
मेरो नाम लक्ष्मी काफ्ले हो। मेरो घर भक्तपुर बागेश्वरी हो। मेरो दुईवटा छोराछोरीहरु छन्, छोरी आरुशी र छोरा अजित। मेरो छोराकै कारणले कान कम सुन्ने (सुस्त श्रवण) भयो भन्ने बारेमा मलाई थाहा छैन। शुरुमा म एक गृहिणी नै थिए। मेरो छोरा सात महिनामा जन्मिएको हो। छोरा जन्मिँदा कम तौल, १ केजी ५ सय ग्रामको भएको कारणले जन्मेपछि २ महिनासम्म आईसियुमा राख्नुपर्यो। दिन बित्दै गयो। सानोमा बाबु ठिकै थियो। उसको विकासको क्रियाकलाप अरु बच्चाहरु जस्तै नर्मल थियो। बाबुको जति जति उमेर बढ्दै गयो, उति नै उसको बोलाइमा अस्पष्ट हुन थाल्यो। जब बाबुलाई पढ्नको लागि स्कूलमा भर्ना गरियो, तब उसलाई पढ्नमा समस्या हुन थाल्यो। के भएको होला भनेर हस्पिटल लगेर चेक अप गराएँ। उस्को कानको सुनाइ शक्तिको जाँचदेखि निदाएर गर्ने जाँचहरू सबै गराए। त्यसपछि डाक्टरले ‘तपाईको बच्चाको कानको नशा सुकेको छ र यसको लागि हेरिङ एड लगाउनु बाहेक अर्को कुनै विकल्प छैन’ भन्नुभयो। मलाई एउटा मात्र डाक्टरको बिश्वास लागेन। अनि धेरै हस्पिटलमा धेरै चोटि एकै खालको टेष्टहरु गराएँ। अन्तिममा सबैको रिजल्ट उस्तै नै आयो।
यो कुरा मैले मेरो श्रीमानलाई भन्दा मेरो बिश्वास गर्नु भएन र घर परिवारबाट केही पनि सहयोग पाइन। उल्टै मेरो श्रीमानले मलाई ‘मेरो छोरालाई बहिरा भन्न खोजेकी’ भनेर भन्नु भयो। समय बित्दै गयो, बाबुको पढाइमा केही सुधार हुन सकेन। शायद, कान कम सुनेको कारणले होला उसलाई पढ्न गाह्रो भएको। अनि म माइत गएर ममी र बुवालाई बाबुको कानको समस्याको बारेमा कुरा सुनाएँ। त्यसपछि बुवाको सहयोगमा हेरिङ एड किनेँ। यो हेरिङ एड साह्रै नै महगो पर्ने रहेछ। आर्थिक स्थिति कमजोर भएको कारणले सेकेण्ड ह्यान्ड (एकपटक प्रयोगमा आइसकेको) हेरिङ एड किनेर भए पनि लगाइदिएँ।
बेला बेलामा तालिम तथा गोष्ठी आदिमा भाग लिन पठाउने गर्नुहुन्छ। यसको कारणले छोरा पहिलाको भन्दा निकै बुझ्ने भएको छ। भविष्यमा उसले आफ्नो खुट्टामा उभिन सक्छ कि सक्दैन डर मात्र लाग्छ मलाई।
त्यसपछि बाबुले अलिक सुनेको हो कि जस्तो लाग्यो तर पढाइमा भने चाहिने जति सुधार हुन सकेन। बाबु देख्दा एकदम बाठो, एकचोटि देखेको, हिँडेको, गरेको हरेक कामहरु सम्झन्छ तर उस्को पढाइ भने सुधार भएन। हुँदा खाँदाको बच्चा, अलि पढ्न नआए पनि आफ्नै अगाडी बोलिरहने बच्चालाई कसरी बहिरा पढ्ने स्कूलमा हाल्न सक्थेँ र? नर्मल स्कूलमा नै पढाएँ। अनि बेला बेलामा कान चेक अप गराउन गइरहन्थेँ, स्पिच थेरापी पनि गराइरहन्थेँ। तर आर्थिक स्थिति कमजोर भएको कारणले स्पिच थेरापीमा पनि लान छोडेँ।
मैले जागिर खान थालेको पनि भर्खर एक वर्ष भयो। म नगर प्रहरीमा काम गर्छु। बाबुको कान सुन्ने क्षमता निकै कम भएकाले र अझै कम हुन जान सक्ने भएको कारणले डाक्टरले सकेसम्म छिटो कक्लियर इम्ल्प्लान्ट गर्नु पर्छ भन्नु भएको छ। जबकि मसँग हेरिङ एड किन्ने पनि पैसा छैन। अपरेशन गरेर ईम्प्लान्ट गर्नको लागि पन्ध्र लाख रुपैयाँ लाग्छ रे।
एकदिन मेरो एकजना आफन्त मार्फत् श्रुति संस्थाको बारेमा बुझ्ने मौका पाइयो। यस संस्थामा मेरो बाबुको जस्तो कानको सुनाइ क्षमता पूर्ण रुपमा बहिरा नभएर कान कम सुन्ने साथीहरु देखेर छक्क परे। यस संस्थामा संलग्न हुँदा उसलाई राम्रो डिजिटल हेरिङ एड लगाउन सकेमा अलि सुन्ने क्षमतामा सहजीकरण हुन गई बन्द नै हुन लागेको बोली पनि बिस्तारै ठिक हुँदै जान्छ कि भन्ने आशा पलायो। अनि अहिले नयाँ हेरिङ एड, एक लाख चौध हजार तिरेर, लगाइदिएकी छु र बेला बेलामा स्पिच थेरापी पनि गराउन लगिरहेकी छु। यस संस्था मार्फत उसलाई हौसला दिई अघि बढ्न सल्लाह दिनुभएको छ। बेला बेलामा तालिम तथा गोष्ठी आदिमा भाग लिन पठाउने गर्नुहुन्छ। यसको कारणले छोरा पहिलाको भन्दा निकै बुझ्ने भएको छ। भविष्यमा उसले आफ्नो खुट्टामा उभिन सक्छ कि सक्दैन डर मात्र लाग्छ मलाई।
(लेखिका सुस्त श्रवण बच्चाको आमा हुनुहुन्छ।)