम्रो समाज साँचो अर्थमा समतामूलक हुन सक्छ । यसका लागि हिंसा प्रति शून्य शहनशीलता राख्दै समाजमा सकारात्मक सोच र व्यवहारद्वारा उदाहरण प्रस्तुत गर्न सक्नु पर्दछ ।

मानिसको असीमित क्षमतालाई सबैको भलाईको लागि प्रयोग गर्न सकिन्छ र गर्नुपर्छ भन्ने भावना केटाकेटी बेलादेखि नै जागृत गर्न महाकवि लक्ष्मी प्रसाद देबकोटाले बाल–कविताको माध्यमबाट भन्नु भएको कुरालाई हामी सबैले मनन् गरौं ।

 

बनेर फूल झैं सँधैं
हँसाउनु सुवास दी ।
सँधै रमाउनु जगत
रमेर नित्य आश दी ।।

भदौ २७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्